कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीति गलत मान्छेको हातमा परेकाले समस्या

घनश्याम भुसाल

काठमाडौँ — नियत वा नियति एउटाले मात्रै केही हुन सक्दैन । नीति वा सिद्धान्त राम्रो नभएर हामीले दुःख पाएको होइन । हरेक सिद्धान्त गलत मान्छेको हातमा परेकाले समस्या सृजना हुने गरेको छ । अहिले नेपालमा रहेको, रोजगारी नजन्माउने दलाल पुँजीवादका कारण अर्थतन्त्रमा समस्या हुने गरेको छ ।

नीति गलत मान्छेको हातमा परेकाले समस्या

हामीसँग धेरै विदेशी सहायता अथवा ऋणका कार्यक्रम छन् । उदाहरणका लागि विगतमा ‘प्याक्ट’ भन्ने संस्था (आयोजना) थियो । त्यो कार्यक्रमको पैसा आयो । आएको अलिकति पैसा मन्त्रालयमै भएकाले खायौं, अलिकति बाहिर भएकाले खायौं, कागज च्यातचुत पार्‍यौं । त्यो कार्यक्रमको निकै नराम्रो मूल्यांकन छ । तर त्यसको ऋण अहिले पनि नेपालीको टाउकोमा छ । यस्तो प्रवृत्ति दलाल पुँजीबाद हो । जसले रोजगारी सृजना गरेन । जुन पैसाले पैसा किन्छ र नाफाले नाफा किन्छ त्यो पुँजी दलालवाद नै हो भन्ने मेरो बुझाइ हो । नेपाली ढाका टोपी लगाउँछ तर पैसाले पैसा किन्छ भने त्यो दलाल पुँजीवाद भयो तर अंग्रेजी बोलेर, टाइसुट लगाएर आउँछ र पनि उसले उत्पादनमूलक क्षेत्रमा लगानी गर्छ भने त्यो ‘प्रोडक्टिभ’ र ‘नेसनल’ हो । जब पैसाले पैसा किन्छ तर श्रम किन्दैन वा श्रमलाई उत्पादनसँग गाँस्दैन भने त्यसले मुलुकलाई फाइदा दिँदैन ।

नेपालमा विगतमा निजीकरण गरिएका १७ वटा सार्वजनिक संस्थानको प्रतिवेदन मैले अध्ययन गरेको छु । प्रतिवेदन ध्वस्त छ, जुन उद्देश्यका लागि निजीकरण गरिएको थियो, त्यो केही पनि भएन । यस्तो प्रवृत्तिलाई दलाल पुँजीवाद भनिएको हो । दलाल पुँजीवाद भन्दैमा आत्तिहाल्नु पनि पर्दैन । जुनसुकै अर्थतन्त्रलाई पनि मूल्यांकन गर्ने भनेको मानिसको जीवनसँग जोडेर हो । जीवनका लागि उत्पादन गर्नुपर्छ, उत्पादनका लागि रोजगारी सृजना हुन्छ । रोजगारीले बैभव सृजना हुन्छ । यद्यपि बैभव बाँडफाँडमा पनि प्रश्न होलान् । त्यहाँ खटपट भयो भने कहिलेकाही रोजगारी गुम्ने अवस्था आइदिन्छ र त्यसले संकट सृजना गरिदिन्छ । यसकारण उत्पादन र रोजगारीले नै अर्थतन्त्रमा फाइदा पुग्ने हो ।

लोकतन्त्रमा राष्ट्रको प्रतिनिधित्व राजनीतिक दलहरुले नै गर्छन् । राष्ट्र निर्माणका पात्रहरु पनि दलहरु नै हुन् । पात्रले नै राष्ट्र बनाउने काम गर्दिनँ भन्नेलाई के भन्ने ? राजनीतिक दलले कसैलाई पनि रोजगारी दिएको छैन । उसले फिरौती वा सुपारी दिएको छ । रोजगारी र फिरौती फरक विषय हुन् । राजनीतिक दलबाट पाएको फिरौतीले श्रम किन्दैन, उत्पादन गर्दैन, सेवा प्रवाह गर्दैन । त्यसकारण सुपारी, फिरौती वा घुसले अर्थतन्त्रको उत्पादनमा योगदान गरेको छैन । यसलाई राजनीतिकरण पनि भन्न मिल्दैन, दलीयकरण भन्नुपर्छ । अझ भन्नुपर्दा दलले घोषणा गरेका कार्यक्रम नै लागू भएका छैनन् । अर्थतन्त्र र राजनीतिप्रति आजको असन्तुष्टि त्यसकै परिणाम हो । अहिले जो गुट खेलाएर बसेको मानिस छ, उ नै धनी छ । उ शक्तिशाली छ । म फेरि पनि भन्छु, अर्थतन्त्रमा सुधार ल्याउन उत्पादन र रोजगारी नै चाहियो ।

ठूलो जनसंख्या कृषिमा छ, दुर्भाग्यवश हाम्रो राजनीतिक दलको आँखा परेको छैन । राजनीतिक दलहरुले तथ्यांक मात्र पढेका छन् । यो क्षेत्रमा धेरै मानिस छन्, तिनको भोट हामीलाई चाहिन्छ भनेरै राजनीतिक दलहरुले घोषणा पत्रमा कृषिका नाराहरु राखेका हुन् । उनीहरुलाई कृषिको आवश्यकता के हो भन्ने जानकारी नै छैन । धेरैजसोलाई कृषि मन्त्रालयमा जाने मन हुँदैन, किनकि त्यहाँ ठेक्कापट्टा कम हुन्छ, पैसा खान पाइँदैनन । हाम्रो पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुले अहिले पनि रोपे फल्छ नै भन्नुहुन्छ । के किसानले नरोपेकाले उत्पादन नभएको हो ? मानौं किसानलाई केही जानकारी नै छैन र उनीहरुले नरोपेकै कारण उत्पादन नभएको हो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको छ ।

अरु ठेक्कापट्टा चलाउन पाइने मन्त्रालय हुँदाहुँदै पनि कृषि मन्त्रालय जाने मान्छे महान हो । वास्तवमा अर्थ, कृषि र उद्योग मन्त्रालयमा जानुपर्ने राम्रो मान्छे नै हो । राम्रो प्रधानमन्त्रीले उनीहरुलाई सहयोग गर्ने हो । तर हुन सकिरहेको छैन । नेपालमा आफ्नो दलको मन्त्रीलाई पनि खुट्टा तान्ने काम भएको छ । कृषिको बारेमा मैले अहिले पनि राम्रो बुझाइ पाएको छैन । मेरो नजरमा राजाको पालामा कृषिको राम्रो व्यवस्था थियो । त्यसपछि हामीकहाँ कृषिको उपयुक्त व्यवस्था बनेको छैन । विदेशी सहायता र अनुदान घटेपछि सबै कृषि कार्यक्रमहरु पनि ढल्यो । पञ्चायत पनि ढल्यो । त्यसपछि तत्कालीन अर्थमन्त्री रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो, जतिबेला बजारको व्यवस्था आयो । तर किसानको व्यवस्था थिएन । बजारको व्यवस्था अनुसार तत्कालीन अर्थमन्त्री महतले मल, बिउ, सिँचाइ सबै छोडिदिनुभयो । राज्यको संरक्षणका हिसाबले आजको दिनमा भारतमा १ हेक्टर जमिनमा ३ लाख ३१ हजार रुपैयाँ अनुदान छ । हाम्रोमा मलको भाउ बढेर आउँदा पनि १० हजार रुपैयाँ मात्र अनुदान छ । संसारभरको कृषि राज्यको संरक्षणमा हुन्छ । अब कृषिमा हस्तक्षेप गर्ने हो, आठ घण्टा कृषिमा काम गरेको मान्छे भोकै सुत्दैन, उसको श्रीमतीको साडी/फरिया सग्लै रहन्छ, उसका बच्चाबच्ची स्कुल जान्छन्, बिरामी हुँदा अस्पताल पुग्न समस्या हुँदैन भन्ने ग्यारेन्टी गरौं । आज किसानलाई त्यही चाहिएको छ ।

(नेकपा एकीकृत समाजवादीका महासचिव भुसालले कान्तिपुर इकोनोमिक समिटमा राखेका मन्तव्यको सम्पादित अंश)


प्रकाशित : वैशाख १७, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?