कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौँ — वेस्ट इन्डिज ‘ए’ ले पहिलो ट्वान्टी २० क्रिकेटमा नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५ विकेट गुमाई २ सय ४ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २०५ रनको लक्ष्य

पहिलो ४ ओभरमा ५० र पावर प्लेको पहिलो ६ ओभरमा ७७ रन जोडेर वेस्ट इन्डिजको टोलीले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । एलिक एथान्जेको आक्रामक र कप्तान रोस्टन चेजले इनिङ्स तानेपछि वेस्ट इन्डिज ‘ए’ ले विशाल स्कोर बनाएको हो ।

कप्तान चेजले ७४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रको बलमा आउट हुनु पूर्व उनले ४६ बल खेली ९ चौका र २ छक्का प्रहार गरे । चेज अर्धशतक बनाएपछि मात्र खुलेर खेल्न लागेका थिए । अर्धशतक बनाए लगत्तै उनले अविनाश बोहराको एकै ओभरमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

ओपनर एथान्जेले २५ बल खेली ५ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाए । पहिलो ओभरमै कमलसिंह ऐरीले जोहनसन चार्ल्सलाई शुन्यमा बोल्ड गरे पनि एथान्जेले आफ्नो आक्रामक इनिङ्सलाई कायमै राखेका थिए । चार्ल्सको स्थानमा आएका एन्ड्रयु फ्लेचरले दीपेन्द्रसिंह ऐरीलाई लगातार बलमा छक्का प्रहार गरे पनि अर्को ओभरमा कप्तान रोहित पौडेलको चुस्त थ्रोमा रनआउट हुन पुगे ।

एथान्जे र चेजले तेस्रो विकेटमा ४३ रनको साझेदारी गरे । चेज र किएसी कार्टीले चौथो विकेटमा ६० रनको साझेदारी गरे । कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए ।

अनुभवी तीब्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी बिनै खेलिरहेको नेपालबाट अविनाश, रोहित, दीपेन्द्र र कमलले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा २८ रनमात्र खर्चे भने दीपेन्द्रले ३ ओभरमा ३० रन दिए । रोहितले आफ्नो एकमात्र ओभरमा १० रन दिए । कमलले ३ ओभरमा ५३ रन खर्चे । ललित राजवंशीले ४ ओभरमा ३४ रन खर्चे ।

पाॅच खेलको शृंखलामा यो पहिलो खेल हो । दुवै टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी २० विश्वकपको तयारीका लागि यो शृंखला खेलिरहेका छन् ।

प्रकाशित : वैशाख १५, २०८१ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?