‘एमालेले मलाई समर्थन गर्दा राष्ट्रिय सहमति बन्छ’- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
अन्तर्वार्ता

‘एमालेले मलाई समर्थन गर्दा राष्ट्रिय सहमति बन्छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उनको दल मात्रै समर्थक रहेको छ ।

राष्ट्रपति निर्वाचनलगायत विषयमा रहेर कान्तिपुरकर्मी कुलचन्द्र न्यौपानेले पौडेलसँग गरेको कुराकानीको अंश-


कांग्रेस, माओवादीसहित आठ दलबाट राष्ट्रपतिमा उम्मेदवारी दिँदा कस्तो अनुभव भएको छ ?

आठ दलमा संविधान र परिवर्तनका उपलब्धिलाई जोगाउने चिन्ता छ । यसैका लागि एक ठाउँमा मिल्नुपर्छ भनेर शुक्रबारबाट नयाँ राजनीतिक बाटो निर्माण भएको छ । हामी सबैलाई विगतमा दुई–दुई पटक भएको संसद् विघटनको घटनाले चस्का पसेको छ । अब फेरि त्यस्तै घटना नहोस् र संसद्को स्थायित्व कायम होस् भन्ने सोचेरै एक ठाउँमा उभिएका हौं । राजनीतिलाई अब विघटन र अस्थिरताको दिशामा लैजान हुन्न । पाँच वर्षसम्मै संसद्को स्थायित्व सुनिश्चित गरेर अघि बढ्नुपर्छ ।

तपाईंलाई जिम्मेवारी र दायित्वको भारीले थिचेजस्तो लागेको छ कि छैन ?

म फिल्ड वर्कर हो । फिल्डमा गएर राजनीति गर्न रुचाउँछु । लामो समय सक्रिय राजनीतिबाट आएकाको स्वभाव र आनीबानीले भलाद्मी भएर बस्न सुरुमा अलिअलि समस्या पर्ला तर लामो ज्ञान र अनुभवले पनि अब आउने जिम्मेवारी बहन गर्न सक्छु भन्नेमै छु ।

तपाईंले राष्ट्रिय सहमतिका लागि पहल गर्छु भन्नुभएको छ, यो कति सम्भव छ ?

हामीले लामो संघर्ष, दुःख, कष्ट, बलिदान र योगदान गरेर व्यवस्थाको टुंगो लगाएका हौं । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रले गर्दा तल्लो तहमा थिचिएर, पिल्सिएर रहेका जनजाति, मधेसी, दलित, महिला, थारू, मुस्लिमलगायत सबैले राजनीतिक र समानुपातिक समावेशिताको अधिकार पाएका छन् । ठूलो उपलब्धि बोकेको संविधानमाथि प्रहार गर्न थालिएको छ । अहिले संविधानलाई जोगाएर सँगै अघि बढ्नुपर्ने दायित्व छ । हामी सबैमा देशभक्तिको भावना छ भने मिलेर अघि बढ्नुपर्छ भनेरै राष्ट्रिय सहमतिका लागि पहल गर्न खोजेका हौं ।

एमालेसँग राजनीतिक दूरी बढेको छ । उसले राष्ट्रपतिमा सुवास नेम्वाङलाई अघि सारेको छ । यस्तो अवस्थामा सहमति सम्भव छ ?

लामो राजनीतिक संघर्षबाट आएको र समकालीन नेताहरूमा सबैभन्दा सिनियर मै छु । त्यसकारण एमालेलाई मेरो पक्षमा सहमति गर्न सहज हुन्छ । अहिलेको मुख्य दायित्व भनेकै संविधानको संरक्षण र परिवर्तनको रक्षा गर्नु हो । म यसको असली संरक्षक हुनेछु । सबै राजनीतिक दलको संरक्षक र अभिभावक हुनेछु ।

तपाईं एमालेसँग पनि सहमतिका लागि पहल गर्दै हुनुहुन्छ ?

हो, एमालेका नेताहरूसँग पनि सहमति गरौं भनिरहेको छु । राष्ट्रिय स्वतन्त्र पार्टी र अरू दलसँग पनि पहल गरिरहेको छु । मैले सुरुदेखि भन्दै आएको हुँ, पछि प्रधानमन्त्रीजीले सहमतिका लागि पहलकदमी लिनुभयो । उम्मेदवारी दिने बेलासम्म सहमति हुन सकेन तर अझै समय छ । संसद्को ठूलो दल भएकाले कांग्रेसलाई राष्ट्रपति दिनु जनमतको सम्मान हुन्छ । एमालेले सभामुख पाइसकेको छ, यसैमा चित्त बुझाउन सके सहमतिको सम्भावना बढ्छ ।

उम्मेदवार बन्नुअघि तपाईंलाई एमाले नेताहरूबाट पनि सहमतिका लागि पहल गर्नुहोस् भन्ने सुझाव आएको साँचो हो ?

कांग्रेसलाई र व्यक्तिगत रूपमा मलाई भनिएको छैन । उहाँहरूले हामी उम्मेदवार दिन्छौं, त्यसैमा सहमति गरौं भन्नुभएको हो । त्यो पनि हामीसँग होइन, सत्ता गठबन्धनमा रहेका दलसँग भन्नुभएको हो । उम्मेदवार चयन गर्ने बखतमै एमाले मानिदिएको भए मुलुकमा राम्रो सन्देश जान्थ्यो ।

सहमति हुने कत्तिको विश्वास छ ?

राजनीति हो, अहिल्यै केही भन्न सकिने स्थिति छैन ।

प्रकाशित : फाल्गुन १४, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

‘माओवादीको मत आउने विश्वास छ’

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उनको दल मात्रै समर्थक रहेको छ । अरू दलको समर्थन जुटाउन एमालेले पत्राचार सुरु गरिसकेको छ ।

राष्ट्रपति निर्वाचनको सेरोफेरोमा रहेर कान्तिपुरकर्मी मकर श्रेष्ठले राष्ट्रपतिका उम्मेदवार नेम्वाङसँग गरेको कुराकानीको अंश-

तपाईंको उम्मेदवारी किन ?

हामीले एउटा प्रणालीलाई हटाएर संविधान बनाउने क्रममा जुनसुकै कुलमा जन्मेका छोरा वा छोरी होस्, राष्ट्राध्यक्ष बनाउने प्रणाली बनायौं । जनताले जनतालाई राष्ट्रपति बनाउने व्यवस्था संविधानले स्थापित गर्‍यो । संविधानले राष्ट्रपतिलाई संविधानको संरक्षकका रूपमा स्थापित गर्ने प्रयास गरेको छ । तसर्थ आफ्नो अध्यक्षतामा बनेको संविधानाको विगतका अनुभवलाई ध्यानमा राख्दै संविधानको पालन, संरक्षण गर्ने र विविधता बीचको एकता प्रवर्द्धन गर्ने भूमिका निर्वाह गरूँ भनेर म अग्रसर भएको छु ।

हिसाबले त तपार्इंका पक्षमा मतभार कम देखाउँछ, जित्ने आधार के छ ?

मैले निर्वाह गरेको भूमिकाप्रति संघीय र प्रदेश सांसदहरू जानकार हुनुहुन्छ । उहाँहरूसँगको भेटघाट र सम्पर्कबाट म उत्साहित छु । उहाँहरूको हौसला र साथ नै निर्वाचित हुने आधार हुन् ।

प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेका दललाई पनि तपाईंको पार्टीले चिठी पठाएर मत माग्न सुरु गरेको छ । कांग्रेसलाई पनि पत्र पठाउनुभयो कि ?

अहिले हामीले जुन प्रणाली अपनाएका छौं, यसको सुन्दरता भनेकै दलहरूबीचमा हार्दिक सम्बन्ध हो । दलहरू यस्तै सम्बन्धका आधारमा देश र जनताको सेवामा लाग्नुपर्छ । निषेधको राजनीतिक होइन, स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले दलहरूका बीचमा भेटघाट कम भयो भने चिन्ता गर्नुपर्छ । जति धेरै भेटघाट भयो, त्यति नै राम्रो मान्नुपर्छ । त्यसैले दलहरूका बीचमा हार्दिक सम्बन्ध विस्तार गर्ने प्रयास रहन्छ । सबै दलसँग मतदानमा सहयोगका लागि आग्रह गरेका छौं । कांग्रेसले पनि उम्मेदवारी दिएकाले उहाँहरूलाई पत्र लेखेर मत मागेका छैनौं । व्यक्तिगत रूपमा सबैसँग भोट माग्छौं ।

माओवादी र एमालेसहितको गठबन्धन कायमै रहँदा तपाईंको नाम खासै चर्चामा आएको थिएन । त्यसबेला तपाईंको नाम आएको भए यस्तो स्थिति हुने थिएन भन्ने पनि छ नि ?

कतिपय कुरा नेताहरूका बीचमा मात्रै सीमित भएको हुन्छ । यस बीचमा हाम्रा पार्टी अध्यक्ष र प्रधानमन्त्री पुष्पकमल दाहालबीचमा व्यापक र बाक्लो छलफल भएको हो । छलफलमा के–के कुरा आयो, अहिले चर्चा गर्न चाहन्नँ । राम्रो छलफल भएको हो ।

अनि माओवादीसँगको सम्बन्ध कसरी बिग्रियो त ?

हाम्रो सम्बन्ध बिग्रिएको छैन । अहिले पनि सम्बन्ध कायमै छ । बाहिर देखेजस्तो तिक्तता छैन । माओवादीसँग पुस १० मा भएको सहमतिको पृष्ठभूमिमा मेरो उम्मेदवारी परेको हो ।

माओवादी तपाईं हरूको कित्ताबाट बाहिरिएपछि एमाले अब सरकारमा रहन्छ कि बाहिरिन्छ ?

पार्टीको बैठकले मलाई उम्मेदवार बनाउने मात्रै निर्णय गरेको छ । सरकारका बारेमा केही निर्णय गरेको छैन । यसबारेमा सोचेको पनि छैन ।

२५ गते निर्वाचनसम्म सरकारमै रहने अनि बाहिरिने भन्ने कुरा आएको छ नि ?

अनुमान गरेजस्तो नहुन सक्छ । हाम्रो सम्बन्ध झन् हार्दिक हुन्छ ।

एमाले र माओवादीको सम्बन्ध कित्ता नै परिवर्तन गर्ने गरी के कारणले बिग्रियो ?

माओवादी अन्त गएको हाम्रो बुझाइ छैन । उहाँसँग हामी सरकारमा छौं । त्यसैले सम्बन्ध बिग्रिएको कसरी भन्न मिल्छ ? हामी एकै ठाउँमा भएकाले २५ गतेको निर्वाचनमा मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ ।

प्रकाशित : फाल्गुन १४, २०७९ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×