१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

जहाँ पसल हिँडिरहन्छन्

तीनपांग्रे गाडीमा साग, तरकारी, फलफूल, भााडावर्तनलगायत भान्साका सामग्रीका अतिरिक्त लत्ताकपडासमेत राखेर बिक्री गर्न कुद्ने पसल प्रशस्त छन्, म:म, कफी, चिया, बर्गर बेच्ने रेस्टुरेन्ट पनि तीनपांग्रे गाडीमा अटाएका छन्, मुख्य बजारभन्दा अलि बाहिरका हरेक चोकमा यस्ता ‘कुद्ने पसल’ ले चितवनमा सेवा दिइरहेका छन् 
गाडीमा पसल राख्नेहरूमध्ये धेरै जना कुराकानीमा खुल्नै चाहेनन्, प्राय:ले स्थानीय निकायले हटाउने पो हो कि, प्रहरीले दु:ख दिने पो हो कि भन्ने संशय राखे

चितवन — चितवनमा अचेल पसलहरू ग्राहक खोज्दै हिँड्ने चलन बढेको छ । तीनपांग्रे गाडीमा साग, तरकारी, फलफूल, भाँडावर्तनजस्ता भान्साका सामग्रीका अतिरिक्त लत्ताकपडासमेत राखेर बिक्री गर्न कुद्ने पसल प्रशस्त छन् । म:म, कफी, चिया, बर्गर बेच्ने रेस्टुरेन्ट पनि तीनपांग्रे गाडीमा अटाएका छन् । मुख्य बजारभन्दा अलि बाहिरका हरेक चोकमा यस्ता ‘कुद्ने पसल’ ले अहिले चितवनमा सेवा दिइरहेका छन् । 

जहाँ पसल हिँडिरहन्छन्

पूर्वपश्चिम महेन्द्र राजमार्ग हुँदै भरतपुरबाट पूर्व रत्ननगरतर्फ लाग्दै गर्दा टिकौली जंगल सकिनासाथ सिजनअनुसारका फलफूल राखेका अटोरिक्सा जस्ता तीनपांग्रे गाडी ५/६ वटा देखिन्छन् । आकर्षक तरिकाले फलफूल सजाएर राख्ने गरेका कारण प्राय: साना गाडी त्यहाँ रोकिन्छन् र एक–दुई किलो फलफूल किनेर लैजान्छन् । चार वर्षदेखि यसरी फलफूल बेच्दै आएको विशाल राईले बताए । ‘फलफूल नै बेच्न लागेको १३ वर्ष भयो,’ उनले भने, ‘पहिला हातले धकेलेर गुडाउने ठेलामा राखेर फलफूल बेच्थें । अहिले गुड्ने पसलमा बेच्छु ।’

रत्ननगर नगरपालिका–१ निपनी घर भएका ५० वर्षीय विशाल रोजगारीका लागि भारत पनि गएका थिए । त्यहाँ आठ वर्षर्जति काम गरेर उनी घर फर्के । विदेश जानुको साटो ठेलामा फलफूल बेच्न लागेका उनले पछि ३ लाख ८० हजार रुपैयाँ खर्च गरेर तीनपांग्रे गाडी किने, जसमा तीन क्विन्टल फलफूल मजाले अटाउँछ । उनी सबेरै नारायणगढ तरकारी तथा फलफूल थोक बजार पुग्छन् । घर आएर खाना खाएर टिकौली निस्कन्छन् । रूखको छहारीमा बसेर बिक्रीको अवस्था विचार गर्छन् । बिक्री हुन गाह्रो होला जस्तो भयो भने गाडी स्टार्ट गरेर बाटो लाग्छन् र गाउँ टोल डुल्न निस्कन्छन् । प्राय: टिकौलीमा नै बसेर धेरै फलफूल बिक्री हुन्छ । नभए बिक्री गर्दै ४०/५० किलोमिटर डुलेर भण्डारासम्म पुगेर सामान सक्छन् ।

‘गाडीले गर्दा यही सजिलो भएको छ । टिकौलीमै जे जति बिक्री हुन्छ हुन्छ, नभए अरूतिर पनि डुलाउन पाइयो, स्टार्ट गर्‍यो हिँड्यो, मिहिनेत लागेन,’ राईले सुनाए, ‘सटर राखेर बस्दा ग्राहक आउलान्, नआउलान् तर गाडी भएपछि जहाँ ग्राहक छन् खोज्दै त्यहीं पुग्न सकियो ।’

नवीनजंग थापा ३१ वर्षका भए । उनले ई–रिक्सामा नै म:म, चाउमिन र कुखुराका मासुका विभिन्न परिकार बेच्न सुरु गरेका छन् । कक्षा १२ सम्म पढेका उनी कमाउनका लागि भन्दै दुबई गए । त्यहाँ १२ वर्ष बसेर उनी भरतपुर महानगरपालिका–५ विशालचोक घर फर्केको तीन महिना मात्रै भएको छ । दुबईमा पनि होटलमा काम गरेका थिए । त्यही अनुभवले उनले घर फर्केपछि खाजा पसल नै चलाउने सुर कसे । ‘सटर भाडा तिर्न भन्दा पुरानो ई–रिक्सा २ लाख रुपैयाँमा पाइयो । पेट्रोलमा पनि खर्च गर्नुपरेन । यसैमा रेस्टुरेन्ट चलाउन लागें,’ नवीनले भने ।

घरनजिकै विशालचोकमा हाटबजार लाग्छ । हाटबजार नलाग्ने दिन पनि उनले रिक्सा राखेर परिकार बेच्छन् । अहिले सुरुवात भएका कारणले धेरै टाढा जाँदैनन् । ‘बुझ्दै जाँदा बाहिर फेर पनि निस्कनुपर्ला,’ उनले भने । उनको विचार त तेल मिल राख्नेछ । तोरीको शुद्ध तेल यस्तै गाडीमा राखेर गाउँ टोल घुम्दै बेच्न सकिने उनले देखेका छन् । त्यो ठूलो काममा हात हाल्नुअघि यस्तै काम गरेर अनुभव आर्जन गर्न लागेको उनले बताए ।

राजाराम साहले ०४८ सालदेखि चितवनका चोकचोक र गल्लीमा साइकलमा राखेर डेक्ची, कसौंडी, कुकर, थाल, कचौरा बेच्दै आए । ५५ वर्षका राजारामलाई अहिले ३० वर्षका छोरा अभिजितले पनि सघाउँछन् । बाउछोराले साइकल छाडेर डेढ वर्षदेखि टेम्पोभरि भान्सामा उपयोग हुने भाँडावर्तनहरू बेच्दै आएका छन् । उनी चितवनको पहाड कमै उक्लन्छन्, नभए पूर्वी र पश्चिम भेग डुल्दै सामान बेच्छन् । ‘सय किलोमिटर पनि गुडिन्छ कहिलेकाहीँ । साइकलमा मिहिनेत लाग्थ्यो । यसमा पेट्रोलको खर्च पर्‍यो । डुल्नलाई दु:ख मिहिनत गर्नुपरेन,’ राजारामले भने । उनले साढे ६ लाख रुपैयाँ लगानी गरेर गाडी किनेका हुन् । आर्थिक शिथिलताका कारण व्यापार त्यति राम्रो नभए पनि बुढेसकाल लाग्दै गर्दा गाडी किनेका कारण व्यापार गर्न सजिलो भएको उनी बताउँछन् । ‘साइकल भएको भए छोरो साथ हिँड्दैन थियो । गाडी छ र छोरा पनि साथमा छ,’ उनले भने ।

चितवनमा यात्रु बोक्ने अटोरिक्सासँगै सामान ढुवानी गर्ने साना गाडीका साथै सामान बिक्री गर्दै हिँड्ने यस्ता ‘गुड्ने पसल’ देखापर्न लागेको पाँच वर्षभन्दा बढी भयो । ग्राहकहरू पसल खोज्दै जाने होइन कि पसल नै ग्राहक खोज्दै गाउँ टोल पुग्ने शैलीले आर्जनमा लागेका युवाहरूलाई फाइदा पनि पुगेको छ । चितवनमा अटो बिक्री गरिरहेको अनुषी अटो ट्रेडका होमनाथ पौडेल पाँच वर्षयता तीनपांग्रे गाडीमा व्यवसाय गर्ने चलन सुरु भएको जनाउँछन् । यो परिष्कृत र स्मार्ट ठेलामा चलाउने व्यवसाय भएको उनको भनाइ छ । यात्रु बोक्ने अटोरिक्सा बेच्दै आएका पौडेलले यस्ता गाडी पनि बिक्री गर्छन् ।

दुई वर्षअघि यस्ता गाडी महिनामा कम्तीमा पाँचवटा बिक्री हुन्थे । अहिले घटेर एकाध मात्रै बिक्री हुन्छन् । यस्ता गाडी लैजानेहरू प्राय: युवा नै हुने गरेको उनले जनाए । ‘यस्ता गाडी किन्न आउनेलाई हामी कुन व्यवसाय गर्दा ठीक हुन्छ भनेर सुझाव पनि दिन्छौं । व्यवसायको प्रकृतिअनुरूप गाडीको रूप परिवर्तन गर्न नियमले मिल्नेसम्मको स्वरूप पनि तयार गरेर दिन्छौं,’ पौडेलले भने । गत वर्षसम्म बैंकले ऋण दिने गरेका कारण बिक्री सन्तोषजनक थियो । यस वर्ष त्यस्तो सुविधा नभएका कारण बिक्री प्रभावित भएको उनले बताए ।

अटोरिक्सामा व्यवसाय गर्नेहरूलाई सबै सहज पनि छैन । झन्डै नौ वर्षअघि काठमाडौंमा कफी बनाउने तालिम लिएर रत्ननगरस्थित घर फर्केका गोविन्द लम्सालले सौराहामा केही समय काम गरे । त्यसपछि उनले होमनाथ पौडेलकै डिलरबाट गाडी किनेर ‘घुम्ती रेस्टुरेन्ट’ चलाउन सुरु गरे । उनी बिहान र साँझपख सौराहाका मुख्य चोक पुग्थे । कमाइ राम्रै थियो । तर अहिले उनले त्यो गाडी बेचेर कोठामा नै रेस्टुरेन्ट राखेका छन् ।

‘कफी, चिया, परौठा बेच्थें । मलाई सजिलो र फाइदा भएकै थियो । पसल दर्ता थियो । नियमले नमिल्ने केही थियो जस्तो लाग्दैन । तर स–साना हैरानी आउने गरे,’ उनले भने, ‘दिक्दार भएर ६ लाख ३६ हजारमा पाँच वर्षअघि किनेको गाडी ११ हजार किलोमिटर जति गुडेको थियो, गत वर्ष ३ लाख ४० हजार रुपैयाँमा बेचें ।’ मोडिफाई गरेर चलाएको गाडी भनेपछि प्रहरीको आँखा परिहाल्थ्यो । ‘सायद सटरमा पसल गर्नेहरूलाई मैले सित्तैमा व्यापार गरे जस्तो पनि लाग्यो कि,’ उनले भने, ‘यहाँ बस्न पाइने, त्यहाँ बस्न नपाइने जस्ता कुरा आउन थाले । सबैतिर प्रतिवाद मात्र के गर्नु । अनि गाडी नै बेचिदिएँ ।’

गाडीमा पसल राख्नेहरूमध्ये धेरै जना कुराकानीमा खुल्नै चाहेनन् । प्राय:ले ‘स्थानीय निकायले हटाउने पो हो कि, प्रहरीले दु:ख दिने पो हो कि भन्ने संशय राख्दै’ आफूहरू मिडियामा नआउने बताए । माइक राखेर डुल्दै हिँड्नेलाई स्थानीय निकाय र टोल विकासले माइक हटाउन पनि भनेको छ । ‘त्यसमा कसैले अटेर गरेको भए हामीले सम्झाउने बुझाउने गरेका छौं । नभए यसरी गाडीमा सामान बेच्नेहरूलाई कारबाही गरेका छैनौं,’ चितवन प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले भने ।

यस्ता गाडीको चालकको लाइसेन्स हेर्ने गरेको जिल्ला ट्राफिक कार्यालय प्रमुख रहेका प्रहरी निरीक्षक सुरेश सुवेदीको भनाइ छ । ‘हामीले चालकको अनुमतिपत्र (लाइसेन्स) र मादक पदार्थ खाए नखाएको विषयमा केन्द्रित भएर कारबाही गरेका छौं । यसमा सबैखाले गाडी परे । ई–रिक्सा, टेम्पो, अटोरिक्सा चलाउने केहीको लाइसेन्स छैन पनि । मोडिफाई गरेको सन्दर्भमा कारबाही गर्न यस्ता गाडीभन्दा हामी मोटरसाइकलमा नै फोकस छौं,’ सुवेदीले भने । केही समस्या भए पनि धैर्य र दु:ख मिहिनेत गरेर स्वरोजगार हुनेलाई ‘स्मार्ट ठेला’ उपयोगी भएको अटोरिक्सा व्यवसायी पौडेल बताउँछन् ।

प्रकाशित : चैत्र १०, २०८० १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?