‘असन्तुष्टिलाई क्यास गर्दै पपुलिस्ट जन्मन्छ’

निजी महत्त्वाकांक्षाबाहेक पपुलिस्टहरूको कुनै राजनीतिक गन्तव्य हुँदैन । जुन हाँगो समाउँदा बढी हल्लिन पाइन्छ, उनीहरू त्यसैलाई समात्छन्
विष्णु सापकोटा

पपुलिस्ट राजनीतिको ‘ट्रेन्ड’ र चरित्रमाथि कुरा गर्दा सुललित सुनिने शब्दहरू प्रयोग गरेर धेरै कुरा भन्न सकिँदैन । यसका लागि कठोर शब्द नै प्रयोग गर्नुपर्छ । संसारका फरक–फरक समाजमा बेला–बेलामा किन ‘पपुलिस्ट’ राजनीतिकर्मीको उदय हुन्छ भनेर बुझ्न सबैभन्दा पहिले मानिस किन राजनीतिमा आउँछ भनेर बुझ्न जरुरी छ ।

‘असन्तुष्टिलाई क्यास गर्दै पपुलिस्ट जन्मन्छ’

आमरूपमा मानिस कि आफैंलाई परेको अन्यायका विरुद्ध लड्न, अधिकारको खोजी गर्न राजनीतिमा आउँछ कि ऊ आफ्नो समुदायलाई उद्धार गर्न भनेर आएको हुन्छ । समुदाय भन्नाले यहाँ धेरै विषय पर्छन्, जस्तो ः आफ्नो गाउँ–सहर, जात–थर–धर्म, प्रदेश–देश ।

सामान्यतया पछि गएर पतन नहुन्जेल आफैंलाई अन्याय परेर आएको मानिस धैर्यपूर्वक राजनीतिमा लागिरहेको हुन्छ र आफूजस्ता अरू धेरैको आवाजलाई प्रतिनिधित्व गर्न सक्छ । तर, आफूले तत्काल गरिरहेको कामले दिएको नामले नपुगेर, अझ ‘ठूलो मान्छे’ हुने रहर गर्दै, समाजमा व्याप्त असन्तुष्टिलाई ‘क्यास’ गर्दै, उग्र नारा बुनेर, अब म गएर सबलाई ठीक पार्छु भनेर आउनेमध्येका महत्त्वाकांक्षीहरूबाट कालान्तरमा पपुलिस्ट जन्मने हो ।

निजी महत्त्वाकांक्षाबाहेक पपुलिस्टहरूको कुनै राजनीतिक गन्तव्य हुँदैन । जुन हाँगो समाउँदा बढी हल्लिन पाइन्छ, उनीहरू त्यसैलाई समात्छन्, चाहे त्यो अमेरिकामा डोनाल्ड ट्रम्पले समातेको ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारा होस् कि भारत भनेको कट्टरपन्थी हिन्दुहरूको मात्र देश हो भन्ने नरेन्द्र मोदीको नारा । ०७२–७४ पछिका केपी ओलीदेखि जनमतसंग्रह भन्ने कोइराला थरका केही कांग्रेसी हुँदै अहिले बालेन शाह, रवि लामिछाने र रवीन्द्र मिश्रसम्म वर्तमान नेपालका ‘पपुलिस्ट’हरूमध्ये कसले कुन हाँगो समाउन खोजेका छन्, क्रमशः देखिई नै रहेको छ ।

पपुलिस्ट राजनीतिलाई बुझ्न अलिकति मनोवैज्ञानिक कोणको पनि आवश्यकता पर्छ । हामी मानिस सरल हैनौं, ‘कम्प्लिकेटेड’ प्राणी हौं । हाम्रा सामाजिक व्यवहार र क्रियाकलापहरू हाम्रो चेतन मनले भन्दा अवचेतनद्वारा बढी निर्दिष्ट हुन्छन् र आफैंले गरेका सामाजिक कार्यको भित्री ‘मोटिभ’ आफैंले थाहा नपाएका हुन सक्छौं । त्यसैले कतिपय राजनीतिक अभियन्ता हेर्दाहेर्दै, कुनै सचेत निर्णय नगरीकनै पपुलिस्ट धारतिर बगिरहेको हुन सक्छ । समाजअनुसार कुन मुद्दाले मानिसलाई सजिलै उक्साउन सक्छ भनेर पपुलिस्टहरूले जोखाना हेरेर बसेका हुन्छन् र बेला आयो भन्ने लागेपछि त्यही विषयलाई हतियार बनाउँछन् ।

१० हजार वर्षजति पहिलेदेखि जब मानिस कृषि कर्म थाल्दै समूह बनाएर बस्न थाले, त्यसपछि मात्र ट्राइबल समुदायहरू बन्न थालेका हुन् । जो अहिले आएर देश, धर्म, जाति आदिका नाममा विस्तारित भएका छन् । राष्ट्र भनेको नै खास एउटा सम्प्रदायको हो, त्यहींभित्रका ‘अरू’को होइन भन्ने हाँगो हिटलरदेखि अहिलेका राष्ट्रवादीहरू सबैका लागि सजिलै उपलब्ध छ । जबकि, कुनै पनि राष्ट्र भनेर चिनिएको अहिलेको राजनीतिक भूगोलमा इतिहासको संयोगले जुनसुकै सम्प्रदायहरू पनि बसेका हुन सक्थे ।

मानिसले पहिले आफ्नो ‘सर्भाइभल’का लागि आफ्नो हित हेर्छ, त्यसपछि उसले ‘आफ्नो’ भनेर उसमाथि थोपरिएको परिभाषा अनुसारको समुदायको हित हेर्छ । पपुलिस्टहरूले समाउने प्रायः गरेर त्यही ‘आफ्नो’ समुदायलाई हो । जस्तो : भारत भनेको हिन्दुको मात्र ‘आफ्नो’ थियो, मुस्लिमहरू आएर इतिहासमा हाम्रो संस्कृति छिन्नभिन्न पारेका थिए, अब त्यसलाई सच्याउनुपर्छ भन्ने दक्षिणपन्थी पपुलिजम मोदीको मूल अस्त्र हो । यस्ताले संस्कृति भनेको आफ्नो मात्र श्रेष्ठ देख्छन् ।

हामीले बाँची आएका समयहरूलाई जति आधुनिक र उत्तरआधुनिक भनेर परिभाषित गरे पनि आमरूपमा मान्छे अवचेतनको तहमा अहिले पनि ‘प्रिमिटिभ’ नै छ । उसलाई ‘आफ्नो’ भन्ने चिजले छोइहाल्छ । आफ्नो गोत्र, जात, धार्मिक समुदाय र राष्ट्र भन्नेबित्तिकै धेरैजसो मान्छे आलोचनात्मक चेत गुमाएर बुरुक्क उफ्रिहाल्छन् ।

समाजका सन्तुलित, उदार र समावेशी एजेन्डाले भन्दा अनुदार एजेन्डाले सम्बन्धित समुदायलाई खिचिहाल्छ । पपुलिस्ट राजनीति झाँगिने त्यही मानवीय ‘प्रिमिटिभ’ पाटोलाई प्रभाव पारेर हो । नत्र भने, अहिलेकै संसद्मा चुनिएर आएका कतिपय सांसदको पृष्ठभूमि र दृष्टिकोण देख्दा मलाई त्यो सांसद पद ‘सित्तै दिए पनि’ नलिऊँजस्तो लाग्छ तर ‘सार्वभौम’ जनताले त्यस्तैलाई पनि निर्वाचित गरेका छन् ।

नेपालकै एक–दुई उदाहरण लिनु पर्दा बालेन शाहको उदय पपुलिस्ट नारा लगाएर भएको जस्तो मलाई लाग्दैन । उनले त्यतिबेला पुराना दलहरूप्रति व्याप्त निराशालाई निसाना गरेर लोकप्रिय भएका हुन् ।

तर, विगत केही महिनाका उनका ‘राष्ट्रवादी’ र ‘म नै सम्प्रभु हुँ’ भन्ने खालका जुन अभिव्यक्ति सुनिन्छन्, त्यसले उनमा पलाएको महत्त्वाकांक्षाले डोर्‍याउने भनेको पपुलिजमतिरै हो भन्ने देखिन्छ । त्यस्तै तुलना रवि लामिछानेबारे पनि गर्न सकिन्छ । जसरी पनि प्रधानमन्त्री हुने महत्त्वाकांक्षाका अगाडि उनले कुन एजेन्डा देशको दीर्घकालीन हितमा होलान् र कुन विषाक्त होलान् भनेर धेरैबेर अडिएर नसोच्न सक्छन् ।

अथवा, समयसँगै उनमा त्यसरी अडिएर सोच्ने क्षमता नै बाँकी नरहने हुन सक्छ । तर, म व्यक्तिगत रूपमा कसैलाई पनि दोष दिन्नँ । किनभने, विम्बमा भन्दा जनताका रूपमा मेरो आवाजलाई प्रतिनिधित्व गरिदिन र मैले कल्पना गरेको जस्तो समाजको परिकल्पना गर्नका लागि न बालेन न त रवि नै बाध्य छन् । उनीहरूले जे जे गर्दै छन्, आफ्नै लागि गरिरहेका हुन्– जसरी केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले गरेका थिए ।

(पपुलिस्ट राजनीतिबारेको रिपोर्ट : 'महत्त्वाकांक्षाको सिँढीमा पपुलिजम'का लागि जगदीश्वर पाण्डेले सापकोटाले गरेको कुराकानीमा आधारित)

प्रकाशित : भाद्र १८, २०८० १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?