१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

नेपाली चियामा पुनः भारतीय अवरोध

सयौं टन चिया मेची भन्सार र भारतको पानीट्यांकी भन्सार परिसरमा 

विराटनगर — भारतले नेपाली चिया आयातमा पुनः अवरोध सिर्जना गरेको छ । गुणस्तर परीक्षणको बहानामा नेपाली कृषि उत्पादनलाई निरन्तर अवरोध गर्दै आएको भारतले नेपाली चियालाई लक्ष्य गरी फेरि आयातमा कडाइ गरेको चिया उद्योगीहरूले जनाएका छन् ।

नेपाली चियामा पुनः भारतीय अवरोध

पानीट्यांकी भन्सारले करिब महिनायता नेपाली चियामाथि अनावश्यक उल्झन लगाएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जनाए । ‘आयात भएका सबै नेपाली चियाको गुणस्तर परीक्षणबिना नछाड्नु भन्ने आदेश आएको रहेछ,’ उनले भने ।

पश्चिम बंगाल सरकारअन्तर्गतको कृषि निर्देशनालयले उक्त आदेश जारी गरेको हो । भारतीय अवरोधका कारण सयौं टन चिया मेची भन्सार र भारतको पानीट्यांकी भन्सार परिसरमा थुप्रिएको चिया निकासी सहजीकरण गर्दै आएका भन्सार एजेन्ट रोशन अग्रवालले जनाए । ‘विगतमा एक गाडीको रेन्डम जाँच हुन्थ्यो, अब प्रत्येक कन्साइन्टमेन्टको जाँच गर्नुपर्ने अवस्था आयो,’ उनले भने ।

भारतले नियतै राखेर चियामाथि अवरोध खडा गरेको चिया उद्योगी उदय चापागाईंको दाबी छ । खासगरी दार्जिलिङ चिया बोर्डले नेपाली चिया आयात नगर्न बंगाल सरकारलाई पटक पटक अनुरोध गर्दै आएको थियो । ‘त्यही कारण गुणस्तर परीक्षणको बहानामा उसले चियालाई रोक्न लागेको प्रस्ट छ,’ उनले भने ।

बंगाल सरकारले विभिन्न सञ्चारमाध्यमको सहारा लिएर नेपाली चियाको गुणस्तरमाथि विगतबाटै प्रश्न उठाइरहेको चापागाईंले बताए । ‘नेपाली चिया गुणस्तरहीन र अखाद्य छ भन्ने भ्रामक प्रचार भारतभरि भइरहेको छ, यो गम्भीर कुरा हो,’ चापागाईंले भने, ‘चिया निकासी सहज गर्न सरकारले कूटनीतिक रूपमा पहल गर्नुको विकल्प छैन ।’ सन् २०१९ मा पश्चिम बंगाल राज्यसभाकी तत्कालीन सांसद शान्ता क्षेत्रीले नेपाली चिया गुणस्तरहीन रहेको भन्दै तत्काल आयात रोक्न संसद्मै कुरा उठाएकी थिइन् । त्यसअघि सन् २०१७ ताका दार्जिलिङ टी एसोसिएसनले पनि तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेरै नेपाली चियाको आयात रोक्न ज्ञापनपत्र बुझाएको थियो ।

नेपाली चियाप्रति अनावश्यक भ्रम सिर्जना गरेर चियाको गुणस्तरमाथि नै बदनामी गर्न केही भारतीय व्यापारी उद्यत् रहेको नेपाल चिया उत्पादक संघ झापाका अध्यक्ष आदित्य पराजुलीले जनाए । नेपाली चिया भारतको केन्द्रीय खाद्य प्रयोगशालामा जाँच हुँदै आएको उनको भनाइ छ । ‘हाम्रो चिया कुनै हालतमा अखाद्य छैन, बरु भारतकै चियामा विषादीको समस्या छ,’ पराजुलीले भने । केही भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ चियाको ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्दै आएका छन् । झापा र इलाममा उत्पादितमध्ये ८० प्रतिशत चियाको बजार भारत हो । २० प्रतिशत मात्रै आन्तरिक खपत हुन्छ । वार्षिक करिब ४ देखि ५ अर्बको चिया भारत निकासी हुँदै आएको मेची भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ९, २०८१ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?