सेयर परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबारमा उच्च गिरावट

काठमाडौँ — बिहीबार सेयर कारोबार रकममा भारी गिरावट आएको छ । हिजो ३ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएकोमा आज २ अर्ब ६ करोडमा खुम्चियो । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमाथि समीक्षा सार्वजनिक गर्ने भएकाले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा कारोबारमा कमी देखिएको हो ।

कारोबार रकममा भारी गिरावट आएपनि परिसूचक नेप्से भने दोहोरो अंकले बढेको छ । १२.४३ अंकले बढेर नेप्से २१८२ अंकमा कायम भएको छ । १ बजेतिर नेप्से २१५३ अंकसम्म झरेकोमा त्यसपछि सम्हालियो । कुल १५२ कम्पनीको मूल्य बढ्दा ५८ को घट्यो भने ६ को स्थिर रहृयो । बैंकिङ ४, विकास बैंक ५६, फाइनान्स १७, होटल तथा पर्यटन १९, जलविद्युत् २७, जीवन बीमा ९०, उत्पादन ३४, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ५१, अन्य १४ र ब्यापार उपसमूह ६ अंक बढे ।
बाराही हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । विजय लघुवित्त, जोशी हाइड्रो, न्यादी हाइड्रो, इस्टर्न हाइड्रो र प्राइम लाइफको मूल्य ५ देखि ५.९ प्रतिशतसम्म बढ्यो । गुरास लघुवित्तको मूल्य ४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा अपी पावर, नबिल बैंक, ङादी ग्रुप, स्टान्डर्ड चार्टड र रिडी पावर क्रमशः अगाडि रहे ।