कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

‘नवीकरणीय ऊर्जामा नेपालका अभियानसँग हाम्रा पहल मिल्दाजुल्दा छन्’

सजना बराल, कमल धिताल

काठमाडौँ — सन् १९४५ मा स्थापित टाटा मोटर्सका गाडीको उपस्थिति नेपालका सडकमा राम्रो छ । ‘कमर्सियल’ र ‘प्राइभेट भेहिकल’ उत्पादन तथा बिक्रीवितरण गर्दै आएको कम्पनीले नेपालमा बिक्रीका लागि ४१ वर्षअघि सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको थियो ।

‘नवीकरणीय ऊर्जामा नेपालका अभियानसँग हाम्रा पहल मिल्दाजुल्दा छन्’

पछिल्लो समय विद्युतीय सवारीसाधन ल्याउने होडबाजी चलिरहेकामा टाटा पनि यसको प्रतिस्पर्धामा देखिन्छ । टाटाले हालै सार्वजनिक गरेको सवारीसाधनबारे जानकारी दिन र बजार बुझ्न नेपाल आएका टाटा मोटर्सका अन्तर्राष्ट्रिय बिजनेस प्रमुख अनुराग मेहरोत्रासँग कान्तिपुरका लागि सजना बरालकमल धितालले गरेको कुराकानीको सम्पादित अंश :

कमर्सियल भेहिकल उद्योगको क्षेत्रमा टाटा मोटर्सले नवीनतम प्रयोग र प्रयास गर्दै आएको छ, अहिले तपाईंहरूले टाटा एस नामक विद्युतीय कमर्सियल गाडी बजारमा ल्याउनुभएको छ, यसबारे थोरै बताइदिनुहोस् न, यसले नेपालको बजारमा कस्तो प्रभाव पार्छ ?

हामीले हालै मात्र नेपालमा विद्युतीय गाडी (ईभी) एस सार्वजनिक गर्‍यौं । यसमा निकै विकसित र इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टम जडान गरिएको छ । सबै ‘ड्राइभट्रेन कम्पोनेन्ट’ आईपी ६७ प्रमाणित छन् । आईपी ६७ भनेको सुरक्षाको गोल्ड स्ट्यान्डर्ड हो । ब्याट्री वा अन्य पार्टपुर्जा धूलो र ढुंगाबाट सुरक्षित रहन्छन् । यसको रेन्ज १५४ किलोमिटर छ । औसत लास्ट माइल डेलिभरीभन्दा यो उल्लेख्य रूपमा धेरै हो । ई–कमर्स व्यवसायी, कार्गो तथा कुरियर कम्पनी, टेलिकम र इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनी र फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) डेलिभरी गर्नेहरूलाई यो ईभी उपयुक्त हुन्छ ।

शतप्रतिशत नवीकरणीय ऊर्जाको प्रयोग र प्रवर्द्धनका विषयमा नेपाल उदाहरणीय देश हो । कोप–२६ मा हस्ताक्षर गर्नेदेखि नेपालले सन् २०४५ सम्ममा कार्बन न्युट्रल बन्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका पहलसँग हाम्रो कम्पनीका पहल धेरै हिसाबले मिल्दाजुल्दा छन् । हामीले पनि सन् २०४५ सम्ममा नेट जिरो ग्रिन हाउस ग्यास इमिसनको लक्ष्य पूरा गर्ने घोषणा गरेका छौं । यसकारण हामीले हाम्रो पहिलो कमर्सियल ईभी भेहिकल एसलाई भारतबाहिरको पहिलो देशका रूपमा नेपालमा सार्वजनिक गरेका हौं । नेट जिरोको गन्तव्यमा पुग्न हामीले हाम्रा ग्राहकलाई पनि हामीसँगै डोर्‍याउनुपर्ने जिम्मेवारी छ ।

टाटा एस ईभीले कार्बन उत्सर्जन घटाउन सहयोग नै गर्छ भनेर कसरी भन्न सकिन्छ ?

यो ईभी मूलतः तीन पिलरमा तयार भएको छ— ग्रिनर, सेफर एन्ड स्मार्टर । कुनै पनि ग्राहकका लागि हामीले विकास गर्ने कुनै पनि ‘सलुसन’ यिनै तीन कुरामा आधारित हुन्छन् । यी दिगो त हुनैपर्छ । तर व्यावसायिक रूपमा चल्ने (कमर्सियल्ली भायबल) पनि हुनुपर्छ । प्यासेन्जर भेहिकलको तुलनामा कमर्सियल भेहिकल किन्दा ध्यान दिइने कुरा भनेको कमर्सियल भायबिलिटी हो । कमर्सियल्ली भायबेल भएन भने जतिसुकै ग्रिन वा स्मार्ट भए पनि किन्नेले किन्दैनन् ।

यो विद्युतीय भएकाले टेलपाइप कार्बन इमिसनको समस्यै हुने भएन । कोइलामा आधारित ऊर्जा उत्पादन गर्ने अन्य देशको तुलनामा नेपाल शतप्रतिशत नवीकरणीय ऊर्जामा चलेको छ । यसले सम्पूर्ण भ्यालु चेनलाई नै ग्रिन बनाइदिएको छ । यस कारण हाम्रो प्रोडक्टलाई भारतबाहिर सबैभन्दा पहिला कहाँ लग्ने भनेर सोच्दा नेपाल हाम्रो पहिलो रोजाइ बन्यो ।

यसको लोड क्षमता कति हो ?

६ हजार केजी हो । नेपालमा सवारी गुड्ने औसत समय बिहान ७ देखि साँझ ७ बजेसम्म हो । त्यो भनेको १२ घण्टा । दिनमा ८० किलोमिटरदेखि १ सय किलोमिटर क्द्नुे रहेछन्, जुन हाम्रो ईभीको लोअर रेन्ज क्यापासिटीभन्दा कम हो । एक पटक चार्ज गरेपछि तपाईंले दिनभरको काम मज्जाले भ्याउनुहुन्छ । राती स्लो चार्ज वा फास्ट चार्जमा राखे भयो । स्लो चार्ज गर्दा ब्याट्री फुल हुन करिब ६ घण्टा र फास्ट चार्ज गर्दा ९० देखि १०० मिनेटमै फुल हुन्छ ।

भारतका लागि बनाइएको एस ईभी र नेपालका लागि बनाइएको एस ईभीको लोअर बडी फरक छ । नेपालको नीति र भूगोल सुहाउँदो बनाएका छौं । यो गाडी किन्दा ६ वर्षको वारेन्टी पाइन्छ । यो फिल्टसहित आउने भएकाले ग्राहकलाई यसको व्यवस्थापन गर्न झन्झट हुँदैन । कुनै पनि उत्पादनका लागि ग्राहकको मनको शान्ति धेरै महत्त्वपूर्ण हुन्छ । ब्याट्री वारेन्टी ६ वर्ष वा १ लाख ६० हजार किमिमध्ये जुन पहिले आउँछ, त्यसको सुनिश्चितता गर्छौं । दोस्रो कुरा, हाम्रो यस फिल्टर भेहिकलमा टेलिमेटिक्स सिस्टम जडान गरिएको छ । चौबिसै घण्टा सञ्चालनमा रहने डेडिकेटेड सेन्टरमा बसेर आफ्ना सवारी साधनहरूको गतिविधि हेर्न र त्यसको विवरण प्राप्त गर्न सकिन्छ । गाडीमा कुनै गडबडी भए तुरुन्तै यसलाई नियाल्न र मर्मत गर्न सकिन्छ, ता कि तोकिएकै समयमा सामान डेलिभरी गर्न सकियोस् । यो जति गुड्यो, उति व्यवसाय प्रभावकारी हुने हो । ग्राहकसँगको सहकार्य के हो भन्ने कुरामा टाटा मोटर्सभित्र सिप्रदीले उदाहरणीय काम गरेको छ । हाम्रो व्यवसायमा आफ्टर सेल्स सपोर्टको ठूलो अर्थ हुन्छ, यसमा सिप्रदीले प्रेरणादायी काम गरेको छ ।

टाटा मोटर्सले विभिन्न देशमा अटो उत्पादन र वाहन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ, नेपालमा पनि एसेम्ब्ली प्लान्ट स्थापना गर्ने विचार छ ?

भारतबाहिर बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, केन्या, नाइजेरिया, भियतनाम र मलेसियामा गरी ११ वटा हाम्रा एसेम्ब्ली प्लान्ट छन् । कुनै पनि ठाउँमा एसेम्बल प्लान्ट खोल्नुअघि त्यहाँको व्यावसायिक अवस्था हेर्नुपर्ने हुन्छ । व्यवसाय गर्दा राम्रो हुने देखियो भने हामी पक्कै प्लान्ट स्थापना गरिहाल्छौं । नेपालमा प्लान्ट खोल्यौं भने एउटा कुराचाहिँ पक्का छ, हामी सिप्रदीसँगै मिलेर काम गर्छौं । निकट भविष्यमै कारखाना खोल्ने भन्नेबारे अहिले नै केही भन्न सक्दिनँ ।

टाटा मोटर्स रोज्ने प्रवृत्ति नेपाल र दक्षिण एसियाली देशमा कस्तो छ ? विद्युतीय र पेट्रोलियम दुवै प्रकारका सवारीको प्रवर्द्धनका लागि यहाँहरूको के योजना छ ?

नेपालमा हामी ईभी व्यवसायमा भएको तीन वर्ष भयो । यस अवधिमा ईभीको पेनिट्रेसन दर करिब ८० प्रतिशतले बढेको छ । प्यासेन्जर भेहिकलमा देखिएको यत्तिको ठूलो आकर्षणले कमर्सियल भेहिकलप्रति पनि चासो बढ्ने पक्का छ । मर्मत खर्च कम हुने, इन्धन खर्च जोगिने कारणले मान्छेहरू ईभीतिर लागेका छन् । ईभीको अपरेटिङ इकोनमिक्स लो हुने भएकाले कमर्सियल भेहिकल रोज्ने क्रम प्यासेन्जरको भन्दा छिटो हुने मैले ठानेको छु । हामीले अनुभव गरेका दुइटा मात्रै समस्या भनेको रेन्ज र पर्फर्मेन्स एन्जाइटी थियो । तर प्यासेन्जर भेहिकलको अनुभवले ईभीप्रतिका ती संशय हटाइसकेको छ । कुनै पनि भूगोलमा समस्या नहुने देखिएपछि ईभी रोज्ने क्रम निकै बढेको छ । अहिले त चार्जिङ सुविधा पनि बढिरहेका छन् । प्यासेन्जर र कमर्सियल दुवै प्रकारका ईभीको बजार नेपालमा बढ्ने निश्चित छ ।

नेपालमा ब्याट्री मर्मत केन्द्र बनाउनेबारे हामीले अध्ययन र लगानी गर्ने सोचिरहेका छौं । ब्याट्री बिग्रियो भन्दैमा नयाँ फेर्नुपर्छ भन्ने छैन । निकै थोरै पैसामा त्यसलाई मर्मत गर्न सकिन्छ । नेपालका ईभी विक्रेताहरूले यहाँका बिमा कम्पनीसँग साझेदारी गरेर विद्युतीय सवारीको नयाँ बिमा नीति ल्याउने तयारी गरेका छन् । ‘अटो प्लस’ नामक नयाँ नीतिका लागि पहल भएको छ । यसअघि ब्याट्री बिमा कम्पनीबाट ५० प्रतिशत मात्रै भुक्तानी हुन्थ्यो । तर अब यो अटो प्लसमा तिनीहरूले ईभीको सबैभन्दा महत्त्वपूर्ण कम्पोनेन्ट, ब्याट्रीमा शतप्रतिशत परिपूर्ति गर्नेछन् । दुर्घटनालगायत कारणले अन्य पार्टपुर्जा टुटफुट भए पनि बिमाले नै मर्मत–कभर गर्नेछ । यो भनेको शून्य मूल्यह्रास (जिरो डेप्रिसिएसन) हो, उपभोक्ताले कुनै मूल्य चुकाउनु पर्दैन ।

पहिला–पहिला टाटाका सवारी सडकमा जताततै देखिन्थे, बीचमा केही कम भएको देखियो, अहिले टाटाले पुनरागमन गर्न खोजेको आभास हुन्छ, तपाईंको आफ्नो बजार विश्लेषणचाहिँ कस्तो छ ?

व्यावसायिक सवारीसाधन उद्योग रूपान्तरण भइरहेको हामी सबैलाई थाहा छ । हामी सन् १९८२ मा नेपाल आएका थियौं । अहिले ४१ वर्ष भइसक्यो, ४१ वर्षमा नेपालको सवारीसाधनमा आएका सबै प्रकारका उतारचढाव देखेका छौं । जीवनमा आउने उतारचढाव जस्तै व्यापारमा पनि उतारचढाव हुन्छन् । हामीमा पनि उतारचढाव नआउने कुरै भएन । सिप्रदीका ग्राहकले के–कस्ता सवारीसाधन प्रयोग गर्छन् र त्यसलाई टाटाले कसरी उनीहरूको चाहना पूरा गर्छ भन्ने यो ४१ वर्षको दौरानमा देख्न सक्नुहुन्छ ।

ग्राहकले के चाहन्छन् भन्ने तपाईंहरू कसरी थाहा पाउनुहुन्छ ?

ग्राहकले के चाहन्छन् भनी बुझ्न सबैभन्दा धेरै ग्राहकसँग समय बिताउनुपर्छ । ग्राहकलाई लगातार मेरो सामान यस्तो छ र उस्तो छ भन्ने होइन । गाडी किन्न आएका ग्राहक के चाहन्छन् भन्ने कुरा उनीहरूबाटै थाहा हुन्छ । धेरैभन्दा धेरै ग्राहकका कुरा सुनेपछि सोहीअनुसारको गाडी तयार पार्दा यसप्रति मानिस आकर्षित हुन्छन् । म आफैं पनि ग्राहकहरूसँग बसेर उनीहरूको व्यवसायबारे कुरा गर्छु, सिमेन्ट उद्योगमा के भइरहेको छ, पूर्वाधार उद्योगमा के भइरहेको छ, ई–कमर्समा के भइरहेको छ । अनि अबको बजार कहाँ जान्छ भन्ने कुरा थाहा पाउँछौं । आज बजारमा दिगोपनतर्फ ठूलो परिवर्तन भएको छ । जलवायुको परिवर्तनका लागि सबै सजग भएका छन् । ई–कमर्समार्फत बजार डिजिटाइजेसन हुँदै छ । मानिसले घरबाटै सामान किनिरहेका छन् । यसकारण ग्राहकको चाहना थाहा पाउन हामीले धेरैभन्दा धेरै उनीहरूको कुरा सुन्नुपर्छ/सुन्ने गरेका छौं ।

नेपालको अटोमोबाइल क्षेत्र अन्य देशको तुलनामा कस्तो पाउनुभएको छ ?

प्रत्येक देश फरक–फरक छन् । कुनै पनि देशको परिस्थिति र बजार फरक–फरक हुन्छ । तपार्इं भियतनाम वा नेपाललाई हेर्नुभयो भने, प्रत्येकको बजारबारे आ–आफ्नै प्रकारको क्षमता देख्नुहुन्छ । नेपालमा बिक्रीपछिको वितरण गर्ने तरिकाजस्ता साधारण कुरा तपाईंले देखाउनु हुने मनोवृत्ति, हाम्रो टोलीले गर्ने पहल, उनीहरूको काम गर्ने तरिकामा अत्यन्तै सक्रिय छन् । नेपालमा ग्राहकसँगको सम्बन्ध अन्य दक्षिण एसियाली देशहरूभन्दा धेरै गहिरो छ । नेपालको सन्दर्भमा मैले कुनै पनि कुरामा लगाव भएपछि त्यसमा तल्लीन हुने देखेको छु । विद्युतीय गाडीमा पनि यहाँका मानिसमा त्यो हुटहुटी देखिन्छ । नयाँ टेक्नोलोजीलाई चाँडै स्वीकार गर्ने यहाँको परम्परा देखिन्छ ।

विद्युतीय सवारीसाधनमा अबको भविष्य के हुन्छ ?

विद्युतीय सवारीसाधनमा हालको प्रविधि निकै उच्च हुँदै जानेछ । भविष्यमा झन्–झन् नयाँ र प्रविधि भित्रिनेछन् । टेलिमेटिक्सजडित सवारीसाधन आउँदै छन् । यस्ता सवारीसाधन डिजिटल इकोसिस्टममा आउने अर्को परिवर्तनका सूचक हुन् । सुरुमा विद्युतीकरण र त्यसपछि टेलिमेटिक्स जडित सवारीसाधनले बजार ओगट्नेछन् । यस्तो अवस्थाका लागि नेपाली व्यवसायीले पनि आफूलाई तयार राख्नुपर्छ । यसले वास्तवमै बजार रूपान्तरण गर्नेवाला छ । सवारीसाधन अब पांग्रामा उत्पादन हुने छैनन् । यो कार अन ह्विल वा ट्रक अन ह्विल होइन, यो पांग्रामा सफ्टवेयर हुन्छ । तपाईं गाडीमा के भइरहेको छ, जहाँसुकैबाट हेर्न सक्नुहुन्छ । गाडीलाई जहाँसुकैबाट स्वीच अन गर्न सक्नुहुन्छ, बन्द गर्न पनि सक्नुहुन्छ । तपाईंको बच्चा कारमा छ भने चालकले तिनीहरूलाई स्कुल लैजाँदै छन् या अरू कहाँ लैजान्छन्, जहाँसुकैबाट हेर्न सक्नुहुन्छ । आगामी गाडीमा यस्ता धेरै विषय परिवर्तन हुँदै जानेछन् ।

प्रकाशित : आश्विन ८, २०८० १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?