कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१० दिनदेखि माइतीघरमा उभिएका चापागाईं भन्छन्- 'इसीडी शिक्षा सुधारमा शिक्षामन्त्रीले बेवास्ता गर्नुभयो'

काठमाडौँ — प्रारम्भिक बालविकास शिक्षा (इसीडी) सुधारको माग राख्दै १० दिनदेखि माइतीघर मण्डलामा उभिएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले इसीडी शिक्षा सुधारको मागमा शिक्षामन्त्री सुमना श्रेष्ठले बेवास्ता गरेको आरोप लगाएका छन् । 

१० दिनदेखि माइतीघरमा उभिएका चापागाईं भन्छन्- 'इसीडी शिक्षा सुधारमा शिक्षामन्त्रीले बेवास्ता गर्नुभयो'

शुक्रबार शिक्षामन्त्री सुमना श्रेष्ठलाई खुलापत्र लेख्दै आन्दोलनरत चापागाईंले आफ्नो आन्दोलन र मागहरुबारे ध्यानाकर्षण गराएका हुन् । उनले जेठ २ गतेदेखि दैनिक ८ घण्टा काठमाडौंको माइतीघर मण्डलामा उभिएर सरकारलाई दबाव दिइराखेका छन् । बिहान १० बजेदेखि ५ बजेसम्म उभिएर बिरोध गरिरहेका उनलाई पाँचौँ दिन शिक्षामन्त्री सुमन श्रेष्ठ स्वयम् माइतीघर पुगेकी थिइन् ।

भेट्न आएपनि त्यसपछि मागमा वेवास्ता गरेको चापागाईंले लेखेको पत्रमा उल्लेख छ । उनका मागमा अन्य राजनीतिक दल सम्बद्ध विद्यार्थी संघसंगठनले पनि ऐक्ववद्दता जनाउँदै आएका छन् ।

चापागाईंले सरकार सामु ६ बुदें माग समेत अघि सारेका छन् । इसीडीका बालबालिकालाई दिने दिबा खाजाको रकम वृद्धि गर्नुपर्ने, इसीडी शिक्षकको शैक्षिक योग्यता र मासिक पारिश्रमिक वृद्धि गर्नुपर्ने, सामुदायिक र निजी विद्यालयमा सञ्चालित इसीडी कक्षाका एकरुपता कायम गर्नुपर्ने, इसीडी शिक्षकको दरबन्दी कायम गरिनुपर्ने लगायतका माग अघि सारिएको छ । चापागाईंले सरकारले माग पुरा नगरेसम्म दैनिक माईतीघरमा ८ घण्टासम्म उभिएर दबावमूलक कार्यक्रम जारी राख्ने बताए ।

चापागाईंले शिक्षामन्त्री श्रेष्ठलाई लेखेको पत्र

माननीय मन्त्री ज्यु, नमस्कार !

माइतीघर सडकबाट यहाँको कुशलताको कामना गर्दछु। यो सडक पेटीमा उभिनु अघि २०८१ बैशाख २८ गते मैले तपाईंको नाममा ECD शिक्षाको समस्याहरू राखेर पहिलो खुला पत्र लेखेको थिएँ। त्यसपश्चात जेठ २ गते देखि #StandingForECD अभियान घोषणा गरि उभिरहेको छु। समाधान सहित तपाईंको जवाफको आशामा उभिएको पाचौं(५) दिनमा तपाईं मलाई भेट्न सडकमै आउनुभयो र छिट्टै वार्तामा बोलाउँछु भनेर जानुभयो तर आज दशौं(१०) दिनसम्म केही खबर आएन।

यो मुद्दा आज हाम्रो मात्र नभई सबै नेपालीको साझा मुद्दाको रुपमा स्थापित हुँदै गएकोमा हामी अत्यन्त खुशी छौं। आज देशका प्रत्येक सरकारी विद्यालयहरुमा यहि मुद्दालाई लिएर ECD शिक्षक/शिक्षिकाहरु उभिरहेका छन्। नेपाल बालविकास केन्द्रीय संघर्ष समितिले यस #StandingForECD अभियानको पूर्ण सफलताको कामना सहित जेठ ६ गते ऐक्यवद्धता विज्ञप्ति निकालेसंगै यो मुद्दा प्रत्येक विद्यालयमा छलफलको विषय बनिरहेको छ। हिजो मात्र देशमा क्रियाशिल विभिन्न १३ विद्यार्थी संघ/संगठनहरुले माईतिघरको सडक बाटै ऐक्यवद्धता व्यक्त गरेका छन्। यसरी #StandingForECD अभियान दिन प्रति दिन सबैको चासो र बहसको विषय बनिरहेको छ।

यो अभियान तपाईंको विरुद्धको नभएको कुरा मैले यस अघि नै बताईसकेको छु। यो अभियान तपाई जस्ता नयाँ मन्त्रीलाई सघाउने वैकल्पिक तरिका पनि हो भन्ने हामीलाई लागेको थियो। तर ध्वंसात्मक तरिका नअपनाएसम्म वा मान्छे नढलेसम्म गम्भीरतापूर्वक नलिने परम्पराकै निरन्तरता तपाईले पनि पछ्याउनु भयो। व्याप्त असंख्य समस्याहरु मध्ये एउटा महत्त्वपूर्ण तर धेरैको ध्यान नगएको विषयप्रति ध्यानाकर्षण गराउन यो अभियानले महत्त्वपूर्ण भूमिका खेलेको विषयमा कसैको संदेह रहेन। तथापि यतिका दिन बित्दा पनि तपाईको मन्त्रालयबाट अभियानप्रति गरिएको बेवास्ताले अन्तत्वगोत्वा तपाईं र सरकारकै साख गिराउनेछ। तसर्थ म माननीयज्युलाई अभियान र यसले उठाएका विषयप्रति गम्भीर भई अविलम्ब संबोधन गर्नुहुन पुन: अनुरोध गर्दछु।


तपाईंको प्रतीक्षामा

नेत्र चापागाईं

अध्यक्ष

नेपाल समाजवादी विद्यार्थी युनियन

११ जेठ २०८१

प्रकाशित : जेष्ठ ११, २०८१ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?