२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६४

‘दयाहाङसँग सहज लाग्छ’

नारायण खड्का

अस्ट्रेलिया — केकी अधिकारी नेपाली फिल्म उद्योगकी बौद्धिक नायिका मानिन्छिन् । लामै समयदेखि फिल्ममा सक्रिय उनले अभिनय गरेका प्राय: फिल्महरूले औसत व्यवसाय गरिरहेका छन् । तर पनि न कुनै सुपरहिट भएको छ न कुनै सुपरफल्प । त्यसैले उनी आफूलाई नेपाली फिल्म क्षेत्रकी ‘मिड वे’ नायिका मान्छिन्– न सुपरहिट न सुपरफल्प ।

‘दयाहाङसँग सहज लाग्छ’

यिनै ‘मिड वे’ नायिका यतिबेला अस्ट्रेलियामा छिन् । हालैको भेटघाटमा उनले भनिन्, ‘म प्रोफेसनल्ली न अप भएको छु न लो ।’ 

आफ्नो पछिल्लो फिल्म ‘लब सासा’ को प्रदर्शनका लागि अस्ट्रेलिया आइपुगेकी नायिका अधिकारीले आफू अहिलेसम्म बीचमै रमाइरहेको बताइन् । प्रशन्न पौडेलको प्रोत्साहन र सहयोगमा डान्स रियालिटी सो हुँदै ‘लब सासा’ सम्म आइपुग्दा उनले सोचेभन्दा धेरै नै उपलब्धि पाएको दाबी गरिन् । 

अस्ट्रेलियाको मेलबर्नमा फिल्म प्रदर्शन गरेर सिड्नी आएको बेला भेटिएकी नायिकाले यहाँका नेपालीहरूले नेपाली फिल्म, संगीत र कलाकारलाई दिएको माया र सम्मान कसैसँग तुलना हुनै नसक्ने विचारसमेत सुनाइन् ।

हुन त उनी डाक्टर हुने सोचमा थिइन् । एमबीबीएसको अध्ययन छोडेर नृत्य हुँदै फिल्ममा छिरेकी उनले अहिलेसम्म १५ भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन् । केही महिनाअघि मात्र प्रेसिडेन्सियल कलेजबाट म्यानेजमेन्टमा स्नातकोत्तरको अध्ययन पूरा गरेकी अधिकारी नेपाली फिल्म क्षेत्रमा सबैभन्दा शिक्षितसमेत मानिन्छिन् । ‘अध्ययनले मानिसलाई कन्फिडेन्ट दिने रहेछ,’ उनले भनिन् । आफूलाई शिक्षित नायिका भनिएकोमा उनलाई गर्व पनि लाग्दो रहेछ । त्यही भएर उनी आफ्नो भूमिका हेरेर मात्रै फिल्मको अफर स्विकार्छिन् रे ।

थुप्रै नायकसँग अपोजिट भूमिकामा देखिएकी उनले सबैभन्दा सहजचाहिँ दयाहाङ राईसँग भएको सुनाइन् । दया र उनी अभिनीत दीपेन्द्र लामाको ‘घामपानी’ यही वैशाख १ गते रिलिज हुँदै छ । त्यसबाहेक सौगात मल्ल र कर्मासँग अभिनय गर्दा पनि रमाइलो लागेको अनुभव उनले सुनाइन् । ‘हुन त कोहीसँग पनि असहज हुँदैन तर पनि उहाँहरूसँग काम गर्दा रमाइलो फिल गर्छु ।’ 

अस्ट्रेलिया पछिल्लो समयमा नेपाली फिल्मका लागि दोस्रो ठूलो बजार बनेको दाबी गर्दै अधिकारीले विदेशमा रुचाइने किसिमका फिल्महरू निर्माणमा जोड दिइनुपर्नेसमेत बताइन् । उनले आफ्नो नाम कहिलेकाहीं अन्य व्यक्तिहरूसँग जोडिनुलाई अन्यथा नमान्ने पनि बताइन् । ‘नाम जोडिनु सामान्य हो र यसलाई म सिरियस्ली लिन्नँ,’ उनले भनिन् । विवाह व्यक्तिगत जीवनको सुन्दर क्षण बताउने उनी आफूले चाहिँ यसबारेमा नसोचेको बताइन् । ‘अब फिल्म निर्माणतिर ध्यान दिन्छुजस्तो लाग्छ,’ उनले सुनाइन्, ‘बिहेको कुरा अहिले सोच्दिनँ ।’ आफैं कार्यकारी निर्मातासमेत रहेको ‘लब सासा’ ले राम्रो व्यवसाय गरेको भन्दै उनले भविष्यमा यस्तै राम्रा फिल्म बनाउने जनाइन् ।

प्रकाशित : चैत्र २२, २०७३ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?