कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ एफडीआई 
सीमा तामाङ

काठमाडौँ — चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

चालु आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ । सबैभन्दा कम माघमा ३४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

विभागका अनुसार जेठमा साना ५१ वटा र मझौला एक वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । जेठमा सबैभन्दा पर्यटन क्षेत्रमा ३२.६२ प्रतिशत, सेवा क्षेत्रमा ११.२१, उत्पादनमा ६.११, सूचना तथा प्रविधिमा १.२, खनिजमा १.२ र कृषिमा १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा रोयल्टीबापत २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा रोयल्टीबापत २ अर्ब ३२ करोड ८ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ । १६ लाख १५ हजार २३८ डलर, ३० करोड ७० लाख ६१ हजार भारु र ४९ हजार युरो बाहिरिएको भनाइ छ ।

गत वैशाखमा तेस्रो लगानी सम्मेलनकै अवसरमा विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली उद्घाटन गर्दै कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिने विभागले जनाएको छ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू नहुने विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताए । वैशाखमा अटोमेटिक रुट सञ्चालनमा आएको १९ दिनमा २१ वटा उद्योगमा २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । जेठमा अटोमेटिक रुटबाट ८ अर्ब २७ करोड ९० लाख रुपैयाँ प्रतिबद्धता आएको विभागको भनाइ छ ।

‘पहिला अनलाइनबाट भए पनि कर्मचारीले सबै डकुमेन्टेसन हेरेर लगानी स्वीकृत गरिन्थ्यो,’ धामीले भने, ‘लगानी सम्मेलनमा स्वचालित मार्ग अर्थात् अटोमेटिक रुट लागू गर्‍यौं, जहाँ आवेदन दिनासाथ स्वतः स्वीकृत हुन्छ ।’ अटोमेटिक रुट प्रणाली सुरु गरेकाले पनि विदेशी लगानी प्रतिबद्धता बढेको विभागले जनाएको छ ।

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ४३ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा ७ अर्ब ४ करोड ७४ लाख रुपैयाँ मात्रै मुलुक भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी साउनमा २ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ रकम भित्रिएको छ । सबैभन्दा कम कात्तिक महिनामा २७ करोड १ लाख रुपैयाँ भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार वैशाखमा ५५ करोड ७९ लाख रुपैयाँ मात्रै भित्रिएको छ ।

प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ ।

प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारीहरू नै बताउँछन् । विदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता गर्ने र तर लगानी नल्याउनुमा मुलुकको शासकीय क्षमता कमजोर हुन मुख्य कारण रहेको पूर्वअर्थ सचिव रामेश्वर खनालले बताए । ‘यही वर्ष लगानी सम्मेलन भयो तर लगानीको रकमको आकार उत्साहजनक हुने किसिमको देखिएन,’ उनले भने, ‘यद्यपि विदेशी लगानीकर्तालाई सहज तुल्याउन सबै राजनीतिक दल प्रतिबद्ध छन् भन्ने भाष्य स्थापित भएको छ ।’ मुलुकको शासकीय क्षमता बढाएको खण्डमा मात्रै लगानी प्रतिबद्धतासँगै लगानी भित्रने उनको तर्क छ ।

नेपालमा आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । ०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको विदेशी लगानीसम्बन्धी राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनमा जनाइएको छ । अघिल्ला प्रायः वर्षमा नेपाल भित्रिने वैदेशिक लगानीको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहँदै आएको थियो । तर आर्थिक वर्ष ०७८/७९ मा लाभांशबापत बाहिरिनेभन्दा भित्रिने विदेशी लगानी धेरै रहेको सर्वेक्षणले देखाएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा विदेशी लगानीमा रहेका कम्पनीले लाभांशबापत नेपालबाट १५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लगेका छन् । सोही आर्थिक वर्षमा १८ अर्ब ५६ करोड ३ लाख रुपैयाँ भित्रिएको थियो । उक्त वर्ष ५४ अर्ब १५ करोड ८९ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो । प्रतिबद्धताको तुलनामा ३४.३ प्रतिशत मात्रै प्रत्यक्ष विदेशी लगानी भित्रिएको हो ।

प्रकाशित : असार ३, २०८१ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?