कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९३

शिवशिखर र तुलसी सहकारीका अध्यक्षविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस

अध्यक्ष शर्मा, श्रीमती गीता शर्मा र उनीहरूका ४० वटा कम्पनीमा गरी कुल ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार बिगो कायम

काठमाडौँ — शिवशिखर बहुमुखी सहकारी संस्था र तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धमा मुद्दा चल्ने भएको छ ।

शिवशिखर र तुलसी सहकारीका अध्यक्षविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस

विभिन्न सहकारीको रकम हिनामिना गरेर सम्पत्ति शुद्धीकरण गरेको भन्दै शर्माविरुद्ध मुद्दा दर्ता गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिल कार्यालयलाई शुक्रबार सिफारिस गरेको छ । सहकारीको रकम हिनामिना गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा शर्मा, उनकी श्रीमती गीता शर्मा र उनीहरू सम्बद्ध विभिन्न ४० वटा कम्पनीविरुद्ध मुद्दा चलाउने र उनीहरूबाट ३२ अर्ब ९० करोड ५२ लाख ५२ हजार २ सय ९९ रुपैयाँ बिगो र जरिवानासहित मागदाबी गर्ने गरी प्रतिवेदन तयार पारिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विद्यमान ऐनको व्यवस्थाअनुसार विभाग आफैंले मुद्दा दायर गर्न पाउँदैन । यसकारण विभागले अध्ययन प्रतिवेदनसहित मुद्दा चलाउन सिफारिस गरेर सरकारी वकिलको कार्यालय भक्तपुरमा पठाएको हो । विभागले गरेको अध्ययन प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ । विभागले तयार पारेको प्रतिवेदनमा अध्यक्ष शर्माको नाममा २२ अर्ब ७४ करोड ९२ लाख, उनकी श्रीमती गीताको नाममा ५२ करोड ३३ लाख ३२ हजार र श्रीमान्, श्रीमती दुवै आबद्ध विभिन्न ४० वटा कम्पनीको नाममा ९ अर्ब ५६ करोड २६ लाख २९ हजार रुपैयाँ बिगो कायम गरिएको छ । जसअनुसार शर्मा दम्पतीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय र यो प्रक्रियामार्फत आर्जन गरेको सम्पत्ति जफत गर्नुपर्ने माग गरिएको छ ।

उनीहरू आबद्ध कम्पनीका हकमा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३० को उपदफा (८) बमोजिमको सजाय र उल्लेखित कानुनी व्यक्तिहरूका नाममा रहे भएको चल, अचल सम्पत्ति, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३४ को उपदफा (१) को देहाय खण्ड (क) बमोजिम जफत गर्नु सिफारिससहित विभागको अध्ययन प्रतिवेदनमा छ ।

अनुसन्धानका क्रममा प्राप्त हुन आएका उक्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको आर्थिक वर्ष ०७८/७९ को वित्तीय विवरण (वासलात) उक्त सहकारी संस्थामा कुल बचत ९ अर्ब ६४ करोड ५७ लाख ८६ हजार ५ सय ५८, कर्जा र लगानी ७ अर्ब ६७ करोड १ लाख १८ हजार ५ सय ९७ रहेको विभागले जनाएको छ ।

सहकारी ऐन अन्तर्गतको कसुरसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य जारी रहेको हुँदा तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष केदारनाथलगायत पदाधिकारी र कर्मचारीले उक्त सहकारी ऐन अन्तर्गतको कसुर कार्यमा संलग्न भई सोबाट आर्जित रकम विभिन्न परियोजना तथा सम्पत्ति खरिदमा लगानी गरेको हुन सक्ने देखिएको हुँदा सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि भनी प्राप्त सूचनाउपर यस विभागबाट जाँचबुझ तथा अनुसन्धान हुँदा शिवशिखर बहुमुखी सहकारी संस्था लि. कौशलटार भक्तपुर र तुलसी बहुमुखी सहकारी संस्था लि. समेतका अध्यक्ष रहेका केदारनाथ शर्माले सहकारीका अन्य पदाधिकारीहरू समेतको मिलेमतो र संलग्नतामा सहकारी संस्थामा रहेको बचतकर्ताका रकम अपचलन गरी लिने खाने मनसायले अपचलन गरेको देखिन्छ,’ विभागको प्रतिवेदनमा भनिएको छ ।

‘उक्त सहकारीका तत्कालीन अध्यक्ष केदारनाथ शर्मा संलग्न भएका विभिन्न शिखर अर्गनाइजेसनसमेतका विभिन्न १० वटा कम्पनीमा ५ अर्ब १३ करोड ५७ लाख ६१ हजार बिनाकुनै आधार र मापदण्ड लगानी गरेको, व्यक्तिगत खातामा १ अर्ब ७ करोड ८० लाख ८९ हजार जम्मा गरेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निज केदारनाथ शर्मा समेतले उक्त रकम आफ्नो प्रत्यक्ष सरोकार रहेको एवं निजी लाभका लागि खडा गरिएका ४० वटा कम्पनीमा १ अर्ब ३० करोड ३० लाख सेयर पुँजी, ११ कम्पनीमा सञ्चालक सापटी (डाइरेक्टर लोन) बापत १ अर्ब ४० करोड ६८ लाख ४३ हजार लगानी गरेको र अग्रिम सेयर बापतको ८९ करोड ५० लाखसमेत गरी ३ अर्ब ६० करोड ४८ लाख ४३ हजार आरोपी केदारनाथ शर्माले सहकारीको कोष अपचलन गरी लगानी गरेको देखिन्छ ।’

यसरी लगानी गरी सोको स्वामित्व धारण गरी सोबाट आरोपी शर्माले आफू अध्यक्ष रहेको शिवशिखर सहकारीबाट तेजबहादुर तामाङसमेतका नाममा कर्जा खडा गरी ७० करोड ५९ लाख १८ हजार अपचलन गरेको, व्यक्तिगत नाममा कर्जा लिई अपचलन गरेको २ करोड ३३ लाख ३७ हजार देखिएको, आफ्नो प्रत्यक्ष हित नियन्त्रण रहेको कम्पनीमा नाम खडा गरी कृत्रिम ऋण लेखांकन गरी अपचलन गरेको रकम ५ अर्ब १३ करोड ५७ लाख ६१ हजार, रोयलभोग इन्टरप्राइजेज र गोर्खा टोबाकोको नाममा कृत्रिम ऋण सिर्जना गरी शर्माले अपचलन गरेको रकम ३४ करोड ८८ लाख ३३ हजार रहेको छ । यस्तै विभिन्न ४० कम्पनी खडा गरी सेयर पुँजीबापत लगानी गरेको रकम १ अर्ब ३० करोड ३० लाख सञ्चालक सापटी भनी विभिन्न ११ वटा कम्पनीमा शर्माले लगेको रकम १ अर्ब ४० करोड ६८ लाख ४३ हजार रहेको, अग्रिम सेयर रकम भनी विभिन्न ८ वटा कम्पनीमा लगेको रकम ८९ करोड ५० लाख रहेको, तुलसी बहुमुखी सहकारीबाट बिनाधितो बिनाब्याज ऋणमार्फतको रकम १ अर्ब १६ करोड ११ लाख ५० हजार संस्थाको वित्तीय विवरणमा नदेखाई अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ ।

आरोपी शर्माले सहकारी ऐन अन्तर्गतको कसुरबाट प्राप्त गरी सो प्राप्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने एवं कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने जानाजान सो सम्पत्तिको सही प्रकृति, स्रोत स्थान, कारोबार, अधिकार र स्वामित्वसमेत लुकाउने, छल्ने समेतका सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनले निषेधित कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आएको विभागले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?