१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

भित्रिन थाल्यो युरिया 

शंकर आचार्य

पर्सा — कृषि सामग्री कम्पनीको युरिया मल भित्रिन थालेको छ । कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार, आदित्य बिरला कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय २१ को युरिया मल भित्रिन थालेको हो । 

भित्रिन थाल्यो युरिया 

‘२ हजार ५ सय मेट्रिक टन युरिया मल बोकेको पहिलो रेल्वे र्‍याक बिहीबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आई पुगेको छ,’ उनले भने, ‘शुक्रबार पनि सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेशनमा २ हजार ५ सय मेटन युरिया मल बोकेको अर्को रेल्वे र्‍याक आइपुगेको छ ।’

सुक्खा बन्दरगाहमा आइपुगेको मल कम्पनी प्रादेशिक कार्यालय भैरहवा जाने र रक्सौल आइपुगेको मल प्रादेशिक कार्यालय वीरगन्ज आउने उनले बताए ।

यो कन्साइन्मेन्टको मल कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज र रक्सौलसम्म आइरहेको छ । ग्लोबल टेण्डरबाट ठेक्का पाएको आदित्य बिरला कम्पनीले यो कन्साइन्मेन्टबाट कम्पनीको ३० हजार मेट्रिक टन युरिया मल आपूर्ती गरिरहेको छ ।

यी दुई बाहेक स्वीस सिंगापुर कम्पनी आपूर्तिकर्ता रहेको कन्साइन्मेन्ट नम्बर १ सय १५ को ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकत्ता बन्दरगाह आइसकेको र उक्त मल पनि यसै साता देखि क्रमशः भित्रिने पाण्डेले बताए ।

मल भित्रिए लगत्तै माग भएका जिल्लाहरुमा क्रमशः परिचालन समेत गरिनेछ। हाल किसानलाई गहुँ बालीका लागि युरिया मलको आवश्यकता छ । कोटा छुट्याइएको मधेश प्रदेशका जिल्लाहरुमा तथा जिम्मेवारी रहेका बागमती प्रदेशका जिल्लाहरुमा समेत प्रादेशिक कार्यालयबाटै मल परिचालन गरिने उनले बताए । ठूलो मात्रामा मल भित्रिसकेपछि अब गहुँ बालीका लागि मलको अभाव नहुने पनि पाण्डेले दाबी गरे ।

यस बाहेक कम्पनीले धान सिजनलाई लक्षित गरी ठूलो मात्रामा युरिया र डिएपी मल भित्र्याउन लागेको पाण्डेले बताए । धान बालीका लागि कम्पनीले ५ वटा कन्साइन्मेन्टमा गरी युरिया, डिएपी र पोटास मल भित्र्याउन थालेको छ ।

३०/३० हजार मेट्रिक टन युरिया मल आयातको ३ वटा कन्साइन्मेन्ट, २० हजार मेट्रिक टन डिएपी आयातको एउटा कन्साइन्मेन्ट र १० हजार मेट्रिक टन पोटास आयातको एउटा कन्साइन्मेन्ट रहेको उनले बताए ।

प्रकाशित : पुस २१, २०८० १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?