१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

बर्दिया निकुञ्जभित्र पर्यटकको रोजाइ ‘क्याम्पिङ’

पर्यटकलाई निकुञ्जभित्र न्यूनतम तीन रात चार दिन राखेर जिप सफारी र पैदल घुमाउने गरिएको छ, आफैंले गाडी चलाएर पनि पर्यटक घुम्छन्

बर्दिया — बर्दिया निकुञ्जअन्तर्गत कर्णाली चिसापानी नजिकै लालमाटी क्षेत्र १० वर्षअघिसम्म टाइगर टप्स कर्णाली लजको टेन्टेड क्याम्पस्थल थियो । उक्त लजले पर्यटकलाई क्याम्पिङ सुविधा प्रदान गर्न लालमाटीमा सफारीका लागि दुई वटा हात्ती र तीन गाडी राख्ने गरेको थियो ।

बर्दिया निकुञ्जभित्र पर्यटकको रोजाइ ‘क्याम्पिङ’

आफ्नो लजमा आउने पर्यटकलाई निकुञ्जभित्र आवासीय सुविधा दिन २९ जना कर्मचारी खटिने गर्थे । प्रत्येक वर्ष टाइगर टप्सले टेन्ट जडान गरेर पर्यटक बसाउने गरेकाले उक्त स्थानको नाम अहिलेसम्म टेन्टेड क्याम्प छ ।

‘सन् २०१४ पछि टाइगर टप्सको टेन्टेड क्याम्प चल्ने/नचल्ने धरमर अवस्था बन्यो,’ तत्कालीन समयमा उक्त टेन्टेड क्याम्पका कर्मचारी रहेका पर्यटनकर्मी राजन चौधरीले भने, ‘टाइगर टप्समा आएका सबै पाहुना क्याम्पिङ गर्न निकुञ्जभित्र जान्थे, कर्णालीको ढिकमा रहेको क्याम्पस्थलमा स्तरीय सेवा दिने गरिएको थियो ।’ सरकारले निकुञ्जभित्र सञ्चालन हुँदै आएका होटल/रिसोर्ट नवीकरण नगर्ने निर्णय गरेपछि क्याम्पिङ बन्द भएको चौधरीले बताए । यहाँको प्रमुख आकर्षणका रूपमा रहेको क्याम्पिङ सेवा लामो समय ठप्प भएको उनको भनाइ छ ।

‘बाह्र वर्षपछि खोला फर्किन्छ’ भन्ने आहानझैं अहिले लालमाटी क्षेत्रमा पुनः पर्यटकले रात बिताउन थालेका छन् । निकुञ्ज कार्यालयले पर्यटकको संख्या बढाउन निकुञ्ज पश्चिम किनारमा रहेको लालमाटी र उत्तरपूर्वमा रहेको बबई भ्यालीको गुठीमा क्याम्पिङ गर्न पाउने व्यवस्था गरेको छ । यस वर्ष इन्साइट हिमालय ट्रेक कम्पनीले गत साता लालमाटीमा क्याम्पिङ सञ्चालन गरेको थियो । क्याम्पिङका लागि ११ जना विदेशी आएका थिए । त्यसभन्दा अगाडि १६ जना आएका थिए । उक्त कम्पनीले कोरोना महामारीभन्दा अगाडिदेखि बर्दियामा क्याम्पिङ गर्न थालेको जनायो ।

पहिले बबई भ्यालीमा क्याम्पिङ गर्दै आएको कम्पनीका स्थानीय समन्वयकर्ता तथा होटल गैंडा क्याम्पका सञ्चालक रामजीबाबु थापाले बताए । त्यहाँ आउजाउ गर्ने सडक सहज नभएकाले दुई वर्षदेखि लालमाटीमा क्याम्पिङ चलाइरहेको उनको भनाइ छ । ‘यस वर्ष तीन पटक क्याम्पिङ चलायौं,’ उनले भने, ‘भीआईपी पर्यटकका लागि यसको सुरुवात गरेका हौं ।’

पर्यटकलाई निकुञ्जभित्र न्यूनतम तीन रात चार दिन राख्ने गरिएको छ । त्यस क्रममा जिप सफारी, पैदल घुमाउने गरिएको छ । पर्यटक आफैंले गाडी चलाएर पनि घुम्छन् । ‘जंगलको अनुभवका लागि आउने गरेका छन्,’ थापाले भने, ‘छेउछाउमा बाघ कराउँछन् । साँझ–बिहान वन्यजन्तुको मुभमेन्ट देखिन्छ । गत होलीको दिन क्याम्पबाटै पाँच पटक बाघ देख्यौं ।’ एउटा क्याम्पिङमा पर्यटकको संख्या हेरेर कर्मचारी खटिने गर्छन् । निकुञ्जबाट समग्र गतिविधि निगरानीका लागि एक जना कर्मचारी खटिन्छन् । आवश्यकताअनुसार नेचर गाइड ल्याउने गरिएको छ ।

यस वर्ष इन्साइट हिमालयले सञ्चालन गरेको दोस्रो क्याम्पिङका बेला बेलायतका पूर्वमन्त्री र वर्तमान सांसद आएका थिए । औपचारिक भ्रमण भएकाले उनको नाम खुलाउन कम्पनीले मानेन । गत वर्ष एक महिना चलेको क्याम्पिङमा बर्गिङ्घम प्यालेसका पाहुना आएको इन्साइट हिमालयका क्याम्प म्यानेजर पन्नु लकसनले बताए । ‘पहिले चितवन निकुञ्जमा क्याम्पिङ गर्थ्यौं,’ उनले भने, ‘अहिले बर्दिया डाइभर्ट भएका छौं, विदेशी यहाँ आउन रुचाउँछन् ।’ पहिले टाइगर टप्सले यहाँ क्याम्पिङ सञ्चालन गर्दै आएकाले बर्दियामा पर्यटक वृद्धि भइरहेको उनले जनाए ।

क्याम्पिङस्थलमा कर्मचारी र पर्यटकका लागि भिन्नाभिन्नै टेन्ट स्थापना गरिन्छ । पर्यटकको संख्याअनुसार घरजस्तै सुरक्षित टेन्ट जडान गरिन्छ । टेन्टभित्र खाट हुन्छ । आवश्यकताअनुसार टेबल र कुर्सी राखिएका हुन्छन् । टेन्टको बाहिर कुर्सी र टेबल व्यवस्था गरिएको हुन्छ ।

नजिकै शौचालय कपडाकै शौचालय बनाइएको हुन्छ । कपडा, डोरी, काठ र रूखको मद्दतले नुहाउन सावर तयार गरिन्छ । हातमुख धुन तामाको गाग्री र ताउलाको बेसइन बनाइन्छ । टेन्टभित्र डाइनिङ हल निर्माण गरिन्छ । अलग्गै भान्सा हुन्छ । बत्ती बाल्न र ग्याजेट चार्ज गर्न सोलार प्यानल व्यवस्था गरिन्छ । टेन्ट वरिपरि वन्यजन्तु नआऊन् भनेर राति लहरै लालटिन बाल्ने गरिएको क्याम्प सञ्चालकले बताए । हेर्दा क्याम्प भए पनि स्तरीय रिसोर्टको सुविधा हुन्छ ।

क्याम्पिङका लागि निकुञ्ज विश्वभर प्रसिद्ध रहेको होटल एसोसिएसन नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीको भनाइ छ । निकुञ्जभित्र तोकिएको स्थानमा क्याम्पिङको सम्भाव्यता अध्ययनका लागि विश्व बैंक र एसियन डेभलपमेन्ट बैंकले समेत चासो देखाएको उनले जनाए । ‘स्थानीयको सेयर रहने गरी यसलाई व्यवस्थित ढंगले सञ्चालन गरेर जान सकिन्छ,’ उनले भने, ‘यसले पर्यटक बढ्ने निश्चित छ ।’ निकुञ्जभित्र सबै स्थानमा सम्भव नहुने भएकाले थप अध्ययन गरेर क्याम्पिङ स्थल तोक्नुपर्ने उनले बताए । ‘अहिले सूचना प्रविधिको पहुँचले क्याम्पिङलाई सहज बनाएको छ,’ उनले भने, ‘यस्तो बेला निकुञ्जले सेना र गेम स्काउटको नजिक क्याम्पिङ गर भन्नु व्यावहारिक हुँदैन, निगरानीका लागि कर्मचारी पनि खटाउने र अविश्वास पनि गर्ने कुरा राम्रो होइन ।’

पर्यटकका लागि क्याम्पिङ एकदमै ‘थ्रिलिङ’ कार्यक्रम भएकाले यसलाई व्यवस्थित गरेर लैजानुपर्नेमा उनको जोड छ । ‘क्याम्पिङका लागि युरोपबाट भीआईपी पर्यटक आउने गरेका छन्,’ उनले भने, ‘यसले निकुञ्जको प्रचार पनि हुन्छ ।’

क्याम्पिङका लागि विदेशी आउन थालेपछि पर्यटन व्यवसायी उत्साहित भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले जनाए । चालु वर्ष लालमाटीमा २६ र बबई भ्यालीमा १८ समूहले क्याम्पिङ गरेका छन् । क्याम्पिङका लागि स्तरीय पर्यटक आउने गरेको उनको भनाइ छ । ‘यसले निकुञ्जको राजस्व वृद्धि हुन्छ,’ उनले भने, ‘व्यवस्थापनका लागि धेरै जनशक्ति चाहिने भएकाले स्थानीयले रोजगारी पाइरहेका छन् ।’

निकुञ्जभित्र रात बिताउने भएकाले पर्यटकले बर्दिया निकुञ्जको प्राकृतिक वातावरण महसुस गर्न पाउँछन् । वन्यजन्तु नजिकै आउने भएकाले आनीबानी अवलोकन गर्न पाउँदा रोमाञ्चित हुने उनले बताए । निकुञ्जभित्र माघ, फागुन र चैतमा क्याम्पिङका लागि विदेशी आउने गरेको रामले बताए । निकुञ्जका अनुसार क्याम्पिङका लागि स्वदेशीले पाँच सय, सार्क मुलुककाले एक हजार पाँच सय र तेस्रो मुलुकका व्यक्तिले तीन हजार रुपैयाँ प्रतिव्यक्ति प्रतिदिनका हिसाबले राजस्व तिर्नुपर्छ ।

प्रकाशित : चैत्र ३०, २०८० ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?