कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘पर्यटकका रोजाइमा हिमालका चित्र’ 

मधु शाही

काठमाडौँ — उनले बनाएका चित्र स्टोरमा अटाइन नसक्नु छ । चाङका चाङ पारेर राखिएका चित्रलाई थन्काउने कसरी ? चित्रकार नरबहादुर विक यसको चित्ता पटक्कै गर्दैनन् । ‘कलाकारको काम हो, चित्र बनाउने । व्यापार अनलाइनले गरिहाल्छ नि,’ उनी उत्साहपूर्वक भावमा थप्छन्,‘सिर्जना कोर्नु मात्रै पर्छ, प्रविधिको विकासले चित्र बेच्न त्यति टाउको दुखाउनु पर्दैन ।’

‘पर्यटकका रोजाइमा हिमालका चित्र’ 

एक हप्तामा स्टोर रुममा राखिएका चित्र बिक्री भएर फेरि अर्डर लिनुपर्ने उनको दैनिकी छ । आजभन्दा १५ वर्षअघि यस्तो स्थिति थिएन । ग्यालरीमा धाएर बनाएको चित्र प्रर्दशन गर्ने अनि ग्राहकको

पर्खाइमा महिनौं कुर्नु पर्थ्यो । नरबहादुरले दुई दशकभन्दा बढी समयदेखि कलामै समर्पित छन् । तर, उनको पहिचान फराकिलो बनेको प्रविधिको प्रयोगले हो । व्यापारको दृष्टिले हेर्ने हो भने डिजिटल युग हरेक क्षेत्रका लागि फापेको छ । जसबाट कलाकारसमेत लाभान्वित पनि छन् । तर, अब कलाकारले चित्र मात्रै बनाएर पुग्दैन । नरबहादुरको विचारमा समयसापेक्ष प्रविधिमैत्री हुन जरुरी छ । उनी पर्यटकको आर्कषण बढाउने खालका चित्र कोर्न मन पराउँछन् । जसको प्रतिबिम्ब चित्रित ‘हिमाल’ र ‘बुद्ध’ का आकृति हुन् । हिमाल प्राकृतिक दृष्टिले विश्वमा चिनिएको महत्त्वपूर्ण पाटो हो भने बुद्ध शान्तिको प्रतीक । दुई दशकदेखि हिमाल र बुद्धका आकृति कोर्दै आएका नरबहादुरले विदेशमा दर्जनौँ पटक प्रर्दशन गरेका छन् । विदेश होस्, वा स्वदेश ।

उनले एक सातामै दर्जनौँ हिमालका चित्र बिक्री गरेको बताउँछन् । ‘हिमालका चित्र खोसाखोस हुन्छ,’ उनी भन्छन्,‘बढी किन्ने नै विदेशी हुन् ।’ उनको अनुभवमा विदेशीले बुद्ध र हिमाल बढी मन पराउँछन् । सुरुमा चित्र कोरेर जीविका चलाउँछु भन्ने विश्वास विकलाई थिएन । ‘हिमाल सबैको साझा आकृति हुन सक्छ,’ उनी भन्छन्,‘एउटा कलाकारको दृष्टिमा हिमालको सौर्न्दय फरक पर्छ ।’ घाम लाग्दा, घाम अस्ताउँदा, अँध्यारोमा र उज्यालोमा त्यही हिमालको रूप छिनछिनमा बदलिन्छ । नरबहादुर ती सबै प्रकृतिका आकृति क्यानभासमा उतार्न सिपालु छन् ।

पछिल्लो समय कलालाई स्थानीय तहसम्म पुर्‍याउने उनले निकै मिहेनत गरेका छन् । आफ्नै जन्मथलो नवलपरासीका पालिकासँग सहकार्य गरी चित्रकला कार्यशाला गर्ने, कलाका बारेमा बुझाउँदै आएका छन् । उनी गाउँबाट ललितकला पढ्न काठमाडौं आएका पहिला थिए, अब भने प्रशिक्षण पाएपछि गाउँमा थुप्रै युवाले कला विधा रोज्न थालेका छन् । विकले अहिलेसम्म १६ वटा एकल चित्रकला प्रर्दशनी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ७० वटा सामूहिक कला प्रर्दशनीमा सहभागी भएका छन् ।

नेपाल, भारत, बंगलादेश, चीन, अस्ट्रिया, जर्मनी, जापान, कोरिया, थाइल्यान्ड, फ्रान्सलगायत देशमा कला प्रर्दशनी गरेका उनी स्थानीय स्तरमा कलाको महत्त्व बुझाउन जरुरी रहेको बताउँछन् । ‘कलाको दीर्घकालीन विकास स्थानीय तहबाटै हुन्छ’, उनी भन्छन्,‘अबको समयमा चित्र बेचेर बाँच्न सकिन्छ ।’ विकले आफ्ना दृश्यचित्रको मूल्य १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाएका छन् ।

प्रकाशित : पुस १२, २०८० १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?