कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘हाम्रा १५ सय हाराहारी ग्र्याजुएटले नेपालको साइबर सुरक्षा क्षेत्र धानिरहेका छन्’ 

काठमाडौँ — उच्च शिक्षाका लागि क्याम्पस सञ्चालक र प्रविधिका माध्यमबाट पठनपाठन गराउने प्लेटफर्मको विस्तारमा उद्यमी सुलुभ बुढाथोकी क्रियाशील छन् ।

‘हाम्रा १५ सय हाराहारी ग्र्याजुएटले नेपालको साइबर सुरक्षा क्षेत्र धानिरहेका छन्’ 

आईएनजीका संस्थापक बुढाथोकीसँग उच्च शिक्षाका नयाँनयाँ विषय/कार्यक्रम विस्तार र नयाँ पद्धतिबाट शिक्षण सिकाइ कसरी प्रभावकारी गराउन सकिएला भन्नेलगायत विषयमा सुलभ बुढाथोकीसँग गत मंगलबार आयोजित कान्तिपुर एजुकेसन समिटको ‘नेपालमै गुणस्तरीय उच्च शिक्षा कसरी ?’ सत्रमा कान्तिपुरकर्मी श्रद्धा अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

देशमा रहेका ११ सय/१२ सय उच्च शिक्षा प्रदायक छन् । तीमध्ये कोही अहिले आपसमा गाभिने, खारेज हुने वा विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा पुगेका छन् । तपाईंको इस्लिङ्टन कलेजमा चाहिँ विद्यार्थीको ओइरो लागिरहेको छ । किन होला ?

ओइरो लागेको त नभनौं हामी खुम्चिएका छैनौं । चाहे कोभिड होस्, चाहे लकडाउन होस्,स्थापनाकालदेखि नै हामी हरेक वर्ष ग्रोथमा छौं । विद्यार्थीहरू सबै बाहिर गइरहेको यो भयावह स्थितिमा पनि हामीकहाँ भने बर्सेनि विद्यार्थीको संख्या बढिरहेको छ । हामीले भर्ना लिनसक्ने क्षमताभन्दा बढी विद्यार्थी आइरहेका छन्, फिर्ता पठाउनुपर्ने स्थिति छ । यो आकर्षणका पछाडिको एउटै कारण भनेको हाम्रा विद्यार्थी र स्टेकहोल्डरहरू खुसी र सफल हुनु हो ।

हाम्रो पढाउने विधि (पेडागोजी) अन्य शैक्षिक संस्थाहरूको भन्दा फरक छ । विद्यार्थीले परीक्षामा अंक ल्याउन पढ्ने र शिक्षकले पनि अंक ल्याउन नै पढाउने परम्परागत शिक्षण प्रणाली आजको परिवेशले स्विकार्दैन । आजको दिनमा विश्वलाई चाहिने जनशक्ती तयार गर्न कसैले लेखेको किताब पढाएर पर्याप्त हुँदैन । तसर्थ, पहिलो कुरा, हामीले पढेको कुरा लागू हुने पेडागोजी हामीले अपनाएका छौं । दोस्रो कुरा, टिचिङ रिसोर्सेजमा हामीले फरक विधि रोजेका छौं । कुन जमानामा लेखेको किताब आज पढाएर हामीले कुन स्तरको जनशक्ती निकाल्दै छौं ? तेस्रो कुरा, शिक्षक । सबै दोष शिक्षकलाई दिइन्छ तर शिक्षक खम्बा हो भन्ने हामीले महसुस गरेका छौं त ? शिक्षणलाई ग्लामसर क्षेत्र किन बनाउन नसकिएको ? हामीले हाम्रा शिक्षकको जीवन ग्लामसर बनाउने गरी काम गरिरहेका छौं ।

यी तीनवटा कुरासँगै शिक्षा क्षेत्रको समग्र इकोसिस्टममा काम गर्नुपर्छ । उच्च शिक्षाको फाउन्डेसन विद्यालय शिक्षा हो । उच्च शिक्षाले देश निर्माण गर्न प्रोफेसनलहरू तयार गर्नुपर्छ । यसका लागि विद्यालय शिक्षाको भूमिका ठूलो हुन्छ । त्यहाँ विद्यार्थीलाई नेपालमै गर्न सकिन्छ, यहाँ अवसर छ भनेर सिकाएको छ ? मेरै छोराछोरी पढ्ने विद्यालयमा ‘यो निबन्ध यसरी लेखिस् भने अमेरिका, अस्ट्रेलियाको फलानो विश्वविद्यालयमा निवेदन स्विकृत हुन्छ’ भनेर पढाइएको छ । हामीले चाहिँ नेपालमै बसेर, यहीँ पढेर तहल्का मच्चाउन सकिन्छ, नेपालमा बसेर विश्वको काम गर्न सकिन्छ भनेर कहिले सिकायौं ?

हामीकहाँ पढेका सबै विद्यार्थी पनि नेपालमै बसेका त छैनन् । तर आजको दिनमा सूचना प्रविधि क्षेत्रमा अनुभवी प्रोफेसनल चाहिन्छ भने म दुई हजारजना अहिले नै निकाल्न सक्छु, हाम्रो अलमुनाइबाट । दक्ष युवालाई स्वेदशमै राखेर हामीले सूचना प्रविधिसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका छौं । आजभन्दा १२ वर्षअघि हामीले साइबर सुरक्षाको कोर्स शुरु गरेका थियौं, आज हाम्रा १५ सय हाराहारी ग्र्याजुएटले नेपालको साइबर सुरक्षा क्षेत्र धानिरहेका छन् । इन्डोनेसिया, बंगलादेशमा समेत साइबर सुरक्षाका जनशक्ती हाम्रोभन्दा कम छन् । हामीले बच्चाहरूलाई नेपालमै काम गर्ने हो र कसरी गर्ने भन्ने कुराको विधिसमेत सिकाइरहेका छौं ।

बाहिरतिर पढ्दै कमाउँदै गर्ने ‘अर्न एन्ड लर्न’ को अभ्यास छ । नेपालमा पनि यो अभ्यास गर्न सकिँदैन ?

सकिन्छ । हामीले त्यो अभ्यास अवलम्बन गरिसकेका छौं । हामीले यस्तो इकोसिस्टम विकास गरेका छौं जहाँ विद्यार्थीहरू पढिरहँदा नै इन्ड्रस्टिमा काम गर्दाको अनुभव हासिम गर्न सक्छन् । उदहारणका लागि साइबर सुरक्षा र मल्टिमिडिया विषयका विद्यार्थीले दोस्रो वर्षदेखि नै हामीले स्थापना गरेको इन्नोभेट टेकमा गएर एनिमेसनको काम गर्छन् भने भैरव टेकमा गएर साइबर सुरक्षाका टुलहरूमा अभ्यास गर्छन् । हाम्रा संस्थाहरूमा पढ्दा पढ्दै कमाइरहेका सयौं विद्यार्थीहरू छन् । परिवर्तन गर्नुपरेको कुरा भनेको हाम्रा बच्चाहरूले कमाउँदै पढ्न सक्दैनन् भन्ने मानसिकता हो । हामीले उनीहरूलाई पढाउँदाखेरि अब्बल सिप दियौं भने रोजगारी त यहाँ जति पनि छन् । नेपालका हरेक निजी क्षेत्रलाई जनशक्तीको अभाव छ । तर अर्कातिर विद्यार्थीहरू बेरोजगार छन् । यो ग्याप टाल्न सक्ने हो भने वा स्किलफुल एजुकेसन दिन सक्ने हो भने पर्याप्त रोजगारीका अवसर छन् । निजी क्षेत्रका हामी जति पनि साथीहरू छौं, हामी शिक्षासँगै उद्योग स्थापनामा लागिपरेका छौं । कतिपय निजी स्कुलमा पढ्दा-पढ्दै काम गर्ने वातावरण हामीले निर्माण गरेका छौं ।

पर्यटनसँगै हामीले विदेशी विद्यार्थीलाई चाहिँ कसरी आकर्षित गर्न सक्छौं ? बाहिरका विद्यार्थीलाई यहाँ ल्याउन सक्ने अवस्था छ कि छैन ? एमबीबीएस र आईओएसमा अझै पनि आकर्षण छ । अन्य फ्याकल्टीमा आउन चाहनेका लागि बाधा-अड्चन छन् । यसलाई कसरी सुधार्न सकिएला ?

म निराशावादी हुन चाहन्नँ । हामी अहिले पनि क्लालेन्डर कार्यान्वयनको विषयमा बहस गर्दै छौं । यो त आधारभूत र पहिलो प्राथमिकता हुनुपर्ने हो । यति आधारभूत कुरामा बहस गर्नुपर्ने अवस्था छ । अझ, शिक्षा सेवा हो कि व्यवसाय हो भन्नेमा पनि हाम्रो बहस चलेकै छ । यो सेवामूलक व्यवसाय हो भन्न हामी हिचकिचाइरहेका छौं । हाम्रो विशेषज्ञता हुने योगिक विज्ञान, बौद्ध अध्ययनजस्ता विषयभन्दा बाहेक अन्यमा हामी विदेशी विद्यार्थी ल्याउन सक्दैनौं । विद्यार्थी भित्र्याउन नीति सहज बनाऊँ तर तुरुन्तै विदेशी विद्यार्थी आउँछन् जस्तो मलाई लाग्दैन । तर आशावादी हुने ठाउँ के हो भने हामी एजुकेसन एक्सपर्ट (शिक्षा निर्यात) गर्न सक्छौं । आज इस्लिङ्टन कलेजले थाइल्यान्ड र म्यानमारको कलेज व्यवस्थापन गरेर देशमा डलर भित्र्याइहेको छ । हाम्रो खुला विश्वविद्यालयले राम्रो प्रविधि प्रयोग गर्ने हो भने कतार, अमेरिका, अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई सेवा दिन सक्छ । आज कमलपोखरीमा हामी दक्षिण एसियाको ए लेभल स्कुल स्थापना गर्दै छौं । अलिकति रचनात्मक तरिकाले एजुकेसन एक्सपर्ट गर्नतिर लाग्न सक्छौं तर सबैभन्दा पहिला हाम्रो आधारभूत कुरा व्यस्थित गर्यौं, हाम्रो शैक्षिक पात्रो कार्यान्वयनमा ल्याऊँ ।

हाम्रा विश्वविद्यालय अझै पनि पाठ्यक्रम सुधारकै क्रममा छन् । तपाईंहरू त आफूले तयार पारेका डिजिटल पाठ्यक्रम विक्रीसमेत गर्नुहुन्छ । यो कसरी सम्भव भयो ?

सोच नै हो । हामीले नेपालमा बसेर केही पनि गर्न सक्दैनौं, हाम्रा विद्यार्थीहरू अब्बल छैनन् भन्ने कुराको गतिलो जवाफ दिइएको हो । नेपालमा हामी नेपाली शिक्षक र विद्यार्थी मिलेर बनाएको प्रविधि आज विश्वका ५० वटा देशका ९ हजार वटा विद्यालयहरूले चलाइरहेका छन् । नेपालमा २० हजार बालबालिका यो प्रविधिमा जोडिएका छन् । हाम्रै विद्यार्थी, पूर्वविद्यार्थी, फ्याकल्टी समूह मिलेर हामीले आफ्नो इकोसिस्टम बनाएका हौं । हाम्रो प्रविधि क्याम्ब्रिजले चलाइरहेको छ । हामी रोयल्टी फ्रि हिसाबले नेपालमा यो प्रविधि चलाइरहेका छौं । हाम्रो खुला विश्वविद्यालयलाई यो प्रविधि चाहिन्छ भने हामी सहकार्य गर्न तयार छौं ।

प्रकाशित : पुस २१, २०८० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?