कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

'अहिले 'बहुराष्ट्रिय राज्य' को मुद्दा उठाउनु असान्दर्भिक'

देशमा अनेक किसिमका विसंगतीहरूले गर्दा द्वन्द्व बढिरहेको छ । अनेक थरिका मान्छेहरू धार्मिक, साम्प्रदायिकलगायत विभिन्न खाले द्वन्द्व बढाउँदैछन् । यही बेलामा हामीले अर्को द्वन्द्वको कुरा गरेर राम्रो हुँदैन ।
दुर्गा खनाल

काठमाडौँ — विभिन्न समूहको फुट र जुटबाट बनेको दल लोसपा फेरि विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीमा असन्तुष्टि राख्दै मोर्चाबन्दी गरिरहेका छन् ।

'अहिले 'बहुराष्ट्रिय राज्य' को मुद्दा उठाउनु असान्दर्भिक'

आन्दोलनको तयारी स्वरुप महतोको मोर्चाले सोमबारबाट भेला बोलाएको छ । महतोका गतिविधिमाथि फरक मत राख्ने लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लसँग ईकान्तिपुरका दुर्गा खनालले गरेको संक्षिप्त कुराकानी :

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पहिले पार्टी नीतिभन्दा पर गएर अभिव्यक्ति दिनुहुन्थ्यो भोलि त छुट्टै कार्यक्रम नै गर्न लागेको देखिन्छ । लोसपामा के भइरहेको हो र उहाँको गतिविधिलाई कसरी हेर्नुभएको छ ?

हामीसँग सल्लाह गरेर, पार्टीको मूलधारमा छलफल गरेर केही भएको छैन । केन्द्रीय कार्यसमिति बनेपछि पहिलो मिटिङमा केन्द्रीय सदस्य चयन गरिए । उहाँले जुन मान्छे राखिएको छ, त्यसमा केही मान्छे छुटे भनेर कुरा राख्नुभएको थियो । लोसपा बनेपछि केन्द्रीय कार्यसमिति बन्यो, त्यो बनाउने जिम्मा बैठकले चयन गर्ने अधिकार अध्यक्षलाई दिएका थियौं । अरु सबैले स्वीकार गर्‍यौं तर उहाँको भनाइ के रह्यो भने केही आन्दोलनकारी साथीहरू छुट्नुभयो ।

सम्बन्धित समाचार :

ती आन्दोलनकारी साथी भन्या एकदुई जना साथीहरू दृश्यमा देखिएका थिए । अरु सुषुप्त रहेका एकदुई दशक पहिले आन्दोलन गरेका थिए । अध्यक्षले भन्नुभयो र हामीले सुझाव दियौं कि, राजेन्द्रजीले अध्यक्षलाई नाम दिने र त्यसलाई केलाएर, विश्लेषण गरेर जो छुट्या छ, जेन्युनलाई राखिदिने । ३०० जनाको कार्यसमिति हो विधानमा, ४०० जनासम्म हुने भनेको छ । अध्यक्षले ४०-५० जनाको नाम दिनुस्, राखिदिन्छु भन्नुभएको थियो । तपाईंले दिएकोमध्ये धेरैको नाम राख्या छौं भन्नुभएको थियो । तर, उहाँले नाम दिनुभएन ।

त्यही कारण अहिले अन्य मुद्दा उठाउनु भएको हो ?

उहाँले बहुराष्ट्रिय राज्य को इस्यु उठाएर अरुअरु दल र विभिन्न ठाउँमा जानुभयो । सप्तरीलगायत विभिन्न जिल्लामा जानुभयो । आन्दोलन गर्ने भन्नुभयो कहिँ रेस्पोन्स भएन । अफिसियल्ली यो इस्यु पार्टी बैठकमा राखेर छलफल गर्नुपर्ने त्यो कहिल्यै भएन ।

हाम्रो भनाइ के छ भने अहिले आन्दोलन गर्ने बेला छैन । त्यसै देशमा अनेक किसिमका विसंगतीहरूले गर्दा द्वन्द्व बढिरहेको छ । अनेक थरिका मान्छेहरू धार्मिक, साम्प्रदायिक लगायत विभिन्न खाले द्वन्द्व बढाउँदैछन् ।यही बेलामा हामीले अर्को द्वन्द्वको कुरा गरेर राम्रो हुँदैन ।

अहिले अनुकूल बेला छैन । कोही आन्दोलनको मुडमा पनि छैन । जे छ काठमाडौं हिँडेर आइरहेका छन् । अरुअरु इस्यु उठाइरहेका छन् । यो बहुराष्ट्रिय राज्यको इस्युमा अहिले कुनै आन्दोलनको सम्भावना हामीले देखेनौं । उहाँको भनाइ गरौं भन्ने थियो । उहाँले यो कुरो पार्टीको फोरममा राखेर छलफल गर्नुपर्थ्यो र हामीलाई कन्भिन्स गर्नुपर्ने यो आन्दोलनको लागि । उहाँले पम्पलेट छपाउनुभयो । उहाँसँग पार्टीको कोही जिम्मेवार मान्छे संलग्न छैन, महासचिव केशव झा बाहेक । अरु जति मान्छेहरूको नाम छ कोही लिम्बुवान, कोही खम्बुवानबाहेक कहिँ देखिएन ।

उहाँलाई रोक्नेबारे केन्द्रीय समितिमा कुनै छलफल गर्नु भएन ?

पार्टीको केन्द्रीय समितिमा केही कुरा भएन । उहाँले आन्दोलन गर्न खोज्नुभएको छ भने उहाँ रोकेर रोकिने होइन । हामीकहाँ आएर सोध्नुभयो भने छलफल गरौंला । कहिल्यै कुरा राख्नुभएन तर बाहिर गएर पम्पलेट छाप्नुभयो, बाँड्नुभयो । संस्थागत रूपमा कहिले प्रस्तुत हुनुभएन । अहिले उहाँको इशारामा उहाँको एकजना महासचिवले अध्यक्षजीलाई छोडिदिनुस् १६ वर्षसम्म केही गर्नुभएन मधेस हाँक्दा, यो गर्नुभयो ऊ गर्नुभयो ? भन्ने चार्ज लगाएर चिठी पठाउनुभएको छ ।

नेतृत्व हस्तान्तरणको कुरा छ नि ?

सडकमा उभिएर प्रधानमन्त्रीको राजीनामा मागेर आजसम्म कुनै प्रधानमन्त्रीले राजीनामा गरेको त मलाई थाहा छैन । एकजना मान्छे सडकमा उभिएर ए प्रधानमन्त्री राजीनाममा दे, फलानो राजीनामा दे भनेर त कसैले दिँदैन । संसद्मा सदनको बहुमतले अविश्वास प्रकट गरेर बल्ल राजीनामा दिन्छ । हामीले के भन्यौ भने नेतृत्व हस्तान्तरण गर्नका लागि अधिवेशन गर्नुपर्छ । महन्थजीले त पहिले नै भन्दै हुनुहुन्छ ठिकै छ नि मैले कसलाई छोडिदिने ? त्यो त कार्यकर्ताहरूले संस्थागत रूपमा डिसाइड गर्नुपर्‍यो । वडादेखि केन्द्रसम्म अधिवेशन गरेर नेतृत्व चयन गरौं सबै ठाउँमा । त्यसमा सैद्धान्तिक रूपमा सहमति दिइसकेका छौं । भोलि मिटिङ पनि छ यसबारेमा । उहाँले केही कुरा गर्नुभयो भने अधिवेशनबारे कुरा गरेर तत्काल सम्भव भए तत्काल नभए सैद्धान्तिक रूपमा अधिवेशन गर्ने र त्यसका लागि मिति तय गर्ने भनेर भन्ने कुरा हामीले गर्छौं ।

महतोले उठाउनुभएको मागले मान्छेहरूलाई झन् बढी विभाजनमा लाँदैन ?

त्यै भनेको मैले नि । अहिले त्यो कुराहरू सही समयमा उहाँले एकचोटी याद होला । उहाँ ओलीजीको क्याबिनेटमा पर्ने बेलामा शपथ ग्रहण गरेर बाहिर आउनासाथ उहाँले त्यै विषय उठाउनुभयो । उहाँ त स्टन्ट राजनीतिज्ञ हो । स्टन्ट खेल्नका लागि गर्नुभयो । म त भैरहवा थिए यहाँ थिए ।

तर २४ घण्टाभित्र उहाँले भन्नुभयो कि मैले त्यो भन्या होइन मिडियाले छापिदियो । मैले त्यो कुरा फिर्ता लिन्छु भनेर बकाइदा विज्ञप्ति नै निकाल्नुभयो । उहाँले त्यो गरेर फेल भइसक्या इस्युलाई अहिले जगाएर काम लाग्दैन नि । उहाँले ट्राइ गरिसक्या फेल भइसक्यो, त्यो काम त लागेन । आफैं फिर्ता लिनुभयो । कसैले उहाँलाई बलजफ्ती करकापले दस्तखत गराएन । उहाँले आफ्नो कुर्सी बचाउनका लागि त्यो डिमान्ड फिर्ता लिनुभयो । उहाँले म यो डिमान्ड फिर्ता लिँदैन बरु मन्त्री पद छोड्छु भनेको भए यो इस्यु उठाउँदा हिरो भएर जानुहुन्थ्यो । तर उहाँले अन्यथा गर्नुभयो । उहाँले त मन्त्रीको कुर्सी जोगाउनका लागि त्यो इस्यु छोडिदिनुभएको थियो । हामीले उहाँलाई भेट्दाखेरि हाम्रो पुनित सल्लाह के हुन्छ भने यसबारे छलफल गरौं । यसको व्यापकतामा जाउँ । आन्दोलनको जरुरी छ भने आन्दोनमा जाउँ । यो इस्यु काम लाग्छ भने लिउँ नत्र जुन इस्यु काम लाग्छ त्यो इस्यु लिएर जाउँ भन्ने हुन्छ ।

उहाँले त देशभरीको मान्छे दबोलाएर भेला आयोजना गर्नुभएको छ र पार्टी बैठक पनि बहिष्कार गर्नुभएको छ नि ?

ठिकै छ उहाँले मान्छे त धेरैपल्ट बोलाउनुभएको छ । उहाँको पार्टी अलग हुँदा पनि देशभरीका मान्छे बोलाएर भेला गरेरै अधिवेशन गर्नुहुन्थ्यो । हाम्रो त सबै ठाउँमा मान्छे छ नि । जिल्ला कार्यसमिति छ, पालिका र वार्ड समिति छ । उहाँ सबै जिल्लामा जानुभयो तर कहिँ पनि एक दर्जन भन्दा बढी मान्छे जम्मा भएनन् । त्यसैले अहिले उहाँले भेला गर्नुहुन्छ । उहाँको महत्त्वकांक्षाले सही गलत गराइहाल्छ, त्यसमा हामीलाई के ! १० जना मान्छेले गरिराख्नुभएको छ ।

प्रकाशित : फाल्गुन १३, २०८० २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?