कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

जसलाई घाँसले दिँदै छ परिचय र पैसा

विदेश पुगेर फर्केका मात्रै होइन, विदेश जान ठिक्क परेका युवादेखि जनमुक्ति सेनाको बटालियन सहायक कमान्डरसम्म भएकाहरू अहिले गुल्मीमा घाास खेती गर्दै
गगनशिला खड्का

गुल्मी — आफूले दुबईबाट पैसा पठाएर घरमा घाँस लगाउन अह्राएपछि मदाने गाउँपालिका–३ सिर्सेनीका ३९ वर्षीय गोपाल केसीका परिवारका सदस्यले नपत्याएर सुरुमा त बेस्सरी हाँसे । हुन पनि अरूले विदेशबाट कमाएको पैसा घर–घडेरी जोड्ने र बैंकमा बचत गर्ने गर्छन् । तर गोपालले भने दुःख गरेर कमाएको पैसाले घाँस लगाउन भनेपछि परिवारका सदस्य रिसाए पनि । तर गोपालले उन्नत घाँसबारे राम्रोसँग बुझाएपछि बारीमा घाँस लगाउन सहमत भए । 

जसलाई घाँसले दिँदै छ परिचय र पैसा

घाँस लगाउनेमा सहमति जुटे पनि के घाँस लगाउने, कसरी लगाउने, बीउ बिरुवा कहाँ पाइन्छ, कसैलाई जानकारी थिएन । गोपाल आफैंले युट्युबमा खोजेर घाँसको प्रजाति, लगाउने समय, मल, बीउ, बिरुवालगायतको जानकारी लिए । सामाजिक सञ्जालबाट नेपालमै कृषि प्राविधिकहरूसँग परामर्श लिए । आफ्नो बारीमा घाँस खेती गर्न सकिने सल्लाहपछि उनले भाइबुहारीलाई घाँस लगाउने जिम्मा दिए । बिरुवा भने भारतको हरियाणा, महाराष्ट्र र पुनेका घाँस फर्ममा सम्पर्क गरेर मगाए ।

दुबईमा १३ वर्ष बसेका गोपाललाई घाँस खेती गर्ने रहर त्यहाँका खसीबोका देखेर पलाएको हो । ‘बोका किन्न जाँदा मोटा–मोटा बोका देखें । यो मरुभूमिमा के खुवाएर यति मोटा खसीबोका पाल्दा रहेछन् भनेर फर्ममै गएर हेरें । उन्नत घाँसको साइलेज बनाएर खुवाउँदा रहेछन्,’ उनले भने, ‘त्यो देखेपछि नेपाल फर्केपछि बाख्रापालन गर्ने रहर जाग्यो, त्यसका लागि पहिल्यै घाँसको तयारी गर्नुपर्ने रहेछ भन्ने बुझेर घाँस लगाउन लगाएको थिएँ ।’

सुरुमा घरमा घाँस खेतीका लागि चाँजोपाँचो मिलाउन सक्ने कोही नभएकाले उनले गुल्मीकै अर्का एक जना साथीसँग साझेदारीमा घाँस खेती सुरु गरे । आफूले नगद लगानी गर्थे, साझेदारले फर्मको रेखदेख गर्ने सहमतिमा खेती सुरु भयो । तर उनले ८ लाख १२ हजार रुपैयाँ लगानी गरे पनि साझेदारले धोका दिएपछि उनले घरमै घाँस खेती सुरु गरे ।

आफू विदेशमै हुँदा सुरु गरेको घाँस फर्ममा ४ वर्षपछि घर फर्कंदा १ सय १० रोपनीमा घाँस हुर्कियो । घर फर्केपछि घाँस फर्मसम्म मोटरबाटो खने र सामान्य सम्पर्कका आधारमा पहिलो वर्ष नै १० लाख रुपैयाँको घाँसको बिरुवा बिक्री भयो । ‘पहिलो वर्ष खासै प्रचारप्रसार गर्न पाइएन र पनि २० जिल्लाबाट प्राइभेट फर्महरूमा १० लाखको घाँस बिक्री भयो, अर्को वर्ष २० देखि २५ लाखको बिक्री गर्ने आशा छ,’ उनले भने, ‘बर्खामा बिरुवा बिक्री हुन्छ, हिउँदमा घाँस नै काटेर सुकाउने र बिक्री गर्न सकिन्छ ।’

व्यक्तिगत र लिजमा लिएको समेत १ सय १० रोपनी क्षेत्रफल जग्गामा ५० प्रजातिको घाँस लहलह छ । जसमा १८ प्रकारका नेपियर, अमेरिकी फाइभ जी, ज्वाइन्ट किङ, हाफरेड, बाजुराक्रस, बदामे, मुलाटोलगायत मुख्य छन् । यो वर्ष बडहर, चिउरी, किम्मु, राइखन्नु, निमारो लगायत २ लाख डालेघाँसका बिरुवा उत्पादन हुँदै छन् । ‘किनेर ल्याएको घाँस एक वर्ष यहाँ उत्पादन हुन्छ कि हुँदैन भनेर परीक्षण गर्छौं, राम्रो उत्पादन भयो भने अर्को वर्ष व्यावसायिक उत्पादन गर्छौं,’ उनले भने । जग्गा पनि २० रोपनीमात्र आफ्नो हो, बाँकी भाडामा । ‘विदेशमा बसेर फर्केपछि गाउँमै केही गर्छु भन्ने मान्छेलाई सहयोग गर्नुपर्छ,’ जग्गा भाडामा दिने छिमेकी गौतम भट्टराईले भने, ‘अहिले उनले गाउँमै घाँस खेती गरेर उदाहरणीय काम गरेका छन् ।’

घाँसले आफ्नो मात्र होइन, गाउँमा रोजगारी पनि सिर्जना भएको छ । सिजनमा महिनाको ८ देखि ९ जनासम्म कामदारले मौसमी रोजगारी पाएका छन् । आफ्नै मिहिनेत र लगानी भएकाले उनको सरकारी निकायसँग धेरै आशा छैन तर आधारभूत रूपमा पानी र बिजुलीको सहज उपलब्धता भए किसानलाई सजिलो हुने उनको भनाइ छ । ‘अरू त हामी आफैं गर्छौं, हामीले एक्लै गर्न नसक्ने भनेको घाँसको साइलेज बनाउने मेसिनका लागि थ्री फेज लाइन र सिँचाइका लागि पानी सरकारी निकायबाट व्यवस्था भयो भने सजिलो हुन्थ्यो,’ उनी भन्छन्, ‘साइलेज बनाउने मेसिन भयो भने बिरुवा बेचेर बाँकी रहेको घाँसबाट बाख्रा र भैंसी पाल्ने योजना छ ।’ अहिले बाख्राको खोर बनिरहेको छ । २ वटा गाई र २ वटा भैंसी पाल्न सुरु गरेका छन् ।

गोपाल केसीले जस्तै गुल्मीमा मदानेकै २७ वर्षीय खगेन्द्र खत्री, ईश्मा–३ का २४ वर्षीय गोकर्ण नेपाली, मालिका–८ का ४२ वर्षीय नोखबहादुर पौडेल, छत्रकोट–३ का ३८ वर्षीय नारायण पन्थ र रुरुक्षेत्र–४ की शान्ता ज्ञवाली पनि घाँसमै भविष्य खोजिरहेका छन् । युवा घाँस खेतीमा लागेपछि आफू र आफ्नो परिवारको आम्दानी बढेको मात्र होइन, अरूले पनि रोजगारी पाएको ईश्माका गोकर्ण बताउँछन् । १ सय २० रोपनी क्षेत्रफलमा घाँस खेती गरेका उनको ग्यालेक्सी कृषि तथा पशुपन्छी फर्ममा नियमित रूपमा ३ जनाले र सिजनमा दिनको १२/१५ जनाले मौसमी रोजगारी पाएका छन् । ०७६ सालदेखि घाँस खेती सुरु गरेका उनको फर्ममा नेपियर, राइखन्यु, इपिलइपिललगायतका १ सय प्रकारका घाँस छन् । गत वर्ष ४२ लाख रुपैयाँको घाँसका बिरुवा बेचेको बताउने उनी बिरुवा बिक्रीपछि बाँकी रहेको घाँसबाट ५५ वटा बाख्रा पालेका छन् ।

‘आफैंले बाख्रा पालेपछि बिरुवा बिक्री गरेर बँचेको घाँस खेर जाँदैन, कहाँ कसरी सदुपयोग भन्ने अवस्था हुँदैन,’ उनी भन्छन्, ‘बाख्रा पालेपछि घाँसका लागि चाहिने मल पनि हुने, खसी–बोका बेचेर अतिरिक्त आम्दानी पनि हुने ।’ यसबाहेक सुक्खायाममा गाउँमा घाँसको अभाव हुने भएकाले त्यो समयमा बिक्रीका लागि आफूले उत्पादन गरेको घाँस भण्डारण गरेर राख्न सुरु गरेको उनले बताए । सुरुमा ८० हजार लगानीबाट सुरुगरेको घाँस खेतीमा अहिले ५० लाख लगानी भइसकेको उनको दाबी छ । गुल्मीमा सबैभन्दा धेरै प्रजातिको घाँस खेती गर्ने उनी हुन् ।

स्थानीय सरकारहरूले बाहिर जिल्लाबाट घाँस खरिद गरेर ल्याउने चलन हट्ने हो भने जिल्लाका किसानले घाँसबाट राम्रो आम्दानी गर्ने जनमुक्ति सेनाको बटालियन सहायक कमान्डरबाट स्वैच्छिक अवकाशपछि घाँस खेतीमा लागेका मालिका–८ का नोखबहादुर पौडेलको भनाइ छ । ०६८ सालमा स्वैच्छिक अवकाशपछि बाख्रा पालनमा लागेका पौडेल बाख्राका लागि लगाएको घाँसखेतीलाई केही वर्षदेखि व्यावसायिक बनाएका छन् । ‘गाउँमा अन्यत्रबाट घाँसका बेर्ना किनेर ल्याएर समूहलाई बाँड्न थालेपछि घाँस पनि बिक्री हुँदो रहेछ भनेर यो खेती सुरु गरेको हुँ,’ उनले भने, ‘गत वर्ष ३ लाख जति बेर्ना बेचेको हो । बजार सुनिश्चित हुने हो भने ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ ।’

स्थानीय सरकारले किसानलाई उत्पादनमा सहयोग नगरे पनि उत्पादित वस्तुको बजारका लागि सहयोग गर्ने हो भने ठूलो राहत हुने उनको भनाइ छ । ‘तर सरकारले आफ्नो च्यानल प्रयोग गरेर बाहिरबाट किनेर ल्याउने चलन छ । हामीलाई न उत्पादनमा सहयोग गर्छन्, न उत्पादित बिरुवाको बजारको व्यवस्था छ,’ उनी भन्छन्, ‘हाम्रो उत्पादन बिचौलियाले लैजान्छन्, पैसा तिर्दैनन् र मर्कामा पार्छन् ।’

घाँस खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश जान ठिक्क परेका युवाले पनि यहीँ सुन्दर भविष्य खोजेका छन् । ‘दुबईका लागि पासपोर्टमा भिसा लागेको थियो, हेफर प्रोजेक्टमा काम गर्न थालेपछि घाँस पनि बिक्री हुँदो रहेछ भनेर घाँस खेतीमा लागें,’ मदाने–३ सिर्सेनीका २७ वर्षीय खगेन्द्र खत्री भन्छन्, ‘अहिले १० महिने पशु प्राविधिक विषय पढें, अब विदेश जान्नँ ।’

पहिलो पटक २० हजारको किम्बु लगाएर घाँस खेती सुरु गरेका उनी अहिले घाँस बेचेरै वार्षिक ८/९ लाख कमाइ गर्छन् । ‘सुरुमा लगानी गर्ने पैसा थिएन, २० हजारको किम्बु लिएर बेचियो । त्यसबाट भएको आम्दानीले लगानी बढाउँदै लगें । अहिले २० प्रकारका घाँस छन्,’ उनी भन्छन्, ‘पोहोरभन्दा यस वर्ष घाँस धेरै छ, आम्दानी पनि बढ्ला भन्ने आशा छ ।’

युवाहरू निकै उत्साहका साथ घाँस खेतीमा लागे पनि धेरै स्थानीय तहले भने प्रोत्साहन नगरेको उनीहरूको गुनासो छ । ९ वर्षको कतार बसाइपछि गाउँ फर्केर घाँस खेती र बाख्रापालन गरेका छत्रकोट–३ का ३८ वर्षीय नारायण पन्थ युवालाई व्यवसायमा प्रोत्साहन गर्ने कार्यक्रम स्थानीय तहसँग नभएको बताउँछन् ।

‘खाडी मुलुकमा गएर कमाएर नेपालमै युवाहरूलाई प्रेरणा मिलोस् भनेर घाँस खेती र बाख्रापालनमा ५६ लाख लगानी गरेँ । तर अहिले सरकारको प्रोत्साहनका कार्यक्रम नहुँदा एकदमै निराश छु,’ उनी भन्छन्, ‘मेरोमा १५/२० लाखको घाँसका बिरुवा छन् । बाहिरी जिल्लाबाट घाँस किन्न यहाँ आउने कमी छैन ।’

पाँच वर्षअघि विदेशबाट फर्केर पन्थले ४५ रोपनी जग्गामा घाँस लगाएको जनाए । त्यसपछि आफ्नो घाँस बिक्री नभएको अवस्थामा सदुपयोग गर्नका लागि बाख्रा पाले । सुन्तलाका बोट रोपे । सुरुमा निकै उत्साहका साथ आफूसँग भएको रकम र ऋणले संरचना तयार गरे पनि उत्पादन बिक्री हुने बेला उल्टो अवस्था आएकाले निराश हुनुपरेको उनी बताउँछन् । ‘अनुदान मागिएन, लगानी आफैं गरें, तालिम आफ्नै खर्चले लिएँ, कम से कम अहिले उत्पादन बिक्री गरिदिने वातावरण उहाँहरूले गरिदिनुस् भनेको हो तर वास्तै छैन,’ उनी भन्छन्, ‘उन्नत जातको बाख्राको स्रोत केन्द्र बनाउँछु, एक–दुई वटा ब्याडे बोका चाहियो भनेर आग्रह गर्दा कार्यक्रम नै छैन भन्नुहुन्छ, अब त उत्साह बढ्ने होइन, उल्टो घट्न थाल्यो ।’

घाँस बिक्री भए पनि भनेजस्तो मूल्य भने नपाएको रुरुक्षेत्र–४ की किसान शान्ता ज्ञवालीको भनाइ छ । ८ रोपनी जग्गामा टियोसेन्टी जातको घाँस लगाएर गाउँपालिकालाई बिक्री गरिरहेकी ज्ञवाली कागती, सुन्तला, मौसम, आरु, आँप, अमलालगायतका फलफूल पनि बिक्री गर्छिन् । ‘हामीले उत्पादन त गर्ने हो तर अरुले नै तोकेको मूल्यमा बेच्नुपर्छ,’ उनी भन्छिन्, ‘मिहिनेतअनुसारको भाउ पनि पाउन पाए राम्रो हुन्थ्यो ।’

अहिले घाँस स्रोत केन्द्रलगायत किसानलाई दिने सहयोगका कार्यक्रमको धेरै अधिकार स्थानीय तहमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका निमित्त प्रमुख हुमाकान्त पाण्डेले जनाए । ‘अहिले घाँस खेतीका लागि प्रदेशबाट आएको बजेट सिधै स्थानीय तहमा जान्छ, हामीले ठूला १/२ वटा फर्मका लागि हेरेका छौं,’ उनले भने । घाँसका बिरुवा खरिदका लागि ४० जिल्लाबाट गुल्मी आइरहेको घाँस खेती गर्ने किसानको तथ्यांक छ ।

घाँसबाट हुने आम्दानीको जिल्लामा एकीकृत तथ्यांक नभए पनि व्यावसायिक किसानले ७० लाखभन्दा बढी आम्दानी गर्ने गरेको देखिन्छ । व्यावसायिक पशुपालन गर्ने किसानले सोही मूल्य बराबरको घाँस आफ्नै बारीमा उत्पादन गरेर रकम बचत गरेको सरकारी अधिकारी बताउँछन् ।

स्थानीय तहहरूले दिएको जानकारीअनुसार व्यावसायिक रूपमा घाँस खेती गरेर बिक्री गर्ने किसान जिल्लामा ६/७ जना मात्र छन् । तर, आफ्नो पशुपालन फर्मका लागि चाहिने घाँस आफैं उत्पादन गरेर आत्मनिर्भर बनेका किसान अरू पनि छन् । व्यक्तिगत र सामूहिक रूपमा घाँस नर्सरी स्थापना गरेर समूहले बिरुवा बाँड्ने स्रोत केन्द्रहरू पनि छन् ।

उन्नत घाँस खेती गरेर आत्मनिर्भर हुने किसानहरू सत्यवती र रुरुक्षेत्र गाउँपालिका एवं रेसुंगा नगरपालिकामा धेरै छन् । ‘हाम्रो पालिककामा व्यावसायिक पशुपालन गर्ने किसान लगभग उन्नत जातको घाँसमा आत्मनिर्भर छन्, यो पनि किसानका लागि राम्रो कुरा हो,’ सत्यवतीको पशु सेवा शाखा प्रमुख नारायण खनालले भने, ‘हामीले वार्षिक १३ क्विन्टल जै घाँस पालिकाभित्रकै किसानबाट किनेर वितरण गर्छौं ।’ रुरुक्षेत्रमा २ सय जना र रेसुंगामा १५ जना किसान आफैं घाँस खेती गर्छन् ।

प्रकाशित : चैत्र ३०, २०८० ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?