१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

४ हुन्डी कारोबारीलाई सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा

रिटमा प्रतिवादीहरूबाट २८ करोड ३२ लाख ७३ हजार बिगोको दोब्बर जरिवाना र कसुरअनुसार कैद माग 
यज्ञ बञ्जाडे

काठमाडौँ — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक भारतीय नागरिकसहित हुन्डी कारोबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अवैध विदेशी मुद्रा अपचलन गरेको, कसुरबाट प्राप्त सम्पत्ति बैंकिङ प्रणालीमा ल्याएर वैध बनाएको, कर छली गरेको लगायत आरोपमा विभागले नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो । 

४ हुन्डी कारोबारीलाई सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा

प्रतिवादीहरूमध्ये अग्रवाल भारतीय नागरिक हुन् । उनले नेपालमा कपडा व्यवसाय गर्दै आएका थिए । पश्चिम बंगाल दार्जिलिङ स्थायी ठेगाना भएका अग्रवाल हाल काठमाडौं महानगरपालिका–१७ मा बस्दै आएका थिए । प्रतिवादीहरूमध्ये दीपक काठमाडौं महानगरपालिका–२४ का स्थायी बासिन्दा हुन् । मनमोहन बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ मा बसोबास गर्दै आएका थिए । अर्का प्रतिवादी दिवस बागलुङ नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । यी चारै जना अनुसन्धानका लागि थुनामा छन् ।

प्रतिवादीहरूबाट बरामद भएको अमेरिकी डलर र नेपाली रुपैयाँको वैध कानुनी स्रोत पुष्टि नभएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, ०६४ अन्तर्गत सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

‘प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान हुँदा निज प्रतिवादीहरू नरेश अग्रवालसमेतले अन्य प्रतिवादी दिवस कार्कीसमेतका नाममा बैंक खाता खोली भूमिगत रूपमा मुद्राको कारोवार गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, ०६४ को अनुसूची १ को खण्ड (भ) को सम्बद्ध कसुर गरी गैरकानुनी स्रोत रूपान्तरण वा हस्तान्तरण गर्ने, निषेधित कसुरबाट प्राप्त रकम हो भन्ने जानीजानी त्यस्तो रकमको कारोबार, अधिकार तथा स्वामित्व परिवर्तनका लागि स्थानान्तरण र हस्तान्तरण एवं स्वरूप परिवर्तन, निःसर्ग गर्ने गरेको भेटियो,’ विभागको विज्ञप्तिमा भनिएको छ । त्यस्तो कसुरबाट आर्जित रकम विभिन्न मानिसको बैंक खातामा जम्मा गर्न लगाएर प्रतिवादीहरूले आफ्ना नामको बैंक खातामा सार्ने गरेको, खाताबाट रकम झिकेर धारण र निःसर्ग गरेको, केही रकम हालसम्म पनि खातामा मौज्दात देखिएको र सोबाट लाभसमेत लिइरहेको तथ्य फेला परेको विभागले जनाएको छ ।

सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, कसुरबाट प्राप्त सम्पत्ति बैकिङ प्रणालीमा स्थापित गरी गराउने, त्यसको स्वामित्व स्रोत एवं प्रकृति लुकाउने, कर छल्नेलगायत कार्यहरू गरी ऐनको दफा ३ को उपदफा ३ बमोजिमको सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य स्थापित हुन आएकाले कारबाहीका लागि मुद्दा दर्ता गर्नुपरेको विभागले बताएको छ । रिटमा प्रतिवादी नरेशलाई ८ करोड ६२ लाख ८५ हजार रुपैयाँ, दिवसलाई ७ करोड १२ लाख २० हजार रुपैयाँ, दीपकलाई ८ करोड ८२ लाख ३९ हजार रुपैयाँ र मनमोहनलाई ३ करोड ७५ लाख २९ हजार रुपैयाँ बिगो विभागले कायम गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, ०६४ को दफा ३० को उपदफा १ बमोजिम प्रतिवादीहरूलाई बिगोको दोब्बर जरिवाना, कसुरको गाम्भीर्यअनुसार कैद सजायको माग रिटमा गरिएको छ ।

राजस्व अनुसन्धान विभागले हुन्डी र सुनको कारोबारको आरोपमा नरेश अग्रवाललाई २ करोड नगदसहित पक्राउ गरेको थियो । विभागले ०८० माघ ४ मा अग्रवालको क्षेत्रपाटीस्थित निवासमा छापा मारेर पक्राउ गरेको हो । अवैध धन्दामा लागेको आशंकामा लामो समयदेखि निगरानी रहेको अग्रवाललाई उजुरीका आधारमा सम्पत्ति शुद्धीकरणको कसुर गरेको हुन सक्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान थालेको थियो । अनुसन्धानमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको भेटिएपछि मुद्दा दर्ता गरिएको विभागको भनाइ छ ।

राजस्व अनुसन्धान विभागले प्रतिवादी दीपक शाह ठकुरीबाट ३३ लाख ३१ हजार ५ सय २५, मनमोहन साहबाट ७५ लाख २ हजार, दिवस कार्कीबाट २१ लाख ६३ हजार २ सय ९० र नरेश अग्रवालबाट १ करोड ९९ हजार रुपैयाँ तथा १ हजार ९ सय ९४ अमेरिकी डलर बरामद गरेको पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विज्ञप्तिमा उल्लेख छ ।

राजस्व छलीमा ७९ करोड असुल्ने मागसहित मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले भन्सार छलेर व्यापारिक वस्तु आयात गरेको अभियोगमा बिगो र जरिवानासहित ७९ करोड असुली र कैद सजाय मागदाबीसहित ८ व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूले विभिन्न समयमा भन्सारमा तिर्नुपर्ने महसुल, करलगायतका राजस्व रकम नतिरी चोरी पैठारी गरेको अभियोगमा व्यक्ति नै पिच्छे फरक–फरक बिगो र जरिवाना रकम तथा जेल सजाय मागदाबी गर्दै सोमबार उच्च अदालत बुटवल र पाटनमा मुद्दा दायर गरिएको अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जनाए ।

विभागले सन्दीप ट्रेडर्सका कारोबारी दयाशंकर चौधरी र प्रोपाइटर विमलादेवी चौधरी कुर्मीविरुद्ध उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरिएको छ । उनीहरूबाट १२ करोड ८५ लाख बिगो तथा त्यति नै जरिवाना असुलउपर गरी जेल सजाय माग गरिएको छ । दयाशंकरले श्रीमती विमलादेवीका नाममा फर्म दर्ता गरेर खाद्यान्न आयात गरेर बिक्री गरेको बताइएको छ ।

भारतीय व्यापारी समेतको मिलेमतोमा ठूलो परिणाममा व्यापारिक वस्तु आयात गरेर कारोबार भने नदेखाएको भन्दै ६ जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको छ । मुद्दा चलाइएकामध्ये सबैभन्दा धेरै रकम जया एन्ड जिया इम्पेक्सका प्रोप्राइटर राहुलकुमार सुवेदीबाट १७ करोड ३८ लाख ८० हजार असुल्नुपर्ने विभागका महानिर्देशक नवराज ढुंगानाले जनाए । भारतीय नागरिक बिलबलजीसँग मिलेमतो गरेर करोडौं राजस्व छली गरेर नेपाल भित्र्याएको देखिएको उनले बताए । श्रीगुरु इम्पेक्सका प्रोपाइटर सीताराम रौनियार, शिवश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोपाइटर मीराकुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रोपाइटर प्रभुशंकर रौनियार र न्यु एसकुमार इन्टरप्राइजेजका रामछत्री सा कलावरविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको उनको भनाइ छ ।

सिताराबाट १ करोड ४२ लाख ९४ हजार, रिजवानबाट २ करोड ११ लाख १९ हजार, मीराकुमारीबाट २ करोड ११ लाख ८१ हजार, प्रभुशंकरबाट १ करोड ७८ लाख ४० हजार, रामछत्रीबाट १ करोड ७७ लाख २८ हजार असुल्नुपर्ने माग गरिएको विभागले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अभियुक्तहरूलाई कायम गरेको बिगो र त्यति नै जरिवाना माग गरिएको छ ।

प्रकाशित : चैत्र ८, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?