कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एआईको प्रयोगमा लेखकहरू निर्णायक हुने सहमतिसँगै टुंगियो हलिउड हड्ताल

एजेन्सी

काठमाडौँ — च्याटजीपीटीजस्ता जेनेरेटिभ आर्टिफिसयल इन्टेलिजेन्स टुलहरूले आफ्ना लेख, रचना, स्क्रिप्ट आदि अनुमति बेगर प्रयोग गर्नुका साथै एआईमार्फत कलाकारका आवाज एवम् हुलिया बनाएर व्यवसाय गरेको लगायत विविध विषयमा हलिउडकर्मीले विरोध गर्दै आएका थिए । लेखक तथा कलाकारहरूको युनियन र हलिउडका स्टुडियोबीच एआईको सुरक्षित र अनुमतिसहितको प्रयोगका विषयमा सहमति भएसँगै पाँच महिना लामो हड्ताल हाल अन्त्य भएको छ ।

एआईको प्रयोगमा लेखकहरू निर्णायक हुने सहमतिसँगै टुंगियो हलिउड हड्ताल

आफ्ना स्क्रिप्टमा एआई प्रयोग गर्ने/नगर्ने विषय अब लेखकहरूले तय गर्ने भएका छन् । फिल्म निर्माण कम्पनीहरूले यसको प्रयोग अनिवार्य गर्न पाउने छैनन् । फिल्ममा समावेश हुने कुनै पनि सामग्री एआईद्वारा सिर्जना गरिएमा त्यसबारे स्टुडियोले लेखकहरूलाई अग्रिम जानकारी दिनुपर्ने सम्झौता भएको छ । वाल स्ट्रिट जर्नलका अनुसार एआईको सहायताले कुनै आईडिया वा कन्टेन्ट निर्माण गरिएको भए पनि त्यसको जस लेखकले नै पाउने तय भएको छ । एआईले बनाएका कन्टेन्टलाई प्रतिलिपि अधिकार प्राप्त नहुने भनिएको छ ।

यसका साथै, स्टुडियोहरूले नियुक्त गर्नैपर्ने लेखकहरूको न्यूनतम संख्या तोकिएको छ । स्टुडियोहरूले एआईको प्रयोग बढाएर लेखकहरूको संख्या घटाउने मात्र होइन, उनीहरूको कार्यकक्षसमेत सानो बनाउन थालेपछि संख्या तोक्ने समहति भएको हो । पछिल्लो समय आक्रामक रूपमा बढेका एआई प्लाटफर्महरूले स्क्रिप्ट लेखिदिने, स्वरांकन गरिदिने, चलचित्र सम्पादन र मिश्रण गरिदिने मात्रै नभएर जीवित र स्वर्गीय अभिनेताहरूलाई पर्दामा उभ्याइदिनेसम्मका काम गर्न थालेपछि हलिउडकर्मीहरूले यसको विरोध गरेका थिए ।

नेटफ्लिक्स, वाल्ट डिज्नी, वार्नर ब्रोज डिस्कभेरीजस्ता प्रमुख हलिउड स्टुडियोहरूले फिल्म निर्माणका क्रममा हुने एआईको प्रयोगबारे छलफल गर्न कम्तिमा वर्षको दुई पटक अमेरिकी लेखकहरूको युनियनसँग बैठक गर्ने सहमति भएको छ । स्टुडियोहरूले एआई प्रयोग गर्नै नहुने भन्ने नभए पनि लेखकहरूको अनुमतिबेगर प्रयोग भएमा वा अनुमतिबेगर एआई टुलहरूको प्रशिक्षणमा उनीहरूका कथा, स्क्रिप्ट आदि प्रयोग भएमा लेखकहरूले कानुनी कदम चाल्न सक्ने विशेषाधिकार प्राप्त गर्ने निश्चित भएको छ ।

प्रकाशित : आश्विन १०, २०८० १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?