कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूधमा किसानको मूल्य ९ रुपैयाँ बढ्दा उपभोक्तालाई १६ रुपैयाँ भार

किसानले पाउने मूल्य तोकेर खुद्रा मूल्य बढाउने अधिकार उद्योगीलाई दिइँदा अचाक्ली मूल्यवृद्धि

काठमाडौँ — सरकारले किसानले पाउने दूधको मूल्यमा प्रतिलिटर ८ रुपैयाँ ८६ पैसा बढाउँदा उपभोक्ता मूल्य प्रतिलिटर १६ रुपैयाँसम्म वृद्धि भएको छ ।फागुन १९ मा बसेको मन्त्रिपरिषद् बैठकले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा मूल्य बढाउने निर्णय गरेपछि डेरीहरूले खुद्रा मूल्य आफूखुसी वृद्धि गरेका हुन् ।

दूधमा किसानको मूल्य ९ रुपैयाँ बढ्दा उपभोक्तालाई १६ रुपैयाँ भार

किसानले पाउने मूल्य तोकेर खुद्रा मूल्य बढाउन उद्योगीलाई नै अधिकार दिँदा उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् । निजी डेरीहरूले फागुन २६ देखि नै स्ट्यान्डर्ड दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाएका छन् ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले पनि स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ । डीडीसीले चैत १ देखि किसानको मूल्य लागू गरेको जनाउँदै उपभोक्ता मूल्य चैत २ देखि बढाउने निर्णय गरेको हो । दूधको प्याकेटअनुसार प्रतिलिटर ११ देखि १६ रुपैयाँसम्म बढाउने निर्णय भएको डीडीसीका महाप्रबन्धक सञ्जीव झाले जनाए । ‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लिखित रूपमा दिएको निर्णयका आधारमा बिहीबारदेखि मूल्य बढाउने निर्णय गरेका हौं,’ झाले भने । स्ट्यान्डर्ड दूध (नीलो प्याकेट) को मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य ९७ रुपैयाँ पुगेको डीडीसीको भनाइ छ ।

‘४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफका आधारमा उपभोक्ता मूल्य प्रतिलिटर ९७ रुपैयाँ पर्छ,’ झाले भने । डीडीसीले सबैभन्दा बढी स्ट्यान्डर्ड दूध बिक्री गर्दै आएको छ । उपत्यकामा मात्रै प्रतिदिन ५० हजारदेखि ५५ हजार लिटर बिक्री हुने गरेको उनले बताए । मुलुकभर भने दिनको ७० हजार लिटरभन्दा बढी बिक्री हुने झाले जनाए । टी मिल्कको मूल्य भने प्रतिलिटर १० रुपैयाँ बढाएर ९० रुपैयाँ निर्धारण गरिएको छ । यो १.५ प्रतिशत फ्याट र ९.५ प्रतिशत एसएनएफ गुणस्तरको दूध हो ।

डीडीसीले काउ मिल्कको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर १ सय १६ रुपैयाँ निर्धारण गरेको छ । काउ मिल्कमा ३.५ प्रतिशत फ्याट र ७.८ प्रतिशत एसएनएफ हुन्छ । फुलक्रिम मिल्कको मूल्य भने प्रतिलिटर १६ रुपैयाँसम्म बढेको छ । यो प्रतिलिटर १ सय ३० रुपैयाँ पर्ने झाले बताए । फुलक्रिम मिल्कमा ५ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ हुन्छ । ‘सबैभन्दा बढी बिक्री हुने स्ट्यान्डर्ड दूध हो, यसको मूल्य प्रतिलिटर ११ रुपैयाँ मात्रै बढेको छ । अन्य दूधको खपत भने त्यति हुँदैन,’ झाले भने ।

०७८ माघ २८ मा कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढेपछि डीडीसीले फ्याटका आधारमा स्ट्यान्डर्ड दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ, टी–मिल्कमा १० रुपैयाँ, काउ–मिल्कमा १२ र फुलक्रिम मिल्कमा १४ रुपैयाँसम्म बढाएको थियो । निजी डेरीले पनि सोहीअनुसार मूल्यवृद्धि गरेका थिए । एक वर्षपछि फेरि मूल्यवृद्धि गरिएको हो । राष्ट्रिय दुग्ध विकास नीति ०७८ अनुसार वार्षिक मूल्यवृद्धि एवं उत्पादन लागतका आधारमा दूधको मूल्यलाई हरेक दुई वर्षमा पुनरावलोकन गर्न सकिन्छ । त्यसका लागि दुग्ध विकास बोर्डको अध्ययन प्रतिवेदनका आधारमा पुनरावलोकलन गर्ने व्यवस्था छ । तर बोर्डले आफ्नै नीतिविपरीत एकै वर्षमा मूल्यवृद्धिको प्रस्ताव गरेको थियो । सोही आधारमा कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेर मूल्यवृद्धि गरिएको हो ।

दूधको मूल्यसँगै यसबाट उत्पादन हुने दही, पनिर, आइसक्रिमलगायतको भाउ पनि बढेको छ । त्यसको प्रत्यक्ष भार उपभोक्तालाई नै परेको छ । ‘दूधको मूल्य बढ्दा अन्यको पनि बढ्नु स्वाभाविकै हो । तर कति बढ्ने भन्ने विषयमा विश्लेषण भइरहेको छ,’ झाले भने ।

निजी डेरीहरूले भने दूधबाट उत्पादन हुने अन्य पदार्थको मूल्य बढाइसकेका छन् । सादा दही प्रतिलिटर २५, बट्टा दही प्रतिलिटर ३० र गुलियो दही खुलामा ३० रुपैयाँ बढेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जनाए । एक किलो पनिरमा २ सय रुपैयाँसम्म मूल्यवृद्धि भएको उनको भनाइ छ । ‘दूधको मूल्य बढ्दा यसबाट बन्ने परिकारको भाउ बढिहाल्छ, प्रतिलिटर १ सय २५ रुपैयाँ पर्ने सादा दहीको मूल्य १ सय ५०, १ सय ७० रुपैयाँ पर्ने बट्टा दही २ सय रुपैयाँ र किलोको ७ सय ५० रुपैयाँ पर्ने पनिरको मूल्य ९ सय ५० रुपैयाँ पुगेको छ,’ उनले भने, ‘अन्य उत्पादनको पनि सोही अनुपातमा मूल्यवृद्धि भएको छ ।’

प्रकाशित : चैत्र ३, २०७९ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?