कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

केयूमा डेटा साइन्समा स्नातक  

काठमाडौँ — काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातक तहमा डेटा साइन्स (बीडीएस्सी) पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयको स्कुल अफ साइन्स अन्तर्गतको गणित विभागले आगामी शैक्षिक सत्रदेखि चार वर्षे बीडीएस्सीको अध्यापन सुरु गर्ने जनाएको हो ।

केयूमा डेटा साइन्समा स्नातक  

पछिल्लो समय सूचना प्रविधि क्षेत्रमा भएको तीव्र विकाससँगै आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका बीडीएस्सीको अध्ययन/अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । बीडीएस्सीका विद्यार्थीले गणितको गहन अध्ययनमार्फत सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्ने विश्वविद्यालयका गणित विभाग प्रमुख प्रा.डा. रवीन्द्र कायस्थले बताए ।

एक सय २० क्रेडिट आवरको बीडीएस्सी गणित, कम्प्युटर साइन्स, तथ्यांकशास्त्र र बिजनेश इन्टेलिजेन्सको एकीकृत कोर्स हो । यसअर्न्तगत सुरुका दुई वर्ष कम्प्युटिङका लागि आवश्यक पर्ने कोडिङ, ग्राफिक्स, सिस्टम, नेटवर्क र डेटाबेसबारे अध्यापन हुन्छ ।

कक्षा १२ अथवा सो सरहको परीक्षामा कम्तीमा २.० सीजीपीए वा ५० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थी बीडीएस्सीमा भर्ना हुन सक्ने जनाइएको छ । विश्वविद्यालयले एक शैक्षिक सत्रमा बढीमा ३० जना विद्यार्थी भर्ना गर्ने र प्रवेश परीक्षाको प्राप्तांकका आधारमा तीन जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । त्यसका साथै, प्रत्येक सेमेस्टरमा मेरिटका आधारमा एक जनाले छात्रवृत्ति पाउने प्राध्यापक कायस्थले बताए ।

बीडीएस्सी उत्तीर्ण विद्यार्थीले प्रविधि कम्पनीमा डेटा इन्जिनियर, डेटा आर्किटेक्ट, डेटा एनालिस्ट, डेटा साइन्टिस्टका रूपमा कार्य गर्न सक्ने कायस्थले बताए । त्यस्तै, विद्यार्थीहरूले मेसिन लर्निङ, सफ्टवेयर डेभलपमेन्ट लगायतका क्षेत्रमा पनि काम गर्ने सक्ने उनको भनाइ छ । ‘डिजिटल जमानामा डेटा निकै बहुमूल्य सम्पत्ति हो,’ प्राध्यापक कायस्थले भने, ‘बीडीएस्सीको अध्ययनपछि विद्यार्थीमा डेटा के हो र यसको आवश्यकता, महत्व र प्रयोगबारे स्पष्ट हुन्छ ।’

विश्वविद्यालयको गणित विभागले हाल प्रविधिमैत्री चार वर्षे कम्प्यूटेशनल म्याथमाटिक्सका साथै एमएस्सी, एमफिल, पिएचडी इन गणित र तथ्यांकशास्त्र पनि सञ्चालन गर्दै आएको छ ।


प्रकाशित : जेष्ठ २५, २०८१ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?