कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
कान्तिपुर एजुकेसन समिट

'त्रिचन्द्रमा विद्यार्थीले तिरेको शुल्कअनुसार हामीले शिक्षा दिन सकेका छैनौं'

काठमाडौँ — नेपालकै पहिलो क्याम्पस काठमाडौंको त्रि–चन्द्र बहुमुखी क्याम्पस हो । त्रिभुवन विश्वविद्यालय स्थापना हुनुअघि नै यो क्याम्पस सञ्चालनमा थियो । त्रिवि स्थापनापछि त्रि–चन्द्रलाई पनि आंगिक क्याम्पस बनाइयो । हाल यस क्याम्पसको प्रमुख प्रा.डा. नीलम श्रेष्ठ प्रधान छिन् ।

'त्रिचन्द्रमा विद्यार्थीले तिरेको शुल्कअनुसार हामीले शिक्षा दिन सकेका छैनौं'

उनी उक्त क्याम्पसको पहिलो महिला प्रमुखसमेत हुन् । गत मंगलबार (२०८० पुस,१७) मा आयोजित कान्तिपुर एजुकेसन समिटमा ‘पिरलोमा डिग्रीधारी, सीप र रोजगारी’ विषयक छलफलमा कान्तिपुरका घनश्याम खड्काले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले उत्पादन गरिरहेको विद्यार्थी सुरुमा आउँदा जति खुसी देखिन्छन्, विद्यालयबाट फर्किसकेपछि र श्रम बजारमा गइसकेपछि उत्तिकै खुसी पाउनुभएको छ ?

त्रिचन्द्र क्याम्पसमा २०३७ सालदेखि २०४२ सालसम्म क्याम्पस जीवन बिताएँ । प्रोभिन्सल सर्टिफिकेट तह र बीएससी पनि त्यहीँ पढें । एमएससी अध्ययन सकाएर ०४६ सालदेखि त्रिचन्द्र क्याम्पसमै अध्यापन सुरु गरें । ०४६ सालेखि हालसम्म फिजिक्सको प्रोफेसर र डिपार्टमेन्ट हेड हुँदै गत भदौ २० देखि क्याम्पस प्रमुखको जिम्मेवारीमा छु । पढ्ने र पढाउने दौरानमा धेरै राजनीतिक आन्दलोन भइरहे । राजनीतिक आन्दोलन हुँदा सुरुमा अट्याक स्कुल र कलेज हुन्थ्यो । ०३६ सालदेखि ०४६ हुँदै ०६२/०६३ सम्मका विद्यार्थीले पढाइ र इन्टर्नका नाममा झण्डा र डन्डा बोक्ने काम मात्रै गरे । त्यसकारण त्यो बेलाका विद्यार्थीसँग रोजगारी र सीप भएन । हामीले पढाउँदा पनि निकै डराएर पढाउँथे । कुन बेला खुकुरी आउँथ्यो, कुन बेला गोली, केही थाहा हुँदैनथ्यो ।

दुईतिहाई विद्यार्थी पढ्ने त्रिचन्द्र कलेजमा धेरै आन्दोलन हुन्थ्यो । पहिला शिक्षक र विद्यार्थीमा त्यही किसिमको आदरसम्मान हुन्थ्यो, त्यही किसिमको अनुशासन हुन्थ्यो । अहिले शिक्षकभन्दा विद्यार्थी हाबी छन् । राजनीतिक भागबन्डाका कारण विद्यार्थीले यति अंक चाहिने भन्दै माग्छन् । विभागीय प्रमुख हुँदा मैले पनि अनुभव गरेकी छु । मेरो पार्टीका विद्यार्थीले यति नम्बर पाउनुपर्छ, यही थेसिस पास गर्नुपर्‍यो भन्दै आउँछन् । राजनीतिक प्रक्रिया पुर्‍याएर डिग्री पाएका विद्यार्थीको ८०/९० प्रतिशतभन्दा कम नम्बर हुँदैन ।

विज्ञानलगायत जुनसुकै विषयको प्रयोगात्मक परीक्षा हुन जरुरी छ । विडम्बना, प्रयोगात्मक परीक्षालाई विद्यालय स्तरदेखि नै महत्त्व दिइएन । सीप विद्यालयदेखि नै सुरु हुन्छ । ल्याब, फिल्ड भिजिट गएर सामान छोएर के गर्ने, कसरी गर्ने भनेर बुझेर सिकाइनुपर्थ्यो । तर ल्याबमा अंक (मार्क्स) मात्रै दिइन्छ । स्कुलमा भए २५, कलेजमा सय, दुई सय । अंकबाटै बार्गेनिङ सुरु हुन्छ । आफूले के काम गरिरहेछु ? त्यो कहाँ प्रयोग हुन्छ ? यसबारे विद्यार्थी नै जानकार छैनन् ।

पहिले विद्यार्थीका लागि बाध्यता पनि थियो । राजनीतिक आन्दोलन गरेर देश बनाउनु थियो । तर अबको क्रान्ति बनेको शैक्षिक क्रान्ति हुनुपर्छ । विद्यार्थीले देशका लागि योगदान त दिए । तर शिक्षामा उनीहरू नै पछाडि छन् । उनीहरूको हातमा सीप छैन । नेताहरूले उठ् भन्दा उठ्ने, बस भन्दा बस्ने किसिमको मनोवृत्तिबाट चलिरहेका छन् । आफैं केही गर्न क्षमता छैन ।

यसरी पाएको डिग्रीले न सीप पायो, न रोजगारी । अब परिवर्तन गर्न जरुरी छ । १०६ वर्षे लिगेसी बोकेको त्रिचन्द्र कलेजबाट परिवर्तन गर्न सुरु गरेकी छु । वातावरण, पूर्वाधार आदि विषयमा व्यापक परिवर्तन जरुरी छ । जुन उद्देश्य बोकेर कोर्सहरू ल्याइयो, त्यसअनुसार चलाउन सकिएको छैन । गुणस्तरीय शिक्षा दिन सकेका छैनौं । यसमा मलाई पनि एकदमै पीडा लाग्छ । त्रिचन्द्रमा सरकारी र निजी दुवै खाले कार्यक्रम छन् । तर विद्यार्थीले तिरेको शुल्कअनुसार हामीले शिक्षा दिन सकेका छैनौं ।

कुनै समय २० हजारसम्म विद्यार्थी भएको त्रिचन्द्रमा अहिले ५/६ हजार जना विद्यार्थी मात्रै छन् । त्यसमा पनि मानविकीको अवस्था टिठलाग्दो छ । शिक्षक २७/२८ जना हुँदा विद्यार्थी १७/१८ जना मात्रै छन् । ती पनि नियमित छैनन् । यो अवस्थामा कसरी आइपुग्यो ?

त्रिचन्द्र कलेजमा विज्ञान र मानविकी संकायअन्तर्गत ३१ वटा कार्यक्रम छन् । मानविकी संकायमा समाजशास्त्र, ग्रामीण विकास, नेपाली, नेपाल भाषालगाायत धेरै विषय छन् । मानविकीमा नेपाली अनिवार्य विषय हो । भाषा पढाउने प्राध्यापक छन् । स्क्रिप्ट लेख्ने, कथाकविता लेख्ने त्रिचन्द्रकै प्रोफेसर हुनुहुन्छ । तर त्यही नेपाली विषयमा विद्यार्थी घट्नुका कारण धेरै छन् ।

झन्डै ६ वर्षअघि नेपाली बोल्नै नहुने, पढ्नै नहुने, नेपाली बोल्दा तिरष्कृत महसुस गर्नुपर्थ्यो । नेपाली लेख्यो कि कहाँबाट आयो भन्दै उडाइन्थ्यो । हामीले आफ्ना विद्यार्थीलाई मोटिभेसन गर्न नसक्दा नेपालीका विद्यार्थी घटे । नेपालीलाई नेपाली नै थाहा छैन भने नेपालको इतिहास, भूगोलबारे के थाहा होला ? नेपाली भाषामा विज्ञापन र बहस नहुँदा नै विद्यार्थी घटेका हुन् ।

नेपालको जेठो कलेज त्रिचन्द्र क्याम्पस हो । भूकम्पले भत्काएपछि उसको आफ्नै भवन पनि छैन । तुरुन्तै समस्या समाधान गर्दै अघि बढ्नुपर्ने अहिलेको माग छ । तर समाधान दिने ज्ञान पुरातन छ । तुरुन्तै समस्या समाधान गरेर अघि बढ्नुपर्ने अवस्थामा त्रिचन्द्रमा पर्याप्त कक्षाकोठा नै छैनन् ? कसरी तालमेल मिलाउँदै हुनुहुन्छ ?

रोजगारीको सिर्जना क्याम्पसबाटै सुरु हुन्छ । हामीले कस्तो किसिमको शिक्षा दियौं भने रोजगारी पाइन्छ र रोजगारी सिर्जना गर्न सकिन्छ, यसतर्फ हाम्रो पाठ्यक्रम बनेकै छैन । हामीले पाठ्यक्रम बनाउँदा समाज, बजारको मागका आधारमा बनाउन आवश्यक छ । पाठ्यक्रमअनुसारकै पूर्वाधार पनि अवाश्यक पर्छ । तर यस्ता सामान्य अध्ययन र योजना नबनाई क्याम्पसमा विभिन्न विषय पढाइरहेका छौं ।

क्याम्पसले कार्यक्रम चलाउन मन लागे चलाउने, नत्र नचलाउने अवस्था छ । धेरै क्याम्पसमा अहिले विद्यार्थीको बिजोग छ । त्यस किसिमको सुविधा त्रिचन्द्र क्याम्पसले पनि दिन सकेको छैन । निजी प्रोग्रामअन्तर्गत पढ्ने विद्यार्थीले पनि त्यो सुविधा पाएका छैनन् । त्रिचन्द्रमा मासिक ३०/४० हजार तिर्ने र ६/७ हजार तिर्ने विद्यार्थी पनि छन् ।

हाम्रो एउटा भवन पुनर्निर्माण हुँदै छ । एउटा भवनमा मात्र कक्षा सञ्चालनमा हुन्छ । कक्षा नै ओभरल्याप हुन्छ । एकातिर विद्यार्थी बढिरहेका छन्, अर्कोतिर कक्षा ओभरल्याप भइरहेका पनि छन् । पाठ्यक्रम परिमार्जित हुनु जरुरी छ । इन्टरडिसप्लेनरी, मल्टिडिसप्लेनरी विषय एकदमै आवश्यक भइसक्यो ।

हामीले पढाइरहेको चारवर्षे स्नातक, दुईवर्षे स्नातकोत्तर पढ्दा विद्यार्थीको उमेर २८/२९ वर्ष पुगिसक्छ । जीवनको अत्यन्त महत्त्वपूर्ण समय उनीहरूले पढाइमै बिताउँछन् । तर त्यही समयमा विदेश गयो भने आफ्नो सीप विकास, क्षमता विकास र पैसा कमाउनुका साथै उनीहरूले परिवार पनि हेरिरहेका हुन्छन् । स्वदेशमा आफ्नो एक्लो जीवन बाँच्न पनि कठिन हुन्छ । नेपालमा स्नातक गरेका विद्यार्थीले १५ देखि २० हजार रुपैयाँ तलब पाउँछन् । त्यो तलबले के गर्ने ?

कान्तिपुर एजुकेसन समिटका सम्पूर्ण बहसका समाचार र विचारहरु यो लिंक https://ekantipur.com/tag/id-1636 मा क्लिक गरेर हेर्न सकिन्छ

प्रकाशित : पुस २०, २०८० १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?