तस्करीका गोरुसहित दुई ट्रक नियन्त्रणमा लिइ भन्सार पठाइयो
पाल्पा — पाल्पाको रामपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय रामपुरले तस्करीको गोरुसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवलदेखि पाल्पा हुँदै कालीगण्डकी करिडोर सडक (सिद्धार्थ राजमार्गको पिपलडाँडा–रामपुर–गैडाकोट) भएर तस्करी गरिएका गोरु इलाका प्रहरी कार्यालय रामपुरको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
रामपुर नगरपालिका–२, भलायटारमा गस्ती गर्ने क्रममा ट्रक चेकजााचका क्रममा ४३ वटा गोरुसहित ट्रक नियन्त्रमा लिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । ना ६ ख ५८० नम्बरको ट्रकमा २२ वटा गोरु र ना ६ ख ४७५८ नम्बरको ट्रकमा २१ वटा गोरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गोरु र ट्रक नियन्त्रणमा लिएर छानबिन र थप अनुसन्धानका लागि भैरहवास्थित भन्सार कार्यालय रुपन्देही पठाएको छ ।
रामपुरस्थित केही युवाको सक्रियतामा कालीगण्डकी रुटबाट लैजाँदै गरेका गोरु नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमासमेत उनीहरुले गोरु ल्याएका ट्रक नियन्त्रणका लागि आग्रह गरेको स्थानीयले बताए । स्रोतका अनुसार भारबाट नेपाल भित्रिएका गोरुको नेपाल हुँदै बंगलादेशसम्म तस्करी गर्ने गर्छन् । पछिल्लो समय तस्करहरूले कपिलवस्तु जिल्लाको बहादुरगंज क्षेत्रलाई केन्द्र बनाएका छन् ।
तस्करहरूले कागजपत्रसमेत बनाउने, अदालतको आदेश, कर तिरेको राजश्व अनुसन्धान विभागको (भिसिटिएस) समेत लिएर गोरु पठाउने गर्छन् । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाललेसमेत रामपुर नगरपालिका–१० गेझामा शंका लागेर ट्रक रोक्दा गोरु ओसारपसार भएको पाएको बताए ।
भारतीय गोरुलाई भन्सारमा हिँडाउँदै नेपाल भित्र्याउने र नेपालभित्रका विभिन्न निकायबाट गोरुको नक्कली कागजपत्र बनाएर तस्करी गर्दै आएको भेटिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख नरेन्द्र चन्दले आवश्यक पर्ने सबै निकायमा दर्ता गरेर पूर्व झापादेखि पश्चिमसम्म नै खरिद बिक्री गर्न पाउने कागजपत्र बनाएका छन् । पशु चौपाया खरिद बिक्री केन्द्रका नाममा विभिन्न सरकारी निकायमा दर्ता गरेका प्रमाणपत्रसमेत साथमा लिएर गोरुको तस्करी भइरहेको हो ।
‘हामीले आफ्ना मातहतमार्फत् धेरै पटक पक्राउ गरियो,’ पाल्पा प्रहरी प्रमुख चन्दले भने, ‘तर सबै कागजपत्र पुर्याएर आउने गरेका छन् । त्यसपछि हाम्रो कुनै उपाय नै चल्दैन ।’
प्रकाशित : वैशाख २७, २०८१ १०:४७