कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६
विश्व गैंडा दिवस

गैंडा जोगाउने चुनौती

बासस्थान विनाश र खण्डीकरण,भौतिक पूर्वाधार विकासको असर, मिचाहा प्रजातिको फैलावट र चोरीशिकार गैंडा जोगाउनका लागि मुख्य चुनौती बनेका छन् ।

काठमाडौँ — गत वर्षको माघमा चितनवको नारायणी नदी किनारमा दुई वटा गैंडा मृत अवस्थामा भेटिए । शिकार गरेर मारेको अभियोगमा निकुञ्ज कार्यालयले गत असारमा ३ जनालाई पक्राउ गर्‍यो । भदौ तेस्रो साता प्रहरीले काठमाडौंबाट गैंडाको खागसहित ४ जनलाई पक्राउ गर्‍यो ।

गैंडा जोगाउने चुनौती

सन् २०१७ को अप्रिलको घटनालाई बिर्सने हो भने २०१४ देखि २०१९ सम्म नेपालले गैंडा शिकारको शून्य वर्ष मनाएको छ । कोरोना महामारीसँगै गैंडा सिकारको घटनामा बढोत्तरी भएको छ । सन् २०२० मा चारवटा, २०२१ मा दुईवटा र सन् २०२३ मा मात्रै ३ वटा गैंडा चोरीशिकारीका कारण मारिएका छन् ।

संसारमा अहिले सेतो गैंडा, एक सिंगे गैंडा, कालो गैंडा, जभान र समात्रन गैंडा गरेर ५ प्रजातिका गैंडा छन् । वर्ल्ड राइनो फाउन्डेसनले हालै निकालेको एक प्रतिवेदनअनुसार सेतो गैंडाको १५ हजार ९४२, एक सिंगेको ४ हजार १४, कालोको संख्या ६ हजार १९५, जभानको ७६ वटा, सुमात्रनको संख्या ३४ देखि ४७ को हारहारीमा छन् । कालो,जभान र सुमात्रन गैंडा अति संकटापन्न प्रजातिमा छन् । यिनको संख्या खस्कँदो छ ।

नेपाल,भारत र भुटानमा पाइने गैंडाचाहिँ दुर्लभ एक सिंगे गैंडा हो । आईयूसीएनको रेडलिस्टमा यसलाई जोखिमयुक्तको सूचीमा राखिएको छ । साइटीसको अनुसूची-१ मा राखिएको यो स्तनधारी नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

आइकोनिक प्रजातिको रुपमा समेत चिनिने गैंडलाई प्राणीशास्त्रीहरू के-सेलेक्टेड स्पेसिस भनेर पनि चिन्दछन् । यिनको सन्तान उत्पादन दर कम, तौल धेरै, वृद्धि र विकास ढिलो हुने गर्छ । प्रायः एकलकाटे स्वभाव हुने गैंडा चर्दा र आहाल बस्दा भने सँगै देखिन्छन् । बच्चाहरू ३ वर्षसम्म माउसँगै बस्ने गर्छन् । एक पटकमा एउटा मात्रै बच्चा जन्माउने यो जीव भएकाले प्रकृतिमा स्वभाविक रुपमा संख्या कम देखिए पनि मानवीय कारणले गर्दा यिनको संख्या बचाइराख्नु आजको चुनौती हो ।

एसियाका ठूला सिन्धु,गंगा र ब्रहमापुत्र नदीको बहाव क्षेत्रमा कुनै समय एकसिंगे गैंडा हजरौंको संख्यामा विचरण गर्दथे । बढ्दो मानवीय चापका कारण अहिले यी प्रजाति केही निकुञ्ज तथा आरक्षहरूमा मात्रै मात्रै सीमित भएका छन् । एकताका चितवनमा गैंडाको संख्या ८ सय रहेको अनुमान थियो । तर चितनवमा जब वन फडाँनी र बस्ती बस्न थाल्यो गैंडा,बाघलगायतका प्रजाति पनि घटेको विगत छ ।

१९६० को दशकमा चितवनको ७० प्रतिशत जंगल सखाप पारिएको थियो । त्यो बेला गैंडाको संख्या सयको हारहारीमा पुग्यो । यसले संरक्षणको आवश्यकता महसुस गरेर नै सरकराले सन् १९७०मा पहिलो पटक चितवन निकुञ्जको स्थापना गर्‍यो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ल्याइएपछि संरक्षणका कार्यक्रमहरू बिस्तारै बढ्न थाले । सन् २००० सम्म आइपुग्दा नेपालमा गैंडाको संख्या ६१२ वटा पुग्यो । तर अफसोस, त्यही बेला मुलुक सशस्त्र द्वन्द्वको चपेटामा पर्‍यो । चोरीशिकारी मौलाउँदा सन् २०००मा ५४४ वटा गैंडा रहेको चितवनमा सन् २००५ मा ३७२ मा सीमित भयो ।

गैंडा संरक्षणका लागि सरकारले संरक्षण कार्ययोजना ल्यायो‚ जसमा दुईवटा कार्ययोजनाहरू ल्याइए (सन् २००६ देखि २०११ र सन् २०१७-२०२१) । सन् २००६ यता सुरु गरिएका संरक्षण पहलकदमीबाट नेपालमा गैँडाको संख्या क्रमशः बढिरहेको छ । यसको सरहना इन्टरनेसनल राइनो फाउन्डेसले गैंडा दिवसको पूर्वसन्ध्यामा निकालेको बुलेटिनमा नै उल्लेख गरिएको छ ।

सन् २०२१ को गणनामा गैंडाको संख्या नेपालमा समग्रमा २१ प्रतिशतले बढेको देखिन्छ । अर्थात् हाल नेपालमा गैंडाको संख्या ७५२ थियो । २०१५ को तुलनामा १०७ वटा गैंडाको संख्या थप भएको छ । जसअनुसार चितवनमा सबैभन्दा धेरै ६९४, बर्दियामा ३८, पर्सामा ३ र शुक्लाफाँटामा १७ वटा गैंडा छन् । कार्ययोजना अनुसार नै सरकारले हरेक ३ देखि ५ वर्षमा गैंडा गणना गर्दै आएको छ । गैंडा संरक्षणको नयाँ कार्ययोजना निर्माणको चरणमा छ ।

सन् २०२१ को गैंडा गणनाअनुसार बर्दिया निकुञ्ज क्षेत्रमा गैंडाका दुईवटा बासस्थान छन् । कर्णाली र बबई नदीको बाढी बहाव क्षेत्र । उक्त गणनाका क्रममा कर्णाली नदीको बाढी बहाव क्षेत्रमा ३१ र बबई नदी क्षेत्रमा ७ वटा गैंडा अभिलेख भएको छ । शुक्लाफाँटामा सन् २०१५मा ८ वटा संख्या थियो भने अहिले बढेर १७ पुगेको छ ।

जोगाउने चुनौती

बढ्दो मानव गतिविधिकै कारण गैंडामाथि जोखिम बढेको छ । लेखको सुरुवातमै गैंडा संरक्षणमा चोरीसिकारीको चुनौती उल्लेख गरिए जसरी नै वर्तमान अवस्थाकै संख्यालाई कायम राख्दै नघटाउने अबको चुनौती छ । बासस्थान विनाश र खण्डीकरण,भौतिक पूर्वाधार विकासको असर, मिचाहा प्रजातिको फैलावट र सबैभन्दा चिन्ताको विषय सँगै चोरीशिकार नै अहिलेको समस्या हो । मानव-गैंडा द्वन्द्व र रोगव्याधी पनि समस्याका रुपमा देखा परेका छन् ।

गैँडाको खागको व्यापारमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको भए पनि चीन र भियतनाममा यसको माग अझै हुने गरेको छ । ती स्थानमा अझै पनि परम्परागत औषधिको रुपमा र सामाजिक प्रतिष्ठाको प्रतीकको रुपमा गैंडाको खाग प्रयोग गर्दा चोरीशिकार हुने गर्छ ।

सन् २०२१कै गैंडा गणनामा कूल बासस्थानको ३५ प्रतिशत क्षेत्रमा मिचाहा प्रजाति पाइएको उल्लेख छ । लान्टाना कमरा भनिने वन फाँडा झार, पार्थेनियम भनिने कनिके झार र माइकेनिया मिकरान्था भनिने लहरे वनमारा घाँसे मैदानलाई चुनौती दिएका छन् । यी मिचाहा प्रजातिका कारण गैंडाको चरिचरणलाई असर गरेको छ । चितवनमा २० प्रतिशतले घाँसे मैदान घटेको पाइयो । ४५ वर्ष पहिलेका घाँसे मैदानलाई रूखले भर्दै गएपछि ‘सक्सेन’ का कारण जंगल बन्दा मात्रै ९ दशमलव ६ प्रतिशत घाँसे मैदान क्षेत्र घटेको अनुसन्धानमा पाइएको छ ।

अहिले निर्माण हुने भौतिक संरचनाहरू वन्यजन्तुमैत्री नहुँदा समस्या हुने गरेको छ । अघिल्लो महिना मात्रै शुक्लाफाँटामा एउटा सडक ट्यांकीमा फसेर हात्तीको मत्यु भयो । त्यसअघि सन् २०२२ को जनवरीमा भरतपुरस्थित सडक छेउमा खनिएको खाल्डोमा परेर ११ वर्षको एक भाले गैंडा मृत्यु भयो । त्यहीलाई आधार मानेर सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका पनि ल्याएको छ तर कार्यान्वयन पक्ष केही फितलो देखिन्छ ।

राप्ती र नारायणीको किनार आसपासको क्षेत्र गैंडाको बासस्थान भएपनि चितवनको पूर्वी क्षेत्रमा गैंडाको संख्या घट्दो छ । सन् १९८८ ताका कसराको पूर्वपट्टिको बगर क्षेत्रमा गैंडा धेरै पाइन्थ्यो । झन्डै ७० प्रतिशत गैंडा त्यहा विचरण गर्थे तर २०१५ को गणनाले २८ प्रतिशत गैंडा मात्रै उक्त क्षेत्रमा बस्ने गरेको पाइयो । नदीको प्राकृतिक बहावमा आएको परिवर्तनका कारण गैंडाहरू त्यस क्षेत्रबाट अन्यत्र सरेको पाइएको छ । राप्ती नदी नियन्त्रण परियोजनाको सुरुआतसँगै गैंडा पश्चिमतिर सरेका छन् । सौराहा (कसरा पूर्व) मा बस्ने गैंडाको संख्या २६ वर्षमा ४९ प्रतिशतले घटेको छ ।

सिमसारमा आश्रित कडा छाला भएको(पेचीडर्म) गैंडालाई धेरै काँसघारी, घोल, आहाल खेल्ने क्षेत्र चाहिन्छ । खोलाको बहावमा पनि परिवर्तन आउँदा खोला साँघुरिँदा बाढी बहाव क्षेत्र पनि घटेको छ । जसले गर्दा गैंडाका लागि आवश्यक घुम्ने (मेन्डिरिंग) स्थान घटेको छ ।

गैंडाको बाल मृत्युदर धेरै हुन्छ‚ जसमा १५ प्रतिशत बच्चालाई बाघले नै खाइदिने गर्छ । केही महिनाअघि एनटीएनसीले बाघको आक्रमणबाट बचेको एउटा बच्चालाई उद्धार गरेको थियो । सन् १९९८ देखि २०१५ सम्म ३७४ गैंडा मर्दा ४७ बच्चा बाघले खाएको तथ्यांक छ । आपसमा लड्दा पनि गैंडा मर्छन् । आहाल बस्न नपाउँदा घाउ निको हुन नपाएर पनि मर्ने गर्छन् ।

तसर्थ बढ्दो चुनौतीलाई समाधान गर्न चोरीशिकारविरुद्धको गस्ती गर्ने क्रममा सुरक्षा पोस्टहरूमा हात्ती परिचालन गर्ने, नियमित गस्ती, मिचाहा वनस्पतिका प्रजातिको व्यवस्थापन, चरण र दलदले क्षेत्रमा सुधार गर्ने, विषादीको प्रयोग कम, किसान र कर्मचारीबीचको समन्वय, गैँडा स्थानान्तरण कार्यक्रम, बासस्थान सुधारका कार्यक्रमहरूलाई प्रभावकारी लैजानुपर्छ । यस्तै मानव-गैंडा द्वन्द्व न्यूनीकरणका लागि पनि उपयाहरू चाल्न जरुरी छ ।

फेब्रुअरी २०२३ मा चितवन राष्ट्रिय निकुञ्जले तेस्रो एसियन राइनो रेन्ज कन्ट्रिज कार्यक्रममा चितवन घोषणापत्र जारी गरेको छ । भुटान, भारत, इन्डोनेसिया, मलेसिया र नेपालका प्रतिनिधिमण्डल सहभागी भेलाले एसियाली गैँडा संरक्षणका लागि गस्ती कार्यलाई सशक्त बनाउने,बासस्थान व्यवस्थापनमा सुधार गर्ने, मिचाहा प्रजातिलाई नियन्त्रण गर्ने, र गैँडाको बासस्थानमा पर्ने असर न्यूनीकरण गर्न विकास परियोजना निर्माण गर्दा वन्यजन्तुमैत्री उपाय अपनाउनेलगायतका प्रतिबद्धतालाई कार्यान्वयन गर्न सके गैंडा संरक्षणमा थप मद्दत पुग्‍ने देखिन्छ ।

(राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा. सुवेदी गैंडा विशेषज्ञ हुन् । विज्ञान र वातावरण लेखक पोखरेल कोषमा संरक्षण अधिकृतको रुपमा कार्यरत छन् ।)

प्रकाशित : आश्विन ५, २०८० १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?