कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

फूलखेतीमा आकर्षण

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ चिसापानीमा अमर प्रहरी परिवारले फूलखेती गरेका छन् । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको सहयोग तथा प्रदेश प्रहरी कार्यालयको सहजीकरणमा अमर प्रहरीका १५ परिवार मिलेर फूलखेती गरेका हुन् ।

फूलखेतीमा आकर्षण

जिविका चलाउनको लागि आयआर्जन गर्ने र तिहारमा बाहिरबाट आयात गरिने फूललाई विस्थापित गर्नको लागि फूलखेती गरेका एक अमर प्रहरीकी परिवार नन्दा श्रेष्ठले बताइन् ।

उनले भनिन् , ‘ फूलखेतीमा व्यस्त भएका छौं । १५ परिवार मिलेर पहिलोपटक सुरु गरेका हौं । निकै राम्रो उत्पादन भएको छ । अब यसै खेतीलाई निरन्तरता दिने योजना छ । ’

प्रदेश प्रहरी श्रीमती संघको ३ लाख ५ हजार अनुदान सहयोग र प्रदेश प्रहरी कार्यालय कर्णालीले आवश्यक तालिम दिएर फूल खेतीको सुरुआत गरिएको प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष विन्दु अधिकारी ढकालले बताइन् । फूलखेतीबाट १५ लाख आम्दानी हुने विश्वास गरिएको छ । अमर प्रहरीका परिवारले उत्पादन गरेको फूल बजारमा जानेक्रम सुरु भइसकेको छ ।

यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिकाका–१४ गुमीका हिरा मगरले पनि यो वर्ष डेढ बिगा जमिनमा फूलखेती गरेका छन् । भारतलगायत अन्तबाट कर्णालीमा फूलहरु वर्षेनी आउन थालेपछि आफूले यो वर्ष फूलखेती गरेको उनले बताए । उनले साढे ३ लाख रुयैयाँको लगानीमा फूल खेती गरेका हुन् । हिराले सयपत्री र मखमली फूलको खेती गरेका छन् । उनले ४० देखि ५० क्विन्टल फूल उत्पादन हुने अपेक्षा गरेका छन् । २१ क्वीन्टल फूल उनले टिपेर बजारमा पठाइरहेका छन् । सुर्खेतमा यो वर्ष अरुले पनि फूलखेती गरेकोले जिल्लामा पर्याप्त मात्रामा फूल भएकोले आफूले जिल्ला बाहिर पठाइरहेको उनले बताए । उनका अनुसार काठमाण्डौं , बुटवल , नेपालगन्जलगायतका सहरमा उनले फूल पठाइरहेका छन् । अहिलेसम्म उनले ६ क्विन्टल बुटवल पठाएका छन् । ४ क्वीन्टल नेपालगन्ज पठाएका छन् । अन्त पनि अर्डरअनुसार फूल पठाउने क्रम जारी रहेको उनले बताए ।

पछिल्लो समय सुर्खेतमा फूलखेतीमा आकर्षण बढिरहेको छ । जिल्लामै फूलखेती भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि स्थानीयस्तरमै उत्पादन भएको फूल प्रयोगमा ल्याउन जिल्लास्थित सम्पूर्ण कार्यालयहरु , आयोजना , परियोजना, वित्तीय निकाय, प्रतिष्ठान, सार्वजनिक संस्थाहरुलाई आग्रह गरेको छ ।

यस्तै सुर्खेत उद्योग वाणिज्य संघले पनि एक विज्ञप्ति जारी गर्दै अन्य वर्षहरुमा भारतबाट तिहारमा फूलहरु आयात गर्नुपर्ने बाध्यता रहे पनि यो वर्ष सुर्खेतका विभिन्न स्थानमा कृषकहरुले पर्याप्त फूलखेती गरेर फूल उत्पादन गरेको हुँदा स्थानीयस्तरकै फूल खरिद गर्नको लागि उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

सुर्खेत जिल्लामा मात्र नभएर यो वर्ष सुर्खेतबाट उत्पादन भएको फूलले छिमेकी जिल्लाको माग पनि पूरा गरेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

विगतका वर्षहरुमा बाहिरबाट फूलहरु आयात गर्ने गरिएको भएपछि यो वर्ष कर्णाली प्रदेशको राजधानी सुर्खेतमै पर्याप्त मात्रामा फूलहरु उत्पादन गरिएको छ । उत्पादन गरिएको फूल बजारमा पनि पठाइसकिएको छ ।

पुष्प व्यवसायी संघ सुर्खेतका अध्यक्ष हिरा मगरले यो वर्ष सुर्खेतमा ४ सय क्विन्टलभन्दा बढी फूलहरु उत्पादन भएको छ । उनले भने, ‘ जिल्लाभरका किसानहरुसँग अहिले ४ सय क्विन्टल फूलहरु उत्पादन भएको रेकर्ड छ । हामीले प्रति माला र प्रतिकिलोको दरमा खुद्रा तथा होलसेलमा व्यापार गर्नको लागि मूल्य निर्भारण गरेका छौं ।’ उनका अनुसार एक किलो फूल किन्नेका लागि ४ सय रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ । सुर्खेतभित्र होलसेलमा फूल खरिद गर्नेका हकमा ३ सय रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

सुर्खेत बाहिरको हकमा साढे २ सय रुपैयाँ प्रतिकेजी तोकिएको छ । ढुवानीमा फूलहरु नष्ट हुन सक्ने भएकोले बाहिर जिल्लामा कम मूल्य तोकिएको उनले बताए ।

यस्तै प्रतिमालाको १ सय ५० देखि २ सयसम्म तोकिएको छ । १ हजार माला लिएको खण्डमा प्रतिमाला १ सय रुयैयाँ तोकिएको उनले बताए । पुष्प व्यवसायी संघ सुर्खेतमा अहिले ३० जना फूल व्यवसायीहरुको आबद्धता रहेको छ । संघमा आबद्ध नभएका अन्य केहीले पनि फूलखेती गरेको बुझिएको अध्यक्ष मगर बताउँछन् ।

प्रकाशित : कार्तिक २६, २०८० १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?