कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा ‘पुरानो डुंगा’

शिव शर्मा

कास्की — पोखराको रामघाटभन्दा केही माथिको चौतारीमा एक जोडी प्रेमिल भावमा देखिन्थ्यो । प्रेम जोडी भएर देखिएका थिए बतासे (दयाहाङ राई) र चन्दु (प्रियंका कार्की) विभिन्न भावभंगीमा दुवैले आपसमा प्रेमभाव प्रकट गरिरहेका थिए ।

पोखरामा ‘पुरानो डुंगा’

यो थियो, रामबाबु गुरुङले निर्देशन गर्दै गरेको ‘पुरानो डुंगा’ फिल्मको दृश्य । गुरुङ उनीहरूले मिलाएको हाउभाउमा ओके, कट् भन्दै टेक लिन व्यस्त थिए । लेखनाथको बेगनास तालमा बस्ने माझी परिवारको बतासे आफ्नी प्रेमिका चन्दु भेट्न पोखरा आउँदै गरेको दृश्य क्यामेरामा कैद हुँदै थियो । प्रेममा मस्त यी जोडीलाई बिथोल्न भ्यागुते डन बनेका सजन थापा आइपुग्छन् । त्यसपछि त्यो दृश्य थोरै एक्सनमा परिणत हुन्छ ।

माझीहरूको कथामा आधारित फिल्मको अधिकांश भाग बेगनास ताल र बाँकी पोखरा आसपासमा यति बेला धमाधम सुटिङ भइरहेको छ । फिल्ममा सुख खोज्न सहरतिर बरालिने बतासे र आफ्नो पुख्र्यौली पेसा जोगाएर गाउँमै रमाउने भक्ते (माओत्से गुरुङ) बीचको अवस्थालाई फिल्ममा रहेको निर्माण पक्षले जनाएको छ । धेरै फिल्ममा अभिनय र निर्देशन गरिसकेका माओत्से यसमा पुरानो डुंगाको माझीको भूमिका छन् । 

सम्पत्तिको नाममा रहेको पुरानो डुंगा खियाएर जीविका चलाउँदै आएका उनलाई भाइ बतासेले अंशका रूपमा डुंगा मागेपछि परिवारमा आएको उत्तरचढावको कथा यसमा छ । ‘एउटा माझीको जीवनमा आइपरेको उथलपुथलको कथालाई फिल्मले समेटेको छ,’ गुरुङले भने, ‘सामान्य कथालाई यो फिल्मले फरक प्रस्तुतिमा पस्कने कोसिस गरेको छ ।’ त्यसो त फिल्मको कथा पनि यिनैले लेखेका हुन् ।

अझै केही दिन पोखरामा फिल्मको विभिन्न भागको दृश्य खिचिने निर्माण पक्षले बताएको छ । फिल्म आर्ट र माओत्से गुरुङ फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा मेनुका प्रधानले पनि अभिनय गरेकी छन् । पटकथा उपेन्द्र सुब्बा र निर्देशक स्वयंले लेखेका हुन् । यसअघि ‘कबड्डी’ र त्यसको सिक्वल ‘कबड्डी कबड्डी’ निर्देशन गरिसकेका रामबाबु नयाँ धारका विषय प्रस्तुति चर्चा पाएका सिनेकर्मी हुन् ।

“रामबाबुलगायत हामीले कति ‘कबड्डी’ मात्रै बनाइरहने भनेर अलि अर्को विषयमा हात हाल्नुपर्ने थियो,” माओत्सेले भने, ‘त्यो फरक विषयचाहिँ यो फिल्ममा दर्शकले देख्न पाउँछन् ।’ उनका अनुसार, सहायक पात्रका लागि पनि छुट्टाछुट्टै चरित्रदिने अघिल्ला फिल्ममा मन पराइएको शैलीलाई भने यसमा पनि देख्न पाइनेछ ।तीन सातामा स्थलगत छायांकन सिध्याउने महत्त्वाकांक्षी लक्ष्य लिएर कास्की आएको ‘पुरानो डुंगा’ युनिट यतिखेर हतारमा छ ।

निर्माण नियन्त्रक मणि पोखरेलले भने, ‘हामीले टार्गेट गरेको समयभन्दा अलि केही दिन बढी लाग्ने अवस्था छ । तर, अहिलेसम्म हामीलाई पोखराको मौसमले साथ दिएको छ ।’ 

प्रकाशित : फाल्गुन २०, २०७२ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?