कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मानसिक स्वास्थ्य र योग

भारतको कर्नाटकमा राष्ट्रिय मानसिक स्वास्थ्य र स्नायु विज्ञान संस्थान छ । यहाँ मानसिक रोग विज्ञहरूको उच्च स्तरको पढाइ पनि हुन्छ । सन् १९७० मा खुलेको यो संस्थानमा आयुर्वेद अध्ययनका साथै योगासनले मानसिक बिरामीलाई कसरी फाइदा गर्छ भनेर पनि अनुसन्धान सुरु भएको छ ।

मानसिक स्वास्थ्य र योग

अध्ययनले देखायो– निराशापन (डिप्रेसन) का बिरामीलाई औषधि र परामर्शका साथै योगासनले धेरै सहज भयो । प्रोफेसर मुरलीधरन केसवनले अध्ययनको नेतृत्व लिएका थिए । ७० जना बिरामीलाई साढे ३ वर्षसम्म अध्ययनमा सहभागी गराइएको थियो । अध्ययनमा बिरामीको अनुभवका साथै मस्तिष्कको विभिन्न भागको पनि आधुनिक तरिकाको जाँच गरिएको थियो । योगासान गरेपछि मस्तिष्कबाट निस्कने त्यस्तो रसायन बढी पाइयो, जुन कम हुँदा निराशा उत्पन्न हुने गर्छ ।

व्यायाम गर्दा, हिँड्दा, पौडी खेल्दा विशेष प्रकारका हर्मोन ‘इन्ड्रोफिन’ निस्कन्छ । यो रसायनको प्रभावले तनाव कम हुन्छ, सहज र स्वस्थ महसुस हुन्छ । पहिले पहिले योग र व्यायामले मानसिक रोगको उपचारमा मद्दत गर्छ भन्दा उडाइन्थ्यो । अहिले विभिन्न मानसिक रोगमा यिनको भूमिकाबारे वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेका छन् । तर यस्तो प्रयोग आफैंले घरमा गर्न हुँदैन, विज्ञको सल्लाह लिनुपर्छ ।

अत्याधुनिक मेसिन प्रयोग गरेर योगासन गर्ने व्यक्तिको मस्तिष्क अध्ययन गर्दा अस्वस्थ कोषहरूमा बिस्तारै सुधार भएको देखियो । अध्ययनले योगासान गर्नेहरूको मस्तिष्क सक्रिय र स्वस्थ रहने पुष्टि गरेको छ । ‘वृद्धावस्था र मानसिक स्वास्थ्य’ नामक पत्रिकामा विभिन्न किसिमको ध्यानले तनाव घटाएको साथै ज्येष्ठ नागरिकको डिप्रेसन, आत्तिने समस्या कम भएको उल्लेख गरेको छ । मसाज, संगीत आदिले पनि सहयोग पुर्‍याउने निष्कर्ष छ । योगासनले खुसी हुने हर्मोन मस्तिष्कमा पैदा गर्छ । जस्तोः डोपामिन, सेराटोनिन आदि । यस्ता रसायनको कमीले डिप्रेसन हुन सक्ने सम्भावना हुन्छ । योगासन गर्दा व्यायाम जस्तो छिटोछिटो गरिन्न तर पनि यसले मुटुको धड्कन बढाउन र मस्तिष्कलाई सक्रिय बनाउन भूमिका खेल्छ ।

अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार दैनिक योगासन गर्नेमध्ये ८६ प्रतिशतले योगासनले तनाव कम गर्न मद्दत गरेको बताएका थिए । योगासनले निद्राको समस्या घटाउँछ । योग शारीरिक सक्रियताका लागि मात्र नभएर सबै उमेर समूहका लागि गतिशीलता, सन्तुलन, बोध, अनुभूति, निद्रा, जीवनको गुणात्मकता, व्यक्तिपरक स्वस्थता अनि मनोवैज्ञानिक स्वास्थ्यका लागि समेत महत्त्वपूर्ण बन्ने अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन् ।

हाम्रो चिकित्सा विज्ञानमा शारीरिक गतिशीलतालाई नै स्वस्थ रहने आधार मान्ने गरिएको छ । विश्व स्वास्थ्य संगठनले सातामा दुईदेखि तीन दिन १५०–३०० मिनेटको गतिशील व्यायामको आवश्यकता रहेको देखाएको छ, ज्येष्ठ नागरिकहरूका लागि । शारीरिक सक्रियताका लागि, वृद्धवृद्धाका लागि योगाभ्यास जस्तो उपयोगी अरू के पो होला र ? हाम्रोजस्तो सनातन संस्कृतिमा भिजेका ज्येष्ठ नागरिकहरूले त सजिलैसँग योगाभ्यासमा दैनिकीलाई अभ्यस्त गराउन सक्छन् ।

मानसिक स्वास्थ्यसम्बन्धी केन्यामा एक अध्ययन गरिएको थियो । जसमा ६३२ जना सहभागी थिए । मानसिक समस्या भएका उनीहरूलाई योगासन गराउँदा व्यवहारमा परिवर्तन आई समस्या कम भएको अनुसन्धानमा पुष्टि भएको छ । समयसमयमा अति टाउको दुख्ने (माइग्रेन) समस्या पनि योगासनले घटाएको अनुसन्धानले देखाएका छन् । यसैगरी कलेजमा पढ्ने ६० विद्यार्थीलाई परीक्षा सुरु हुनुभन्दा १२ साताअघि योगासन गराइयो । त्यसपछि परीक्षाका बेला रगत जाँच गर्दा ‘कोर्टिजोल’ नामक रसायन शरीरमा कम भएको पाइयो । कोर्टिजोल बढी हुँदा तनाव पैदा हुन्छ । सन् २०२१ मा गरिएको एक अध्ययनमा ८४ जना निराशापन भएका मानिसमध्ये केहीलाई दस सातासम्म साताको दुईचोटि योगासन, औषधिका साथै परामर्श दिइयो । केहीलाई औषधिका साथै योगासन गर्न लगाइयो । परामर्श मात्र गरिएका बिरामीको तुलनामा योगासन गरेका व्यक्ति बढी स्वस्थ देखिए । यस्ता अनुसन्धानले नै पुष्टि गर्छन् कि योगासनले मानव मस्तिष्कमा स्वस्थ रहन भूमिका खेल्छ ।

प्रकाशित : चैत्र ६, २०८० ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×