१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

९ वर्षमा ९ पटक म्याद थप्दा पनि नबनेको नगरकोट सडक

काठमाडौं–नुवाकोट जोड्ने सडकमा ठेक्का तोडेको डेढ वर्ष पुग्दा पनि पुनः ठेक्कामा ढिलाइ
विमल खतिवडा

काठमाडौँ — भक्तपुरको कमल विनायक–नगरकोट जोड्ने सडकको स्तरोन्नति थालेको ९ वर्ष भयो  । ९ वर्षमा ९ पटक नै म्याद थपियो । तर १५.६६ किमि दूरीको सडकको निर्माण अझै अधुरै छ । सडक बनिनसक्दै भत्किन थालेको छ । यसबाट सबैभन्दा बढी नगरकोटका पर्यटन व्यवसायी मारमा छन् । यो सडक निर्माणकै चरणमा छ ।

९ वर्षमा ९ पटक म्याद थप्दा पनि नबनेको नगरकोट सडक

निर्माण सकिएको ५/६ किमि मात्र सडक राम्रो रहेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले बताए । ‘यो सडक बनाउँदै जान्छन्, भत्किँदै जान्छ,’ उनले भने, ‘नगरकोट पर्यटकीय क्षेत्र भएकाले यो सडक भएर दैनिक ठूलो संख्यामा पर्यटक ओहोरदोहोर गरिरहन्छन् । तर तिनलाई सधैं सडकले पिरोलिरह्यो ।’

उनका अनुसार सडकको स्तरोन्नति थालेदेखि नै पर्यटन आवागमन प्रभावित बन्दै आएको छ । ‘एक वर्षयता केही राहत मिलेको छ । तर सडकको अवस्थामा सोचे जस्तो सुधार छैन,’ गुरुङले भने, ‘बनिसकेको सडकमा समस्या भए पनि मर्मत गर्नैपर्ने सडक दुई किमि छ ।’ सडकै कारण पर्यटन व्यवसाय चौपट बनेको भन्दै भत्किएका सडकसमेत मर्मत गरेर व्यवस्थित बनाउनुपर्ने उनले बताए । यो सडक निर्माणमा प्रगति नभएपछि ठेक्का तोड्ने चेतावनी दिँदै ०७९ चैत १३ मा भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले १४ दिने सूचना निकाले पनि त्यसअनुसार काम हुन सकेन । तर न ठेक्का तोडियो, न सडक नै बन्यो । उल्टै ०८० पुस मसान्तसम्म म्याद थपिएको छ ।

विस्तारको काम नसक्दै बनाएको सडक भत्किँदै गएको चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीले बताए । ‘काम गर्न नसक्ने भए नगरपालिकाले सडक बनाउँछ भन्दा पनि ठेक्का लिनेहरूले छाड्न मानेनन्,’ उनले भने, ‘नगरकोट पर्यटन वर्ष ०८२ मनाउने भनेर विदेशी पाहुनाहरूलाई निम्तो पठाइरहेका छौं । तर सडकको यो हाल छ, त्यो बेलासम्म सडक राम्रो बनाइदिए हुन्थ्यो ।’

पुस मसान्तसम्म म्याद भएकाले त्यो बेला निर्माण सकिइसक्ने भक्तपुर–नगरकोट–सिपाघाट सडक योजना कार्यालयका प्रमुख मेघराज मरासिनीको भनाइ छ । ‘सडक विस्तारको काम सकिने चरणमा छ, बाँकी रहेको चार सय मिटर कालोपत्रको काम सकिँदै छ,’ उनले भने, ‘पुस मसान्तसम्म निर्माण व्यवसायीले म्याद मागेकाले त्यो बेलासम्म काम सकिन्छ ।’ निर्माण ढिलाइ भएसँगै ठेक्काको बजेट बढिरहेको छ । सुरुमा ३१ करोड ५२ लाख रुपैयाँमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

अहिले संशोधन गरेर ३५ करोड ८७ लाख रुपैयाँ पुर्‍याइएको छ । अहिलेसम्म ३२ करोड १० लाख रुपैयाँ भुक्तानी भइसकेको छ । स्थानीय, पर्यटन व्यवसायी, जनप्रतिनिधिले पटकपटक सडक निर्माणको काम चाँडो सक्नुपर्ने माग राख्दै आएका छन् । यसको ठेक्का ०७१ जेठ २२ मा भएको हो । ठेक्का आरामाली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) र शैलुङ कन्स्ट्रक्सनले संयुक्त लिएका हुन् । सम्झौताअनुसार काम गरिएको भए ०७३ असार ३ मा नगरकोटको सडक पूरा भइसक्थ्यो । शैलुङ कन्स्ट्रक्सन प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको हो । सडक विस्तारमा भएको ढिलाइबारे अधिकारीसँग पटकपटक बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

काठमाडौंदेखि नुवाकोट जोड्ने तीनपिप्ले–रानीपौवा सडक स्तरोन्नतिको ठेक्का तोडेको डेढ वर्ष हुन लाग्यो । तर अहिलेसम्म पुनः ठेक्का हुन सकेको छैन । आयोजनाले गत भदौमै ठेक्का गर्ने तयारी भएको जनाएको थियो । बालाजु–रानीपौवा–पीपलटार सडकको कुल दूरी ५५.५ किमि हो । यसमध्ये अहिले तीनपिप्ले–रानीपौवा सडकको दूरी मात्र १२.५ किमि छ । यो सडकको स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड रुपैयाँ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त भएको छ ।

यसको निर्माणको काम सडक डिभिजन नुवाकोटमार्फत हुनेछ । स्रोत सहमति आएकाले एक साताभित्र ठेक्का गर्ने तयारीमा रहेको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जनाए । ‘विस्तृत परियोजना रिपोर्ट (डीपीआर) फाइनल गर्ने चरणमा छौं,’ उनले भने, ‘यसको निर्माण नेपाल सरकारले गर्ने हो । एक महिनाभित्र यसको ठेक्का आह्वान गर्छौं ।’ सडकको सुरु ठेक्काअनुसार काम नभएपछि तोडेर दोस्रो ठेक्का गर्न लागिएको हो । सुरुमा बालाजु–रानीपौवा खण्डको ठेक्का भएको थियो । तर, सात पटक म्याद थप्दा पनि काम सकिएन । काममा कुनै प्रगति नभएपछि बालाजु–रानीपौवा खण्डको ठेक्का लिएको एआईपीएल र शैलुङ कन्स्ट्रक्सन जेभीसँग ०७९ असार ५ मा ठेक्का सम्झौता तोडेर तिनलाई सडक विभागअन्तर्गत सडक सुधार तथा विकास आयोजना निर्देशनालयले कालोसूचीमा राखी कारबाही गर्न सिफारिस गरेको थियो ।

यी कम्पनीलाई तीन वर्षका लागि गत वर्ष नै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिसकेको छ । अहिले उक्त खण्डमध्ये तीनपिप्ले–रानीपौवा १२.५ किमिमा ठेक्का गरेर स्तरोन्नति गर्न लागिएको हो । बालाजुदेखि तीनपिप्लेसम्मको सडकमा भने कुनै समस्या नरहेको सडक सुधार तथा विकास योजना कार्यालयका योजना प्रमुख मेघराज मरासिनीले बताए । रानीपौवाबाट पीपलटार ३४ किमि छ ।

यही सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्डको करिब साढे ४ किमि सडक बनिसकेको छ । रानीपौवा–पीपलटार खण्डसम्म भारतीय एक्जिम बैंकको ऋण सहयोगमा काम गरिँदै छ । ‘यसको डीपीआर पेस भइसकेकाले हेर्ने काम भइरहेको छ,’ उनले भने, ‘डीपीआर हेरेर फाइनल भइसकेपछि भारतीय एक्जिम बैंकसँग ठेक्कामा जाने गरी स्वीकृति माग्छौं ।’

तीन महिनाभित्र सबै प्रक्रिया सकेर सडक स्तरोन्नतिका लागि पुनः ठेक्का आह्वान गरिने बताइएको छ । रानीपौवा–पीपलटार भारतकै दिनेशचन्द्र आर अग्रवाल र नागार्जुन–कोशी एन्ड न्यौपाने जेभीले ठेक्का लिएका थिए । उक्त निर्माण कम्पनीसँग पनि ०७७ असार ९ मा ठेक्का सम्झौता तोडिएको थियो । अहिले यो कम्पनीलाई कालोसूचीमा राखिएको छ ।

प्रकाशित : मंसिर ९, २०८० ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?