कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

भौतिक पूर्वाधारमन्त्रीलाई महानगर मेयरको धूलो ‘उपहार’

सडक डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य हुने छैन : सडक डिभिजन

काठमाडौँ — चक्रपथ दोस्रो खण्ड विस्तारका क्रममा नागरिकले धूलो र कष्ट ब्यहोर्नुपरेको भन्दै काठमाडौं महानगरपालिकाले शनिबार सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धूलो उपहार पठाइदिने घोषणा गरेका हुन् ।

भौतिक पूर्वाधारमन्त्रीलाई महानगर मेयरको धूलो ‘उपहार’

कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारको नाममा वर्षौंदेखि जनताले सास्ती ब्यहोर्नुपरेको उल्लेख गर्दै मेयर शाहको निर्देशनमा सडकको धूलो र फोहोर जम्मा गरी ती कार्यालयहरू अगाडि लगेर थुपारिदिइएको हो । सम्बन्धित कार्यालयमा धूलो खन्याएको भिडियोसहित उनले सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । बालेनले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिएका छन् ।

‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिंगरोड विस्तारका नाममा धेरै धूलो र कष्ट ब्यहोर्नुपरेको छ,’ बालेनले स्टाटसमा भनेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धूलोको हात छ, जसले गर्दा महानगरवासीले धूलोधूवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ ।’ बालेनले धूलो जनताले मात्र खाँदा राम्रो नदेखिने भन्दै थप लेखेका छन्, ‘जबसम्म चक्रपथ निर्माणको काम अगाडि बढाइँदैन तबसम्म हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउनेछु माया सम्झेर स्वीकार्नु होला ।’

यता सडक डिभिजन काठमाडौंले शनिबार एक विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने उल्लेख गरेको छ । ‘यस्तो गतिविधिको प्रतिकार गर्नसमेत सडक डिभिजन काठमाडौं बाध्य हुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘शनिबार न्युरोड क्षेत्रमा यस कार्यालयको जिम्मामा रहेको सडक बिनाअनुमति काटेर यसको स्ट्यान्डर्ड चौडाइ घटाउने कार्यमा महानगर लागेको बखत अनुमतिबिना सडक काटेर साँघुरो बनाउन नहुने भनेर रोक लगाइएको थियो । यो विषयलाई विषयान्तर गरी डिभिजन कार्यालयसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याइ छ ।

त्यसो त चक्रपथ दोस्रो खण्ड विस्तार गर्ने चर्चा भएको ६ वर्षभन्दा बढी भयो । तर अहिलेसम्म विस्तारको कामले गति लिन सकेको छैन । सडक बिस्तारको पूर्वतयारीका लागि जथाभावी सडक भत्काइएका कारण धूलोले यात्रुलाई भने सास्ती थपेको छ । एक वर्षयता यो समस्या कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको विभिन्न खण्डमा छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने भनेको एक वर्ष बित्दा पनि चिनियाँ कम्पनीले पूरा गर्न सकेको छैन ।

अध्ययनदेखि विस्तारसम्मको काम चीन सरकारको अनुदानबाट हुने सडक विभागले जनाएको छ । सडक विभाग स्रोतका अनुसार यसमा थप प्रगति छैन । समयमै डीपीआर नबन्दा विस्तारको कामले गति लिन नसकेको हो । दुई महिनाभित्र डीपीआर तयार पार्ने भन्दै ०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स् प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । टोलीले अध्ययन गरेर गएको थियो । तर टोलीले त्यसको रिपोर्ट अहिलेसम्म दिएको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यो बेलै दुई महिनाभित्र डीपीआरको काम सकिने जनाएको थियो । अहिलेसम्म डीपीआर निर्माणमा कुनै प्रगति नभएको र दुई देशका उच्च अधिकारीले हस्ताक्षर गरेपछि मात्र उक्त काम सुरु हुने सडक विभागले जनाएको छ । ‘अहिले सर्भिस लेन सडक बनाउन थालिए पनि भविष्यमा फेरि मुख्य सडक बनाउँदा बिग्रिने र भत्किने भएकाले नबनाइएको हो, जसले गर्दा धूलोको समस्या भएको छ,’ सडक विभाग स्रोतले भन्यो ।

पहिला तयारी भएन भनेर चीनले धेरै गुनासो गरे पनि अहिले कुनै समस्या नरहेको जनाइएको छ । धूलो उड्ने सडकमा दैनिक पानी हाल्ने गरिएको सडक विभागले जनाएको छ ।नेपाल सरकारबाट बनाउनुपर्ने नाली, सर्भिस लेन निर्माणको काम भइरहेको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न सुरुमै आग्रह गरेको थियो ।

चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार भनिएको थियो । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्म मात्र विस्तारको काम गर्नेछ, जसको दूरी ८.२ किमि छ । डीपीआर टुंगिएपछि चीनसँग सम्झौता गरेर उसैले निर्माण गर्ने गरी काम थालिने जनाइएको छ । नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो । चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?