कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चेम्बरले माग्यो कृषि उपकरण आयातमा पूर्ण छुट

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटमा सरकारले कृषि उपकरण आयातमा पूर्ण छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ । बाँझो जमिन सदुपयोग नीति बनाएर बजेटमा विशेष व्यवस्था गर्नसमेत उसको आग्रह छ । ‘बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रिकीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाइनुपर्छ,’ चेम्बर अफ कमर्सका प्रतिनिधिले अर्थमन्त्री प्रकाशशरण महतलाई शुक्रबार भेटेर दिएको सुझावमा भनिएको छ ।

चेम्बरले माग्यो कृषि उपकरण आयातमा पूर्ण छुट

आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउनसमेत चेम्बरले आग्रह गरेको छ । बजेट यथार्थपरक र कार्यान्वयनयोग्य तथा चुस्तदुरुस्त हुनुपर्ने चेम्बरको भनाइ छ । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्न बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग छ । ‘गम्भीर आर्थिक शिथिलताले धराशायी हुने संघारमा पुगेका उद्यमी व्यवसायीलाई आवश्यक नीतिगत संरक्षण एवं सहुलियत प्रदान गर्ने गरी बजेट तर्जुमा गरिनुपर्छ,’ सुझावमा भनिएको छ ।

विकास बजेटलाई तालिकाअनुसार कार्ययोजना बनाएर खर्च गर्न चेम्बर अध्यक्ष राजेन्द्र मल्लको माग छ । ‘विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजीकरण गरेको छ । नियन्त्रणमुखी आर्थिक नीतिहरूको नकारात्मक प्रभावले पनि आर्थिक शिथिलता उत्पन्न गरेको छ,’ सुझावमा भनिएको छ, ‘अबको बजेट उत्पादनमा केन्द्रित गर्नुपर्छ ।’

चेम्बरले करको दायरा बढाउनसमेत अर्थमन्त्री महतलाई सुझाएको छ । लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेकाले करको दायरा वृद्धि गर्नुपर्ने मल्लको भनाइ छ । नागरिकता वितरण गर्दा सँगै पानकार्ड पनि दिने व्यवस्था गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने र सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनु उपयुक्त हुने उनले बताए । भन्सार नाकाहरूमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याब राख्नसमेत चेम्बरले सुझाएको छ ।

प्रकाशित : वैशाख ३०, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?