कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३४०

भारतका जोडी, रूपन्देहीमा जग्गे

‘डेस्टिनेसन वेडिङ’लाई जोड दिएर पूर्वाधारमा लगानी बढाउँदै पर्यटन व्यवसायी 
भारतको उत्तरप्रदेश र नयाँदिल्लीबाट आएर विवाह गर्ने धेरै छन्, नेपाल–भारतबीच सांस्कृतिक सम्बन्धले यस्ता कार्यक्रम आयोजनामा मद्दत मिलेको व्यवसायी बताउँछन्

भैरहवा — बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित रूपन्देहीको पर्यटनमा पछिल्लो समय नयाँ कार्यक्रम थपिँदै गएका छन् । मार्केटिङ र कर्पोरेट बैठकसँगै गोष्ठी र सेमिनारका लागि यहाँका होटल रोजाइमा छन् । अहिले पर्यटन व्यवसायीले ‘डेस्टिनेसन वेडिङ’लाई जोड दिएर पूर्वाधारमा लगानी गरिरहेका छन् । यसले रूपन्देही स्वदेशी र विदेशीका लागि विवाह गन्तव्य बनेको छ ।

भारतका जोडी, रूपन्देहीमा जग्गे

घरभन्दा टाढाको गन्तव्यमा पुगेर विवाहको रमाइलोमा झुम्ने परम्परासँगै यहाँ सञ्चालित साना–ठूला लगानीका होटलको प्रमुख आम्दानी सामाजिक गतिविधि बनेका छन् ।

जिल्ला र आसपासबाट होटल र पार्टी प्यालेसमा विवाह गरिनु सामान्य बनेको छ । पछिल्लो समय भारतका विभिन्न सहरबाट यहाँका होटलमा दुलाहा–दुलही पक्ष आएर आवासीय रूपमा विवाह कार्यक्रम गरिरहेका छन् । यसरी ‘प्याकेज’मा सञ्चालन हुने विवाहबाट आम्दानीसँगै गन्तव्यको प्रचार भइरहेको व्यवसायीले बताए । विवाहका लागि भारतबाट सम्बन्धित परिवारसँगै आफन्त र पाहुना आउने गरेका छन् । ठूलो संख्यामा उनीहरू आउँदा होटलमा कोठा नपुग्ने तिलोत्तमा–१५ स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक लेखकको भनाइ छ । ‘आठ महिनामा रिसोर्टमा ११ विवाह वटा कार्यक्रम भए,’ उनले भने, ‘काठमाडौंका अतिरिक्त भारतको लखनउ, कानपुर, नयाँदिल्लीबाट यहाँ आएर विवाह गरेका हुन् ।’

यसरी आउने पाहुनाको बसाइँ अवधि कम्तीमा दुई रात तीन दिनको हुने गर्छ । केटा–केटी पक्ष आउने भएकाले रिसोर्ट भरिएर अन्य होटलमा कोठा लिएर सेवा दिनुपरेको लेखकको भनाइ छ । नेपाल र भारतका मारवाडीलगायत व्यापारिक समुदाय लामो समयदेखि विवाह कार्यक्रमका लागि माल्दिभ्स, बाली र दुबई जाने गरेको उल्लेख गर्दै उनले भने, ‘रूपन्देही त्यस्ता विवाहलाई डाइभर्ट गर्न सकिने सम्भावनास्थल बनेको छ ।’

काठमाडौंमा रहेका पाँचतारे होटलको कुल आम्दानीमध्येमा २० देखि ३० प्रतिशत सामाजिक क्रियाकलापले योगदान पुर्‍याइरहेको लेखकले जनाए । यस्ता विवाहलगायत सामाजिक क्रियाकलापलाई लक्ष्य गरेर होटलको डिजाइन तयार गरिरहेको र त्यसले छिट्टै मूर्त रूप पाउने उनले बताए । ‘कस्तो बनाउने भन्नेबारे परामर्शदातासित कुराकानी भइरहेको छ,’ लेखकले भने, ‘चाँडै नयाँ स्वरूपमा आउँछौं ।’

भारतको उत्तरप्रदेश र नयाँदिल्लीबाट यहाँ आएर विवाह गर्ने धेरै छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्धले यस्ता कार्यक्रम आयोजनामा मद्दत मिलेको व्यवसायी बताउँछन् । भारतको उत्तर प्रदेशका सहरमा स्तरीय र ठूला होटलको कमी छ । होटलमा विवाह कार्यक्रम गर्दा भारतीय पाहुनलाई ‘मान–सम्मान’ धेरै चाहिने भएकाले राम्रो हस्पिटालिटीका लागि उनीहरूले यहाँका गन्तव्य रोजिरहेको होटल पौवाका ब्रान्डिङ प्रमुख विष्णु भण्डारीको भनाइ छ । रूपन्देहीको भैरहवा र बुटवलमा रहेका होटल पौवाका शाखामा धेरै भारतीय विवाहका लागि आउने गरेका छन् । ‘दिल्ली र लखनउबाट धेरै परिवार विवाहका लागि आइरहेका छन्,’ भण्डारीले भने, ‘पौवामा मात्रै भारतबाट आएर वार्षिक सरदर ५० विवाह भइरहेका छन् ।’ विवाहका लागि आवश्यक सजावट र खानपानको व्यवस्था होटलले गर्छन् । विवाहका पाहुनाले होटलका कोठा भरिन्छन् । ‘भारतभन्दा नेपालमा विवाह गर्दा सस्तो पर्छ,’ भण्डारीले भने, ‘यहाँको वातावरण पनि राम्रो र सुरक्षित छ ।’

जिल्लामा रहेका होटलले कोठा र रेस्टुराँमा मात्र लगानी गरेका छैनन् । उनीहरूले ब्याङवेट हल र सजावटमा धेरै लगानी गरिरहेका छन् । यहाँ सामान्य होटलले समेत कार्यक्रम हल निर्माण गरेका छन् । परम्परागत रूपमा खाना र कोठा बिक्री गरेर लगानीअनुसार नाफा आर्जन नहुने भएपछि उनीहरू समूह पर्यटनमा आकर्षित बनेका हुन् । आगामी वैशाखमा ६/७ विवाह कार्यक्रम आयोजना हुने भैरहवास्थित चारतारे होटल एसियन बुद्धका अपरेसन म्यानेजर जेपी सुवेदीको अनुमान छ ।


‘दुई वटा बिहे बुकिङ भइसकें,’ सुवेदीले भने, ‘एक हजार जना सहभागी हुने विवाह कार्यक्रमका लागि छलफल भइरहेको छ ।’ होटलमा मण्डपदेखि विवाह लक्षित सजावट गरिएको उनले जनाए । ‘एक महिनामा ६/७ विवाह भइरहेका छन्,’ उनले भने, ‘एक/दुई जना पाहुनाको बाटो कुर्नुभन्दा सोसल फङ्सनबाट धेरै आम्दानी हुन्छ ।’ विवाहबाहेक कर्पोरेट कार्यक्रम आयोजनामा जोड दिएर प्रचारप्रसार गरिरहेको उनको भनाइ छ । यहाँका होटलले भारतका प्रमुख सहरमा मार्केटिङ समूह पठाएर यस्ता कार्यक्रमबारे प्रचारप्रसार गरिरहेको जनाएका छन् ।

होटलमा विवाह गर्ने संस्कार नै बनिसकेको होटल व्यवसायी महासंघ नेपालका उपमहासचिव तथा होटल सनस्टारका सञ्चालक राजेश महोत्राले बताए । ‘विवाह गर्न भारतबाट यहाँ आउने परम्परा जस्तै बन्दै छ,’ उनले भने, ‘यहाँका पाहुना सत्कार गर्ने विशिष्ट शैलीका कारण भारतीय आकर्षित बनेका हुन् ।’ खर्चभन्दा एकै स्थानमा विवाहलगायत सामाजिक क्रियाकलाप उम्काउँदा सहज हुने भएकाले सर्वसाधारणले होटल रोज्न थालेको उनको भनाइ छ । स्वदेशी विवाह कार्यक्रममा हल र खानाको प्रयोग हुन्छ । भारतबाट आएर यहाँ विवाह गर्दा कोठा पनि बिक्री हुन्छन् । दुईतीन दिन यहीं बसेर विवाह उम्काउने भएकाले आम्दानी राम्रो हुने गरेको महोत्राले बताए । बढ्दो सहरीकरणले बस्तीमा स्थान अभाव भएकाले सहजताका लागि हल चाहिने उनले जनाए । ‘विवाहबाहेक मार्केटिङ, कर्पोरेट मिटिङ, सरकारी र निजी क्षेत्रका कार्यक्रमबाट आम्दानी भइरहेको छ,’ उनले भने, ‘पर्यटन क्षेत्र फेरिन थालेको छ ।’

रूपन्देहीको भैरहवामा स्तरीय नयाँ होटल सञ्चालन हुने क्रम बढेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण होटल तथा रेस्टुराँमा लगानी बढिरहेको छ । नयाँ व्यवस्थापनसहित तिलोत्तमामा पाँचतारे टाइगर प्यालेस रिसोर्ट पुनः सञ्चालनमा आएको छ । भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ । भैरहवाको बेलहिया नजिकै चार तारे स्तरको होटल ल्यान्डमार्क सञ्चालनमा छ । भैरहवाको मध्यभागमा चारतारे भैरहवा गार्डेन रिसोर्ट सञ्चालनमा छ । चारतारे स्तरका होटल नान्स, मौर्य, निर्वाणा, बोधी रेडसन, एसियन बुद्धलगायत अपरेसनमा छन् । बुटवल–भैरहवा व्यापारिक मार्ग खण्ड आसपास ठूला लगानीमा होटल सञ्चालनको होड छ । व्यापारिक केन्द्र बुटवल, सियारी, शुद्धोदन, सैनामैना, देवदह र लुम्बिनीमा स्तरीय होटल सञ्चालनमा छन् ।

प्रकाशित : चैत्र २४, २०८० ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?