कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङ सेवा समाज बेलायतद्वारा जिल्लामा स्वास्थ्य शिविर सञ्चालन

डम्बरसिं राई

खोटाङ — खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

खोटाङ सेवा समाज बेलायतद्वारा जिल्लामा स्वास्थ्य शिविर सञ्चालन

स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका जिल्लावासीलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई/दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने गरी जिल्लाका ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर आयोजना गरेको हो ।

खोटाङमा जन्मिएर बेलायतमा बसोबास गरी विभिन्न पेसा/व्यवसायमा आबद्धहरूको साझा संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले शुक्रबारदेखि स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविर चैत २३ गतेसम्म चल्ने खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरको पहिलो दिन जिल्लाका विभिन्न चार ठाउँमा सञ्चालन गरिएको छ ।

शिविरको पहिलो चरणमा शुक्रबार र शनिबार खोटेहाङ गाउँपालिका ७ खोटाङ बजारस्थित स्वास्थ्य चौकी, जन्तेढुंगा गाउँपालिका ५ चिसापानी नमुना माविमा, रावाबेंसी गाउँपालिकाको प्रांगण र साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पतालमा आयोजना गरिएको छ ।

चैत १७ र १८ गते ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्क बजार, चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडामा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । चैत २२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविर हुनेछ ।

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट संकलित करिब तीन करोड १० लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च गरिने आयोजकले जनाएको छ । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरूसहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहनेछ ।

शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरी करिब ५० हजार जिल्लावासीको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०८० १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?