२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कालीमार्सी बचाउँदै छुमचौरबासी 

डीबी बुढा

जुम्ला — जुम्ला पातारासी गाउँपालिका-५ चौरगाउँकी बास्मती रावत तीन वर्षदेखि छुमचौर जिउलोमा कालीमार्सी धानको खेति सुरु गरिरहेकी छन् । विश्वको उच्च स्थानमा फल्ने उपमा पाएको कालीमार्सी धान बचाउने हुटहुटी उनमा छ । पाँच खेतमा धान खेतिगरेकी रावत बर्सेनि कालीमार्सी धानको क्षेत्र बढाइरहेकी छन् । 

कालीमार्सी बचाउँदै छुमचौरबासी 

'छुमचौर जिउलो मार्सी धानको इतिहास र पहिचान हो । त्यही भएर पनि धान रोपेर इतिहास बचाउनु छ । विश्वसामु उच्चस्थानमा फल्ने बालीको रुपमा बचाइराख्नुपर्ने अवस्था छ, ’ उनले भनिन् । उनका अनुसार छुमचौर जिउलोमा धान धेरै फलिरहेको छैन । कहिले धान असिनापानीले झारिरहेको छ । कहिले रोग लागेर झर्छ । तर पनि धानको बर्सेनि क्षेत्रफल बढाइरहेको देखिन्छ ।

पातारासी-३ कै लक्ष्मण महातारा संकटमा मार्सी धान नै किसानहरूको साहरा बनेकोले बिर्सन नहुने बताइरहेका छन् । सडक नपुग्दा धान राम्रै फलिरहेको हुन्थ्यो । चामलको कुनै विकल्प थिएन । भात मिठो हुन्थ्यो । तर पछिल्लो समयमा पाटनमा यार्सागुम्बा पाइन थालेपछि छुमचौरको जिउलोमा धान खेती गर्न छाडिएको स्थानीय बताउँछन् ।

उनले मार्सी धानको लागि ८ वटा खेत रोपिरहेका छन । बर्सेनि ५ क्विन्टल धान फलिरहेको छ । हरेक शुभकार्यमा बजारको सेतो चामल ल्याउनु नपरेको अनुभव उनको छ । उनले भने,‘मार्सी धानको चामल अडिलो,पोसिलो र स्वादिलो हुने भएकोले माग पनि अत्यधिक छ । ’

जिल्ला कृषि विकास कार्यालय जुम्लाले मार्सी पकेट क्षेत्रको रुपमा छुमचौर जिउलोलाई अघि सारेको छ । बर्सेनि धान दिवस र रोपाइ महोत्सव गरेर मार्सी धानको खेती प्रति किसानहरूलाई आकर्षित गरिरहेको छ । अहिले छुमचौर जिउलोमा पहिलो मार्सी धानको रोपाइ चलेपछि मात्र जिल्लाभर धान रोप्ने चलन बसेको किसानहरू बताउने गर्छन् ।

कृषि प्रमुख बालकराम देवकोटा छुमचौर जिउलोलाई पहिलेकै स्थानमा लैजाने तयारी भइरहेको बताउँछन । समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइमा रहेको छुमचौर जिउलोमा पञ्चायतकालमा धान खेती निकै राम्रो भइरहेको थियो । राजा र राणाहरूलाई हुलाकदेखि मार्सी धानको चामल पठाइन्थ्यो । ख्याति प्राप्त चामल पछिल्लो समयमा रोप्न छाडियो । प्रमुख देवकोटाले भने,‘पछिल्लो समयमा छुमचौर जिउलोमा धान खेती पहिलेकै अवस्थामा लैजान पकेट क्षेत्रका रुपमा काम भइरहेको छ । बर्सेनि जिउलोमा धानको क्षेत्रफल बढिरहेको छ । ’


छुमचौर जिउलो ४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । अहिले मार्सी चामल प्रतिकेजी २ सय ५० रुपैयाँमा बिक्री हुन्छ । एक क्विन्टल मार्सी चामल दिँदा तीन क्विन्टल सेतो चामल आउने गरेको छ । जुम्ली मार्सी धान जिल्लाको काठमाडौं,नेपालगञ्ज, बुटवल, सुर्खेतलगायतका सहरमा बेचिन्छ । केही किसानहरूले नमुनाको लागि विदेशमा समेत पठाइरहेको बताएका छन् ।

पातारासी–३ छुमचौरकी शोभा बोहोराले छुमचौरमा रोपिने मार्सी धानको पहिचान आफैंमा महत्त्वपूर्ण भएको बताइन्। तर मरुवा रोगका कारण सधैं उत्पादन कम हुने भएकोले किसानहरूको जोस भने हराउँदै गएको उनको गुनासो थियो ।

छुमचौर जिउलोमा पछिल्लो समयमा कम्तीमा २० देखि ३० खेतमा मार्सी धानको रोपाईँ हुने गरेको छ । मरुवा रोगका कारण मार्सी धानको उत्पादन कम हुने भएकोले किसानहरू सिमी, मकै, कोदो, चिनो, कागुनो, जौं, गहुँ र आलु खेतीमा बढी आकर्षित हुने गरेका छन्। मार्सी धानको उत्पादनका लागि निरोगी मार्सी धानको बिउ उपलब्ध हुनुपर्ने, व्यावसायिक मार्सी धान खेतीको सुरुवातका लागि सरकारले बजेट व्यवस्थापन गर्नुपर्ने यहाँका किसानहरूको जोड छ ।


पातारासी गाउँपालिका–३ का वडा अध्यक्ष गोविन्द बुढाका अनुसार गाउँपालिकाले मार्सी धानको खेती सुरु गर्न डीपीआर समेत बनाएको छ । डीपीआर बमोजिम मार्सी धानको क्षेत्र घेरबार गर्ने, सिँचाइ व्यवस्थापन गर्नेदेखि रोग किराको संक्रमणबाट बचाउन पहल हुने उनको भनाइ छ । अर्को वर्ष छुमचौर जिउलोको चार हेक्टर पुरै जमिनमा मार्सी धानको खेती सुरु गर्ने किसानहरूको तयारी छ ।

प्रकाशित : वैशाख २८, २०८१ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?