कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

बैरंग भो सीमाञ्चल !

खुला सीमाको प्रयोग वारिपारिका बासिन्दाले मात्र गर्दैनन्, तर जो निकटमा बस्छन्, स्वभावतः तिनको सरोकार बढी हुन्छ । त्यहाँका नागरिकलाई आ–आफ्ना केन्द्रद्वारा ‘बैरंग चिठी’ जस्तो बनाइनु भएन ।
चन्द्रकिशोर

नेपाल–भारत सीमा वारिपारिका बासिन्दाहरू सीमामा भोग्नुपर्ने समस्याबारे औंलो ठड्याउनसमेत अप्ठ्यारो मान्न थालेका थिए । आखिर त्यही सीमावरिपरि बस्नु छ । पानीका सामान्य जन्तुले गोहीसँग जोरी नखोज्नु नै जाती हुने रहेछ । तर पानी नाकछेउ पुग्न थालेपछि कराउनुको विकल्प रहेन ।

बैरंग भो सीमाञ्चल !

विकल्प सायद सीमाञ्चलजनकै अग्रसरता हो । खुला सीमाले जनस्तरको सम्बन्ध एकदम नजिक तुल्याएको उनीहरूभन्दा अरू कसले मनैदेखि बुझेको होला ? त्यसैले उनीहरूले स्थानिक सम्बन्धबारे विमर्श गर्न थालेका छन् । राजविराज–कुनौली, वीरगन्ज–रक्सौल, नेपालगन्ज–रुपैडिहामा पारस्परिक संवाद सुरु भएको छ । सीमा वारिपारि बसोबास गर्नेहरू अति निकट छिमेकी हुन् । शताब्दियौंपूर्व यस्तो पनि थियो, यी क्षेत्रका बासिन्दाहरू एउटै राजनीतिक भूगोलमा थिए । राज्यका सीमाहरू हेरफेर भइरहे । सुगौली सन्धिले गरेको रेखांकन तथा त्यसको केही दशकपछि पश्चिम तराईका भूभागको प्राप्तिपश्चात् करीब यो सीमारेखा निश्चित भएको छ । र सो आधारमा तत्क्षेत्रका बासिन्दाहरूको सार्वभौमिकता परिभाषित हुन आएको छ । तर यो अकाट्य पक्ष हो, दुवैतिरका बासिन्दाहरूबीच धेरै प्राचीन र ऐतिहासिक सम्बन्ध छ । हो, त्यही आधारलाई पछ्याएर दशगजा छेउछाउमा पारस्परिक जनसंवाद सुरु भएको छ ।

बोर्डरमा आवागमन असहज हुन थालेपछि दुवैतिरका बसोवासीमा गहिरो चोट पुगेको छ । घाउ नै देखिएको छ । मल्हम लगाउने उपक्रम कतै देखिँदैन । सीमाञ्चलवासी आखिरमा सहोदर नागरिक हुन् । राजनीतिक पहिचान फेरिए पनि वारिपारि एकअर्काप्रति गहिरो आकर्षण छ । घाउ जो देखिएको छ वा घाउको तत्त्व जो देखिएको छ, त्यसको जरो सीमामा होइन, केन्द्रमा छ । सीमामा अलग प्रयोग गरेर आ–आफ्ना राजनीतिक स्वार्थ पूरा गर्ने खेल चल्दै छ । सीमाञ्चलको मनोवैज्ञानिक आवश्यकता काठमाडौं र दिल्लीले पूरा गरेका छैनन् । यस्तो अवस्थातर्फ संकेत गर्दै एक स्थानीय बासिन्दा भन्छन्, ‘बैरंग भो सीमाञ्चल ।’

निश्चय नै ‘सुरक्षा’ को जटिल बुझाइले सीमामा सुरक्षातन्त्रको उपस्थिति बाक्लिएको छ । यो व्यवस्था दिनानुदिन नयाँनयाँ प्रक्रियाहरूका कारण महिनैपिच्छे फेरिँदै गएको छ । जो हिजो थियो, त्यो आज छैन र आज जो छ, त्यो भोलि रहने छैन । तर अन्ततोगत्वा यसले कुन रूपमा स्थिरता पाउने हो, काठमाडौं र दिल्लीले खुलाएका छैनन् । यसबारे यी केन्द्रहरूबीच कुनै अघोषित समझदारी पनि भइसकेको हुन सक्छ । आधुनिक राज्य प्रणालीका लागि ‘सुरक्षा सरोकार’ यस्तो मिथकीय विश्वास हो जसको प्रयोग शासकले आफूखुसी गर्छन् । यहाँ दुइटै अवस्था छन्— एउटा, राम्रो पर्खालले एउटा राम्रो छिमेकी बनाउँछ भन्ने सोचका आधारमा सीमाको प्रबन्धीकरण गर्ने । अर्को, खुला सीमाजन्य सम्बन्धको मिथकीकरण । सोचजस्तो भए पनि त्यसले आखिर सीमाञ्चलजनलाई नै क्षति पुर्‍याइरहेको छ ।

आमजन नेपालका होऊन् वा भारतका, उनीहरू परेशान छन्, तंगीमा छन्, उनीहरूबीच वैरभाव छैन । उनीहरूका मनमा प्रेम यति गहिरो छ कि उनीहरूले सरहदको सीमालाई सधैं झूटो साबित गर्ने प्रयास गर्छन् । अनि पो स्थानिक संवादहरूमा संवेदनाहरू छचल्किएर आउँछन् । दुवैतिरका बासिन्दा सहज आवागमनका पक्षधर छन् । यस्तै जनाकांक्षाले साढे तीन दशकअघि पूर्वी र पश्चिमी जर्मनीमा बर्लिनको पर्खाल भत्काउन पुग्यो । यतिखेर दुइटै केन्द्रमा सुनिने आत्मसमीक्षाबिनाको गनगन सीमाञ्चलको भुइँयथार्थ होइन, त्यो त रणनीतिकारहरूद्वारा निर्मित कथ्य हो । तर स्थानिक स्तरमा जनसंवादको थालनीले दुवैतर्फ सम्बन्धको पुनर्ताजगीका लागि नागरिक पहलको औचित्य सिद्ध गरेको छ । यसलाई सम्वर्द्धित र विस्तारित गर्ने आवश्यकता दुवैतर्फले महसुस गरेका छन् । पूरै संवेदनशीलतासाथ वारिपारि जनसंवाद फैलिनुपर्छ ।

यस्ता संवादहरूमा आशंका, आक्रोश र निरीहता प्रस्तुत हुने गरेको देखिन्छ । नेपालको वर्चस्ववादी राजनीतिले केवल दुई केन्द्रबीच मोलमोलाइ छनोट गर्छ । सीमामा आवागमन कसिँदै जानुपर्ने चाहना तथाकथित राष्ट्रवादी शक्तिहरूको हो । राजा महेन्द्रले सीमाञ्चलजनबीच विभाजन, वैमनस्य र विभेदको बीजारोपण गरे । त्यसैले सीमा छेउको जनसांख्यिक बनोट हेरफेर गरियो । उनले यस्तो नेपालीपनको कठोर अभ्यास गरे जसले लाखौं नेपालीलाई नागरिकता र राष्ट्रियताको परिधिबाहिर धकेल्यो । सीमा सुरक्षाका नाममा यस्ता ‘कन्स्पिरेन्सी’ हरू चलाए, जहाँ आफ्नै देशका खास भेषभूषा र भाषा भएकाहरूलाई ‘नेपालको सीमाभित्र परेका भारतीय’ ठानियो । बरू अन्य मुलुकबाट झिकाएर सीमा छेउछाउ बसाए, तर त्यस क्षेत्रका रैथानेहरूमाथि सीमा पहरेदारीको मामिलामा ‘अन्यकरण’ गरे । यसरी सीमा क्षेत्रका नयाँ बसोवासीमा वारिपारिको सम्बन्धबारे फरक सोचाइ छ । भारततिर पनि विभाजनपश्चात् केही स्थानमा शरणार्थीहरू ल्याई सीमा छेउछाउमा बसाइयो । नयाँ बसोवासीहरूमा सीमाञ्चल सम्बन्ध नयाँ ढंगले टुसाएको छ । रैथानेहरूमा भने सम्बन्धलाई लिएर भिन्नै स्पन्दन छ । उनीहरू सीमा सुरक्षाका नाममा त्यस्तो कुनै पनि साँघुरो परिधिभित्र अटेसमटेस गर्दै बस्न अब राजी छैनन् । तर, केन्द्रको सामुन्ने गर्न नै के सक्छन् ? सीमामा कस्तो प्रक्रिया अपनाइने हो, त्यो तय गर्ने त आखिर केन्द्रले नै हो ।

बोर्डर जहिलेसुकै स्वाभाविक त हुँदैन, त्यसलाई राज्यले आफ्नो अनुकूलतामा उपयोग गर्छ, तर वारिपारि सम्बन्ध अन्तरक्रियात्मक रहे त्यसले केन्द्रहरूको तुरूप सच्याउन नैतिक दबाब दिन्छ । अहिले बोर्डरले छेउछाउकाहरूमा आत्मविश्वास होइन, डर खडा गरेको छ । हतपत आमजन वारिपारि गर्न हच्किरहेको छ । वैवाहिक सम्बन्ध बिस्तारै अपवादको व्याख्याभित्र पर्दै छ । त्यसैले परस्पर वार्तालापमा बाघा र अटारी बोर्डर प्रतीक बनेर उदाउँदै छन्, कतै यताको नियति त्यस्तै प्रबन्धतिर डोरिँदै गएको त छैन ? व्यक्तिगत कुराकानीमा खुल्ने मनका बहहरू सार्वजनिक मञ्चमा सम्पूर्णतामा सम्प्रेषण हुँदैनन् । भारतीयमा राष्ट्रिय सुरक्षाको सवालमा टिप्पणी गरेको अबगाल लाग्ला भन्ने भय छ भने नेपालतिर सीमा आवागमनलाई लिएर केन्द्रको आलोचना गर्दा राष्ट्रवादको मखुन्डो फुत्किने मनोविज्ञान पनि कम छैन । अमूर्त सुरक्षा त्रासको कसीमा सीमाञ्चल सम्बन्धको स्तर निर्धारण गर्ने प्रवृत्ति नै सग्लो सम्बन्धको बाटाको खाडल बनेको छ ।

नेपालतिर सीमा वारिपारिको सरोकारबारे जति कुरा उठ्छ, त्यति पारिपट्टि सुनिँदैन । खुला सीमाको उपादेयता जसरी यता अर्थ्याइन्छ, त्यति संरचनागत रूपमा उता देखिँदैन । त्यहाँ अन्तर्राष्ट्रिय सीमाको प्रबन्धीकरणको जिम्मा ‘दिल्ली’ को हो भनेर पन्छाइने भाव छ । यता पनि यो राजनीतिको स्वर बन्न सकिरहेको छैन । भारतीय राज्यहरूसँग जोडिएका नेपालका प्रदेशसभा वा संघीय संसद्मा सीमाको जनसरोकार गुन्जिएको छैन । यद्यपि सामाजिक–आर्थिक मञ्च र मिडियामा यो सवाल बेलाबेला उठ्दै आएको छ । जबसम्म दुवैतिर समानस्तरमा यो सरोकारबारे जनाकांक्षा प्रकट हुँदैन तबसम्म सीमामा आमजन अपमानित, असुरक्षित र अलगथलग रहने क्रम रोकिने छैन ।

र, जब जनसंवाद हुन्छ त्यतिखेर मान्छे नोस्टाल्जिक हुन पुग्छ । जनसंवादमा पछिल्ला दिनमा फेरिएको प्रसंग के हो भने, अब सीमामा पहिलेको जस्तो सहजता त हुँदैन । एक सीमाञ्चलवासी लोककथा सुनाउँदै आफ्नो मनको बह यसरी पोख्दै थिए, ‘कुम्हाले गाग्रो बनाउन तल्लीन थियो । उसको मनमा गाग्रोको सुन्दर तस्बिर थियो । केही बेरमै उसले चाहेको जस्तो गाग्रो तयार भयो । उसले गाग्रोलाई घाममा सुकाउन राख्यो । त्यही बेला एउटा काग आएर गाग्रोमा ठुँग्यो । गाग्रोको स्वरूप बिग्रियो । कुम्हाले फेरि अर्को गाग्रो बनाउन तल्लीन भयो । केही बेरमै साबिककै जस्तै गाग्रो तयार भयो । कुम्हाले आफ्नै धुनमा लागेको थियो, काग छेउमै आएर कागकाग गर्न थाल्यो । कुम्हाले हैरान भयो । घुम्दै गरेको चक्रमाथि गिलो माटोमा नाचिरहेका उसका हातहरू गाग्रोको आकार दिन खोज्दै थिए, तर यसपटक उसले परिकल्पना गरेको जस्तो गाग्रो प्रकट भइरहेको थिएन । कालिगडको स्मृतिमा काग आएर टाँसियो । आश्चर्य, गाग्रोको मुख पटकपटक कागजस्तै भइरहेको थियो । कागले कालिगडको मनमस्तिष्कमाथि हमला जो गरिसकेको थियो ।’ कुम्हालेको कथाको कागजस्तै सबैका मनमनमा ‘सुरक्षा’ ले यति ग्रस्त छ कि राज्यलाई सघाउ पुग्ने र सामान्यजनलाई पनि सहज हुने बाटो निकाल्नुपर्ने दृष्टिकोण बाहिरिन थालेको छ ।

अबका स्थानिक संवादहरूमा पाँच ‘स’ बारे विमर्श नगरी सुख छैन । पहिलो, सपनाहरूमा साझापन । वारिपारिका सहरबजार तथा बस्तीहरू आउँदा दिनमा कस्तो रूपमा विकसित हुन खोज्दै छन् र त्यसमा खुला सीमाजन्य पारस्परिकताले कसरी सघाउ पुर्‍याउला ? दोस्रो, सामर्थ्यको पहिचान । दुवैतिरका आ–आफ्नै विरासत, मिजास र सम्भावनाहरूलाई पूरक रूपमा कसरी विकसित गर्ने ? तेस्रो, सामूहिक विवेक प्रदर्शन अर्थात् अवाञ्छित तत्त्व वा गतिविधिबारे मुखरता । पहिले कसैले पारिपट्टिबाट आएर नेपालमा दोहोरो नागरिकता लियो भने त्यो केवल यहीँको समस्या मानिन्थ्यो, पछि उतापट्टिसमेत यस्ताहरूलाई कानुनी प्रक्रियामा ल्याउनुपर्ने बुझाइ बन्दै गयो । सीमा क्षेत्रमा अप्राकृतिक कृत्य गर्ने जुनसुकै तत्त्व र प्रवृत्तिको भण्डाफोर नगरे राज्यले नियोजनको विधि थाल्छ नै । राज्यका जायज आशंकाहरू तिरोहित गर्न सीमाञ्चलवासीले विशेष दायित्व निर्वाह गर्नैपर्छ । चौथो, समन्वयको पहल । यसमा पूर्वाधार विकास, विपत् व्यवस्थापन, अपराध नियन्त्रण, सांस्कृतिक–आर्थिक सहयात्राजस्ता पक्षहरू अन्तर्निहित छन् । पाँचौं, शान्त सीमा, खुला सीमाका कारण दुवैतिर सम्मानित, समृद्ध र सुरक्षित नागरिक निर्माणमा पहल । खुला सीमाको प्रयोग केवल सीमा वारिपारिका बासिन्दाले मात्र गर्दैनन्, तर जो निकटमा बस्छन्, स्वभावतः तिनको सरोकार बढी हुन्छ । त्यहाँका नागरिकलाई आ–आफ्ना केन्द्रद्वारा ‘बैरंग चिठी’ जस्तो बनाइनु भएन ।

प्रकाशित : पुस १२, २०८० ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?