कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

अर्थराजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण 

नेपाली समाज विकट कालखण्डबाट निस्कन खोज्दैछ। एकतिर, मानिसले जति परिश्रम गरे पनि जीवन र धर्म एकैपल्ट निर्वाह गर्न सकिरहेका छैनन्। आँत सुक्न नदिने हो भने आत्मसम्मान धरौटी राख्नुपर्छ। ओत खोज्दा मरुभूमिमा भासिनुपर्छ।
योगेश राज

काठमाडौँ — योगेश राज थोरै दक्षिण एसियाली विचारकमध्येका एक हुन् जो इतिहास लेखनका विषयमा पनि चिन्तन गर्छन् र लेख्छन् । उनले दक्षिण एसियामा दैनिक उपभोग्य वस्तुको उत्पादनका ठूला आयोजना र आधुनिक राज्यव्यवस्थाको सह–प्रादुर्भावबारे अध्ययन गरेका छन्।

अर्थराजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण 

आधुनिकदेखि प्राचीन तथा नेपालभित्रका र दक्षिण एसियाका विविध भाषा–लिपिमा दख्खल राख्ने राज विशेषत: मध्यकालीन इतिहासमा रुचि राख्छन् । २०८० को मदन-जगदम्बा पुरस्कार वितरण कार्यक्रममा दिएको विद्वत प्रवचन जस्ताको तस्तै :

यस सभामा उपस्थित महानुभावहरू,

सय डेढसय वर्षयता नेपाली समाजमा को, किन र कसरी ऐतिहासिक भए; साझा कर्म र पेशा अपनाउने सामाजिक समूहको रूपमा ती कसरी छुट्टिए; तिनको इतिहास-चिन्तन कस्तो रह्यो – यस सम्बन्धी रूपरेखासम्म पाइन्छ। सग्लो अनुसन्धान भएको भने मलाई लाग्दैन। इतिहास-चिन्तनसम्बन्धी एउटा प्रस्तावमाथि मैले सोचिरहेकाले यो अवसरमा त्यसको भूमिका बाँध्न खोजेको छु। पाएको छोटो समयभित्र सिङ्गै भूमिका त होइन, त्यसको शिरबेहोरासम्म बटुल्ने प्रयास गर्नेछु।

विषयभित्र पस्नअघि दुईवटा बुँदा यहाँ सम्झिनु उपयोगी हुनसक्छ। पहिलो बुँदा इतिहाससम्बन्धी चिन्तनलाई आकृत गर्ने सन्दर्भसँग जोडिन्छ। दोस्रो बुँदाको नाता इतिहास विधाको कलात्मक प्रकृतिसँग छ। यो बुँदा चाहिँ बहसयोग्य सुनिन सक्छ र अलि पछि चर्चा गर्नेछु।

माथि उठाएका तीनै ओटा प्रश्नका समय र समाज सुहाउँदा उत्तर हुन्छन्। इतिहास-चिन्तन पनि तीन किसिमका सन्दर्भले बदलिन सक्छन्। पहिलो हो अर्थ-राजनीतिक परिवेश। यसले कुनै मानिसलाई ऐतिहासिकको रूपमा व्यक्त हुन दिने नदिने, तय गर्छ। ऐतिहासिकहरूलाई सामाजिक वर्गको रूपमा सक्रिय हुन दिने नदिने, निर्णय गर्छ। तिनको सक्रियतालाई राजनीतिक हस्तक्षेप मान्ने कि नमान्ने, मानदण्ड बनाउँछ। तिनीहरूलाई समाजका बाँकी वर्गसमूहसँग घुलमिल हुन दिने कि नदिने, तय गर्छ। समग्रमा भन्दा, ऐतिहासिकहरूको सामाजिक अस्तित्व र भूमिकालाई प्रभावकारी बनाउने कि निष्प्रभावी, अर्थ-राजनीतिले निर्धारण गर्छ।

दोस्रो सन्दर्भ सामाजिक-सांस्कृतिक परम्परा हो। यसले इतिहास विधाको साँधसिमाना निर्क्यौल गर्छ। अरू अरू विधासँग इतिहासको लेनदेन नियन्त्रण गर्छ। सँगै, इतिहासभित्र मौलिक विमर्शलाई प्रोत्साहित गर्ने कि निरूत्साहित, निश्चित गर्छ। इतिहास-चिन्तन (हिस्ट्रियोग्राफी)को सूत्रपात, सङ्घट्टन र विस्तार कहाँ खोज्ने, अथवा खोज्दा किन पाइएन भन्ने प्रश्नको उत्तर यही हुन्छ।

समाजमा साङ्केतिक पूँजीको वितरण तेस्रो सन्दर्भ हो। साङ्केतिक पूँजीले विपन्न समाजमा प्रतिभा खेर जान्छ। प्रत्युत्पन्नमति मानिसहरूको दुर्दशा हुन्छ। पैँचो लिइएका विद्याको महिमामण्डन गरिन्छ। समुदायमा ग्लानि र हीनताबोध व्याप्त हुन्छ। बहुसङ्ख्यक मानिसले नभेट्टाउने ठाउँमा साङ्केतिक पूँजी थुप्रिन्छ। त्यसलाई वर्चस्वशाली वर्गले ओगटेर राख्छ, फैलाउँदैन। सङ्केतको त्यो सङ्कुचित रासले एउटा कुनामा सिर्जनाको तरङ्ग फैलिरहन्छ। दर्शन, साहित्य, कलामा ठूलै हलचल आए झैँ लाग्छ। तर समाजको अर्को हिस्सा भने बिम्बविहीन रहन्छ। त्यो सुनसान रहन्छ। सङ्केत-पूँजीको यो विषम वितरणका वेला पारम्परिक त के, उधारो विद्यासमेत बँच्दैन।

अहिलेको अर्थ-राजनीतिक सङ्कट कति व्यापक छ, कसैले औँल्याइरहनु पर्दैन। सामाजिक-सांस्कृतिक भीरमा गइरहेको पहिरो सबैले सुनेको हुनुपर्छ। सङ्केत-संसारमा सबै तप्काको अनुभव मिसाउन सकिएको छैन। सबै समुदायसँग लेनदेन गर्दै साझा सङ्केत-ढुकुटी बनाउन पनि चुकेकै हौँ। यो विचलित परिस्थितिमा ऐतिहासिकहरूलाई चिनाउने परिभाषा, तिनको सामाजिक भूमिका र इतिहास-चिन्तनलाई हेर्दा सन्तोष मान्ने ठाउँ देखिँदैन।

***

ऐतिहासिकहरू को हुन् भन्ने प्रश्न नै लिऔँ। सामान्यतः पुरावस्तु खोजमेल गर्नेहरू, स्मृतिको बिर्सँदो बनोट छाम्नेहरू र कर्मकाण्डको बदलिँदो बान्की ठम्याउनेहरू ऐतिहासिक हुन्। उर्लँदो इतिहास-चेतको जुलुस हेर्नेहरू र अतीतसँग झर्को मानेको नियाल्नेहरू ऐतिहासिक हुन्। किंवदन्तीबाट पुरातथ्य छान्नेहरू र तथ्यपरक समाचारमा शक्तिको विलम्बित दाबी पहिल्याउनेहरू ऐतिहासिक हुन्। सार्वजनिक थलोमा वादी, संवादी, विवादी र वर्जित स्वरको आरोह अवरोह चिन्नेहरू ऐतिहासिक हुन्। यी सामान्य परिभाषा वर्तमान नेपाली समाजमा लागू हुँदैनन्।

नेपाली समाज विकट कालखण्डबाट निस्कन खोज्दैछ। एकतिर, मानिसले जति परिश्रम गरे पनि जीवन र धर्म एकैपल्ट निर्वाह गर्न सकिरहेका छैनन्। आँत सुक्न नदिने हो भने आत्मसम्मान धरौटी राख्नुपर्छ। ओत खोज्दा मरुभूमिमा भासिनुपर्छ। हुर्कँदो परिवारलाई भर दिँदा हुर्काएको परिवार छाड्नुपर्छ। अर्कातिर, अतिरिक्त श्रममाथि रजगज गर्नेहरूको राज छ। नगद प्रवाहमा नीति-निरपेक्ष उभिनेहरू सम्मानित छन्। पुर्खाले छाडेका पर्ती, वन, बगर र मसान घेर्नेहरू बलिया छन्। प्रकृतिले लाखौँ वर्ष थुपारेको ढुङ्गा, बालुवा, खानी र पानी बेच्नेहरूको उन्नति छ। एकतिर ठेलमठेल ताँती लागेर निस्कनेहरूले अर्थ पठाइरहेका छन्। अर्कोतिर शक्तिशालीले त्यो जगेडा विलासमा सिद्ध्याएर निर्वासनको परिबन्द फैलाइरहेका छन्।

यो दुश्चक्रको फलस्वरूप राज्य, समुदाय र परिवारबीच र भित्र सम्बन्ध असन्तुलित भएका छन्। पलायनको प्रवृत्तिले सबैतिर गाँजेको छ। असामान्य विभेदका अनेक आयाम देखिएका छन्। कतै पूँजीको चढिनसक्नु रास छ। कतै स्रोतको खडेरी छ। कतै प्रतिभा, क्षमता र अवसर घरघरै फुल्छ। कतै माटो, बीउ र पानी सबै बिग्रे झैँ फल्दै फल्दैन। कतैबाट वंशावलीको गौरवपूर्ण ठेली निस्कन्छ। कतै एउटै नाउँ पुस्तौँसम्म खप्टिन्छ, इतिहास बन्दैन। कतै प्रगतिशील सिर्जनाको फड्को छ। कतै अनुभवलाई इङ्गित गर्ने शब्द भेटिँदैनन्। कतै बहुल बिम्बार्थको आनन्द छ। कतै अर्थरिक्त आक्रोशलाई ठाउँ दिने बिम्ब छैन।

यस्तो विषम परिवेशका वेला धर्म-अधर्म, अर्थ-अनर्थ, नीति-दुर्नीति, संस्कृति-कुकृति छुट्ट्याउन सकिँदैन। अतीत-भविष्य, पूर्वज-वंशज, आदर्श-यथार्थको चिन्ता गर्न जगेडा स्रोत पाइँदैन। फुर्सद र रचना जोखिमपूर्ण जीवनशैली भएका छन्। तन्त्र व्यवस्था यस्तो छ: रचनाशील जति जीविका जुटाउन अस्तव्यस्त छन्; फुर्सद खोज्ने जतिलाई शोषकको परिचयपत्र भिराइएको छ। जेनतेन मौलिक विचार निस्कियो, अरूबाट परिचालित भनिन्छ। कलाविहीन नक्कलले आश्रय पाउँछन्। ठूलो जनसङ्ख्या वर्तमानभित्र चेपिएको छ। सानो सक्रिय तप्काले सङ्कट ठम्याउने विवेक देखाउँदैन। त्योसित अतीतको सम्यक् आलोचना गर्ने दृष्टि छैन। आसन्न भवितव्य आँक्ने क्षमता छैन।

यो असहज कालखण्डमा कवि, कलाकार, चिन्तक र ऐतिहासिकहरू मात्र होइनन्, सिर्जनाकर्मी र पेशाधर्मी मानिस कोही पनि मानक परिभाषा अनुरूप भेटिँदैनन्। दृष्टान्त दिनुको साटो केही सङ्केत दिऊँ। यहाँहरू विज्ञ हुनुहुन्छ, सङ्केतबाटै तथ्यसम्म पुगिहाल्नु हुनेछ।

***

कुनै बेला शासकबाट दानदातव्य पाएका, पतिया दस्तुर असुल्ने, राजबैठक र भारदारीमा रुजू रहने राजगुरु, धर्माधिकारी, मूलपुरोहित, लम्बरी पण्डितहरू ऐतिहासिक थिए। फेरि कम-बेसी योग्यतासँगै निगाहको जागिरबाट जीवन निर्वाह गर्ने प्राज्ञ र परामर्शदाताहरू ऐतिहासिक भए। त्यस्तै विश्वविद्यालयका दलीय कुलपति, उपकुलपति, विभागीय प्रमुख, द्वारपण्डित अथवा प्राध्यापक-महोपाध्यायहरू पनि इतिहासकार कहलिए।

अहिले शासकीय संयन्त्रबाट कृपाको पद पाउन चाहनेहरूको हुलमा ऐतिहासिकहरू भेटिन्छन्। त्यता नमिसिएकाहरू व्यवस्थाभित्र आफ्नो मतवाद चलाउन दरिला देखिन्छन्। सत्ताकाङ्क्षी दलसमूहबाट पाएका मान, पुरस्कार र भरणपोषणलाई आफ्नो योग्यताको कदर सम्झिनेहरू र आफ्नो प्रतिभाको राज्यले कदर नगरेको गुनासो गर्नेहरू, दुवैतर्फ ऐतिहासिकहरू छन्।

केही दशकदेखि कोल्टो फेरेको अर्थ-राजनीतिभित्र ऐतिहासिकहरू नयाँ नयाँ अवतारमा देखा परेका छन्। केही ऐतिहासिक सत्ता संरक्षण अथवा परिवर्तन जस्ता अर्थ-राजनीतिक अभीष्टका बाह्य र आन्तरिक कारकहरूसँग मिलेका देखिन्छन्। शक्ति र साधन-प्रवाहको अँध्यारा गल्लीमा उभेकाहरू सजिलै चिनिँदैनन्।

अर्को परिदृश्य पनि छ। शक्तिसम्पन्न वर्गले स्वेच्छालाई वैधानिक बनाउन आमवृत्त हडप्छ। सार्वजनिक भङ्गिमामाथि ऐननियमका तगारा उभ्याउँछ। विधिमाथि एकलौटी दाबी गर्छ र विचारबाट रचनात्मक आलोचना माग्छ। शक्तिशालीलाई लोकतान्त्रिक देखाउनु छ र शासनतन्त्रमा जमेर बस्नु छ। सत्तासित नरम-गरम सम्बन्ध राख्ने बौद्धिकहरूमध्ये इतिहासकारको रूपमा आफूलाई चिनाउनेहरू भेटिन्छन्।

आपसी सहमतिको तरल अर्थ-राजनीतिक संरचनाभित्र शक्ति र विद्रोहको शैली एउटै हुन्छ। पक्ष र विपक्षको चक्रीय प्रणालीमा अधिकांश बौद्धिकको मुख्य सरोकार विद्या हो कि वृत्ति हो, निष्ठा हो कि प्रतिष्ठा, अलमल रहन्छ। ऐतिहासिकहरू यसको अपवाद हुँदैनन्। तिनको पनि पद, कर्म, भूमिका र चिन्तन बीच तारतम्य मिल्दैन।

अहिलेको विसङ्गतिपूर्ण समयमा सबै ऐतिहासिकहरू अतीत अनुभव भेट्टाउने तपस्यामा छैनन्। इतिहास-तत्त्व पाउने साधनामा छैनन्। अतीतलाई समाजोपयोगी खानी सम्झिने एउटा समूह बहुविध प्रायोजनामा छ। शासनतन्त्रको स्वार्थ अनुकूल इतिहास उत्पादन गर्ने अर्को समूह प्राज्ञ पदमा प्रतिष्ठित छ। इतिहासलाई सामाजिक-आर्थिक हैसियत उकास्ने बाटो बनाउन अझ अर्को समूह व्यस्त छ। यी तीन समूहमा नअटाउने ऐतिहासिक परिधितिर धकेलिएका छन्।

यो परिधिगत समूह पनि एकनास देखिँदैन। कोही वर्तमानमाथि प्रभावकारी हस्तक्षेप गर्न जरुरी ठान्छन्। आन्दोलनसँगै मच्चिन पुग्छन्। फेरि समझदारीबाट सच्चिन चाहन्छन्। अभियान र ध्यान, युद्ध र सम्झौता बीच ओहोरदोहोर गर्छन्। बाँकी भने अतीत गाथाले उद्वेलित रहन्छन्। तिनलाई वर्तमान तरल यथार्थ लाग्छ। छिनछिनै गुमिरहेको प्रत्यय लाग्छ। क्रान्ति जति कबाड पैदा गर्ने तन्त्र लाग्छ। हस्तक्षेप र प्रतिहस्तक्षेपका जन-आन्दोलन डाह-चक्र (रिजेन्टमेन्ट साइकल्स: पीडा-सन्ताप-डाह-द्वन्द्व-पीडाको चक्र) लाग्छ।

सजिलो गरी भन्दा, अतीतसँग कुराकानी गरिरहेका नेपाली ऐतिहासिकहरूको सामूहिक स्थिति यस्तो देखिन्छ: एउटा यथास्थितिको धुरी छ। त्यहाँ मिथ्या साबित नभएसम्म र अतिरिक्त अभिलेखले नबोलेसम्म रूढीलाई प्रमाण मान्नेहरू छन्। तिनीहरू शास्त्रलाई शस्त्र बनाउन खोज्छन्। अर्को ध्रुव काल्पनिकीमा घुम्रिएको छ। त्यहाँ परम्परालाई कबाडको डङ्गुर मान्ने र आफूखुसी तथ्यको निर्माण गर्नेहरू छन्। यिनीहरू शस्त्रलाई शास्त्रमा बदल्न खोज्छन्। अधिकांश नेपाली ऐतिहासिकलाई यी दुई ध्रुव बीच कतै राख्न मिल्छ।

***

ऐतिहासिकहरूको यो मोटामोटी वर्गीकरण सङ्केतात्मक हो, विश्लेषणात्मक होइन। यहाँ लिइएका लक्षण पनि पारिभाषिक होइनन्। अझ कुनै समूह-उपसमूहमा अमुक ऐतिहासिकलाई हालेर मीनमेख निकाल्नु सार्थक हुनेछैन। किनभने इतिहास-चिन्तनलाई बदलिँदो परिप्रेक्ष्यमा राख्नु मेरो उद्देश्य होइन। बरु ‘नेपाली’ र ‘समाज’ भन्ने पदलाई समस्यामुक्त राख्न सकिने सीमाभित्र अतीत-वस्तु पहिल्याउन लागिपरेको एउटा वर्गसमूहतिर औँल्याउन सम्म मैले चाहेको हुँ।

यो उत्साहवर्धक तर विचित्र परिदृश्य हो: सांसदीय (एकेडेमिक) प्रबन्धमा इतिहास विधा मृतप्रायः देखिन्छ। औपचारिक पाठ्यक्रमबाट इतिहास लुप्तप्रायः मान्न सकिन्छ। विधागत दर्शन, प्रत्यय, विधि, प्रविधि र सीप सिक्नेतिर जाँगर प्रायः भेटिँदैन। नयाँ नयाँ विषय र बुँदा उठाइए पनि आलोक भेटिँदैन, राप लाग्दैन। ऐतिहासिकहरूले ‘प्राज्ञिक’ इतिहासलाई अनुशासित र रचनात्मक बनाउन सकेका छैनन्। संसदेतर (नन-एकेडेमिक) बहसमा भने इतिहासको खपत बढ्दो छ: अरूलाई बहिष्कृत राख्ने हतियार बनाएका छन्; उपयोगी औजार झैँ चम्काएका छन्; हराएको सामूहिक अस्मिता जस्तो; बिउँझेपछि खोजिरहेको सपना जस्तो। त्यहाँ खालि खपतको लालसा छ, सिर्जनाको उत्साह छैन।

मिलान कुन्देराले भने जस्तो, आज मानिस इतिहासको बाढीमा परेका छन्। तिनीहरू आफ्नै बितेको जीवनमा सङ्गति खोजिरहेका छन्। सम्झनामा सन्दर्भ र अर्थ पाइरहेका छैनन्। सँगै, अतीत-वस्तुप्रति गौरव भने बढेको देखिन्छ। अतीत-अनुभवलाई कलात्मक रूपमा संरक्षित राख्ने तिर्सना व्यापक छ। ऐतिहासिक दस्तावेज, भवन, व्यक्ति र दिनसम्बन्धी वृत्तान्त लोकप्रिय हुन्छ। लोक-सञ्जालमा सक्रिय ऐतिहासिकहरूले भने विद्यमान अर्थ-राजनीतिक दाबी र प्रतिदाबीको कुनै विकल्प दिन सकेका छैनन्। न समाजमा फैलिरहेको तिर्सना र आकर्षणलाई सम्यग्दृष्टि दिन सकेका छन्। विषालु सामाजिक द्वन्द्वमा होमिएकाहरूलाई परामर्शको हतियार दिन जो कोही बौद्धिक तयार देखिन्छ, ऐतिहासिकहरूले तिनलाई सद्‌विवेक दिन सकेका छैनन्।

अतीत-चिन्तन भइरहेका ठाउँमा ऐतिहासिक नभेटिनु अथवा ऐतिहासिकहरूमा इतिहास-चिन्तन नपाइनु नेपाली समाजमा व्याप्त विडम्बनाको एउटा आयाम हो। त्यो विडम्बना के हो भने चिन्तन मात्र होइन, धर्म, शक्ति, अर्थ र सीपसमेत अहिले मौलिक ठाउँबाट विस्थापित छन्: आचारसँग धर्म बस्दैन; नीतिसँग शक्ति बस्दैन; श्रमछेउ अर्थ भेटिँदैन; विवेक लिएर प्रविधि आउँदैन; र, व्युत्पत्तिगत अर्थमा, विचार लिएर विद्या बस्दैन।

***

नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुघड, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नपर्ने हुन्छ। शास्त्र-सम्मत र संवेदना-सिद्ध विवेक राख्नपर्ने हुन्छ।

शुरूमा मैले सङ्केत गरेको दोस्रो बहस योग्य सुनिने बुँदा यहाँनेर आउँछ। धर्म, न्याय र नीति जस्ता आध्यात्मिक खोजलाई र दर्शन, साहित्य, कला जस्ता मानवीय मूल्यको प्रस्तावलाई हिजोआज विज्ञान बनाउने चलन छ। चल्तीका वैज्ञानिक परिपाटीसित बेमेल हुने विधालाई खारेज गरिदिने स्वघोषित वैज्ञानिक पनि छन्। अथवा, विधागत साँध नाघेर ती विद्या-स्थानलाई ‘वैज्ञानिक’ अथवा ‘आधुनिक’ देखाउने प्रवृत्ति पनि छ। अतीत-वस्तुको खोजमेल गर्ने विधि विविध छन्। तर तिनमा सञ्चित पुरा-अनुभवबाट वर्तमानमा संवेदना जगाउने प्रक्रिया एउटा कला हो। व्युत्पत्तिगत अर्थमा, अंग्रेजी आर्ट < ल्याटिन आर्स् < धातु र्‌त् वैदिक ऋत् एकै ठाउँमा छन्। त्यसैले इतिहासलाई कलात्मक पुनर्रचना मान्न सकिन्छ।

समाजको विकासक्रममा कहिलेकाहीँ शास्त्र र संवेदना परस्परमा प्रतिकूल हुन्छन्। आदर्श र अन्याय, विमर्श र विभेद घालमेल हुन्छन्। कहिलेकाहीँ सुनौला भनिएका बिहानी अनुत्पादक दिनमा बदलिन्छन्। रक्तिम साँझले कालरात्रि निम्त्याउँछन्। मेलमिलाप र सम्झौता नटुङ्गिने द्वन्द्वतिर जाने मोड बनिदिन्छन्। त्यति वेला अतीत अनुभव र वर्तमान विवेक असमञ्जस हुन्छ। ऐतिहासिकहरूसित परित्राणको विकल्प छ त?

आफ्ना पूर्वजदेखि अलग्ग्याइएकाहरू, वंशावलीमा छुटेका छुटाइएकाहरू, पुर्खाको पसिनाले सिँचेको र खरानी घुलेको थातथलो छाड्नुपर्नेहरू, आफ्नो नगरलाई पराई शहरमा ढल्दै गरेको बेहोर्नेहरू, सत्ताले डामेका आङ बोक्नेहरू र कथनले रङेका भित्ता सम्झिनेहरू, अपमानको सूत्र दिनहुँ स्मृतिभित्र पसेको देख्नेहरू, निरपेक्ष अग्राधिकारको तर्क पुराणभित्र पाउनेहरू, मोखका रङ-रेखासँगै गामठाम धमिलिएर पुरावशेष बनेको देख्नेहरू, ‘घर’ खोज्दै हिँडेका ‘ठालु’हरू र ‘घर’बाट निकालिएका ‘सुकुम्वासी’हरू - यी सबैको सङ्घर्षबाट भौतिक-सांस्कृतिक अनुभव बनेको छ। सिङ्गो समाज ‘आज-अहिले’भित्र गिजोलिएको लाग्छ। जनसमूह जति अतीतलाई निरर्थक बोझ सम्झेर जीवन खोज्न हिँडेका देखिन्छन्। त्यो जनसमूहप्रति ऐतिहासिकहरूले उत्तरदायी बन्नु छ।

यो परिस्थिति आफै अर्को, धेरै अघिदेखि सल्किँदै फैलिरहेको, प्राकृतिक सङ्कटले घेरिएको छ। वर्चस्व-आकाङ्क्षीहरूको दुष्कृत्यबाट पृथ्वी कुपित छ। मानिस जातिलाई छैठौँ विलोपतिर पुर्‍याई छाड्ने यो समूह विभिन्न स्तरमा सक्रिय छ। अन्तःराष्ट्रिय सङ्घट्टनमा र अन्त:देशीय मोर्चाका अग्रपङ्क्ति प्रभावी छ। देशभित्र राज्य र त्यसको विकल्प भनिएको वणिक्‌सङ्घमा विराजमान छ। प्रदेश-क्षेत्रभित्र राजनीतिक र वित्तीय सञ्जालमाथि उसैको नियन्त्रण छ। स्थानीय स्तरमा सार्वजनिक स्रोत र संरचनालाई विपन्नको पहुँचबाट टाढा राख्न उही आतुर छ। यो प्रकृति-विरोधी समूहलाई भविष्यको प्राविधिक भजन गाउनु छ। ‘जङ्गली, ‘रूढीवादी’ र ‘असभ्य’ इतिहास बिर्सनु छ। ऐतिहासिक ज्ञान अपदस्थ गर्नु छ। कलात्मक विधालाई धूलो पार्नु छ। इतिहास-क्षम विवेकलाई नि:चेष्ट बनाउनु छ। यस्तोमा ऐतिहासिकहरूले ती अहंग्रस्त आकाङ्क्षीहरूलाई अशक्त पार्ने भूमिका खेल्नु छँदैछ। पृथ्वीमाथि आफ्नो पाइला राखेर त्यसको ऐतिहासिक ढुकढुकी पनि सुन्नु छ। किनभने ऐतिहासिकहरू मात्र अहिले र उहिलेबीच झुलिरहेका हुन्छन्। उनीहरूले मात्र कालोत्तर चेतना बोकेका हुन्छन्।

अनुभव र अपेक्षा दुवैसँग अविरोधी बाटो खोज्न पर्ने यो बिहड र एकाकी बाटो हो। यो बाटो हिँडेर देखाएका ऐतिहासिकहरू दुर्लभ हुन्, तर थिए। कालको उथलपुथलमा तिनका पाइला मेटिएका हुन सक्छन्। तिनको परिश्रम हाम्रो मन-मरुभूमिमा हराएको हुनसक्छ। तिनको नाउँ समेत बिर्सिइएका हुन सक्छन्। तर तिनका केही शब्द शास्त्रमा उद्धृत भेटिन्छन्। सीपको छनक अनुश्रुतिमा पाइन्छन्। तिनको टिलपिल इतिहास-चेत लोकभाका र आख्यानमा भेटिन्छन्। यसो भन्दा कुनै काल्पनिक चरित्रबारे बोलेको सुनिन सक्छ। तर मानव-सभ्यताको झण्डै झण्डै अन्तिम वेलामा अतीत मन्थन गर्नेहरूको निम्ति दोस्रो विकल्प देखिँदैन। परम्परा र अनुभव, शास्त्र र संवेदना दुवै जिउँदो राख्ने दुर्गम आदर्श नभए अर्को कस्तो आदर्श हुन सक्ला, मलाई थाहा छैन।

प्रकाशित : आश्विन २९, २०८० १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?