१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०७

बेलायतको नेपाली समुदायमा यौन अपराध बढ्दै 

नविन पोखरेल

लन्डन — बेलायतमा सबैभन्दा बढी नेपाली बसोवास गर्ने रसमोर बरोमा बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढिरहेको छ । स्थानीय प्रहरीले यस्ता अपराधको कानूनी सजायबारे अवगत गराउँदै बेलैमा सचेत रहन नेपाली भाषामा विभिन्न सुझाव समेत 
प्रकाशित गरेको छ ।

बेलायतको नेपाली समुदायमा यौन अपराध बढ्दै 

ह्याम्पसायर कन्सट्याबुलरीको इन्टरनेट चाइल्ड अब्यूज टिम (आइक्याट) ले १८ वर्ष मुनिका बालबालिकाको अश्लिल र अशोभनीय तस्बिरहरु खिच्न, राख्न, वितरण गर्न वा यौन सम्बन्धी कुराकानी गर्नु बेलायतको कानुन अनुसार गैर कानूनी भएको जनाउँदै यसो गरे जेल जानेमात्र नभएर अन्य नराम्रो परिणाम ल्याउन सक्ने पनि उल्लेख गरेको छ ।

बेलायतमा पछिल्लो समय भूतपूर्व गोर्खाका सन्तान, विद्यार्थी तथा वर्क परमिटमा कामदार आउने क्रम अकाशिएको छ । यहाँ नेपाली जनसंख्या बढेसँगै लागूऔषध र यौन अपराध सम्बन्धी घटना पनि बढेका छन् । ह्याम्पसायर कन्सट्याबुलरीका पीसीएसओ दुर्गा थापाले रसमोरमा यौनजन्य अपराध बढेको बताउँदै यसबाट सचेत रहन नेपाली समूदायलाई अपिल गरे ।

'विशेष गरी भर्खर नेपालबाट आएका युवा र अधवैंशेसमेत बालबालिका र इन्टरनेटसँग सम्बन्धी यौन अपराधमा संलग्न भएको पाइएको छ,' थापाले कान्तिपुरसँग भने, 'च्याटरुममा अश्लिल कुराकानी गर्ने, भिडियो फोटो देखाउने, खिच्ने र बालबालिकालाई भेट्न बोलाउने जस्ता क्रियाकलापमा नेपाली संलग्न भइरहेका छन् ।' थापाले यकीन तथ्यांक भने खुलाउन चाहेनन् ।

अज्ञानतावश गरेको पाइए पहिलोपटक सम्बन्धित व्यक्तिको मोबाइल, ल्यापटप वा आइप्याडमा रहेका अश्लिल तस्बिरहरु डिलिट गरिदिने र त्यो व्यक्तिलाई यसबारे शिक्षा दिइने थापाले बताए ।

'प्रहरीले पहिलोपटक बेलायतको कानून र यसको परिणामबारे अवगत गराइ चेतावनी दिएर उसको जानकारी रेकर्डमा राख्छ,' थापाले भने, 'तर पुनः दोहोर्‍याए प्रहरीले कडा एक्सन लिन्छ ।'

संयुक्त अधिराज्यको इंग्ल्याण्ड र वेल्समा १६ वर्ष उमेरमा आपसी सहमतिमा यौन सम्बन्ध राख्न कानूनी छुट छ । तर, यो उमेरमा अल्कोहल किन्न, जुवा खेल्न वा बाजी थाप्न र मतदान गर्न भने मिल्दैन ।

यूके (इंग्ल्यान्ड, वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्ड) को कानून अनुसार बालबालिकाको अश्लिल तस्बिरको पहुँचसँग सम्बन्धित चार मुख्य अपराध छन्, जसका लागि दण्डित गर्न सकिने प्रावधान छ ।

१८ वर्ष भन्दा कम उमेरका जो कोहीको यौन मुद्रा का तस्विर (कागजी वा इलेक्ट्रोनिक प्रतिलिपि), राख्नु, त्यस्ता तस्बिर च्याट रुम, इमेल, फोन एप्लिकेसन, टेक्स्ट, यूएसबी स्टिक र फाइल सेयरिङ वेबसाइट (पियर–टु–पियर) मार्फत अरुलाई पठाउनु, कुनै नाबालकको यौन उत्तेजित पार्ने तस्बिरको इलेक्ट्रोनिक कपी बनाउनु र नाबालकको यौनिक तस्वीरहरू लिनु आदि यौन अपराध मानिन्छ ।

बेलायतमा बालबालिकाको यौन चित्र कोर्नु पनि गैरकानूनी छ । नाबालकलाई यौन क्रियाकलापमा संलग्न हुन उत्प्रेरित गर्नु समेत अपराध हो ।

बेलायतको नेपाली राजधानी मानिने रसमोर बरोको वेलिङटन काउन्सिलर जीव बेल्वासे आफ्नो ठाउँमा सकारात्मक नकारात्मक दुवै घट्ना बढेको बताउँछन् । 'अल्डरसट, फार्नबरोमा धेरै नेपाली व्यवसाय बढेका छन् । नेपालीको दरो उपस्थिति छ । तर यही बेला आपराधिक क्रियाकलापका घट्ना पनि वृद्धि भइरहेको छ', ग्रेटर रसमोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष समेत रहेका बेल्वासेले भने, 'बालबालिका र इन्टरनेटसँग सम्बन्धित यौन अपराधहरु बढेको सुन्नमा आएको छ । हामी स्थानीय प्रहरीसँग समन्वय र सहकार्यमा दृढ छौं ।'


प्रकाशित : आश्विन ३०, २०८० १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?