कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

धमाधम विद्यालय समायोजन गर्दै स्थानीय तह

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–७ शान्तीपुर आधारभूत विद्यालयमा तीन जना शिक्षक र १५/२० जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर २० विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी संख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरमा समायोजन गरिएको छ ।

धमाधम विद्यालय समायोजन गर्दै स्थानीय तह

सोही नगरपालिकाको वडा नं. १२ मा रहेको मिलन आधारभूत विद्यालयमा बालबिकासमा समेत गरेर गत शैक्षिक सत्रमा विद्यार्थी संख्या १४ मात्रै थियो । यहाँ शिक्षक दरबन्दी भने १ मात्रै थियो । त्यो पनि राहात कोटाको । उक्त विद्यालयलाई पनि शिवशक्ति मावि कालागौडीमा समायोजन गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाले यसवर्ष विद्यार्थी संख्या कम भएका ४ विद्यालयलाई समायोजन गरेको छ भने दुई विद्यालयको तह घटुवा गरेको छ । विद्यार्थी संख्या वर्षेनी घट्दो अवस्थामा रहेका विद्यालयलाई समायोजन तथा दरबन्दी मिलान गरिएको हो । ‘विद्यार्थी संख्या निकै कम र बढ्ने सम्भावना पनि थिएन,’ नगरपालिकाका प्राविधिक सहायक दिपेन्द्र जोशीले भने, ‘सबै अध्ययन गरेर समायोजन गरिएको हो ।’ उनका अनुसार समायोजन गरिएका विद्यालयमा विद्यार्थी संख्या ३० भन्दा कम थियो ।

नगरपालिकाले वडा १० को त्रिमुर्ती आधारभूतलाई कृष्ण मावि झलारी र वडा १२ मा रहेको सरस्वती आधारभूतलाई सिद्धनाथ आधारभूत विद्यालय कालागौडीमा समायोजन गरिएको छ । यसैगरी ५ कक्षासम्म सञ्चालनमा रहेका भवानी आधारभूत विद्यालय जनचेतना आधारभूत विद्यालयलाई तह घटाएर १–३ मा झारिएको छ ।

शिक्षक दरबन्दी मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७७ ले विद्यालय समायोजन तथा दरबन्दी मिलानको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । अहिले नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । यो शैक्षिक सत्र हेरेर अर्को वर्ष पनि आवश्यकता अनुसार दरबन्दी मिलानदेखि विद्यालय समायोजन गरिएको प्रास जोशीले बताए ।

कञ्चनपुरकै बेदकोट नगरपालिकाले पनि दुई विद्यालयको तह घटुवा गर्ने तयारी गरेको छ । विद्यार्थी संख्या कम भएका तह घटाउने तयारी भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । ‘एउटा मावि र एउटा आधारभूत विद्यालयको तह घटुवा गर्ने तयारी भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत भट्टले भने, ‘हामीले अध्ययन गरेर अन्तिम चरणमा पुगेको छ, अब निर्णय हुन बाँकी छ ।’ उनले तहगत रुपमा शिक्षक दरबन्दी नभएको र विद्यार्थी संख्या पनि न्यून भएका कारण तह घटाउने तयारी भएको बताए ।

बेलडाँडी गाउँपालिकाले पनि विद्यालय समायेजनका लागि आवश्यक अध्ययन गरेको जनाएको छ । तर अहिले नै समायोजन गर्नुपर्ने अवस्था नरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले बताए । ‘तल्लो तहमा विद्यार्थी संख्या कम छ, एक/दुई विद्यालयको तह घटाउनु पर्ने थियो ।’ उनले नयाँ भर्ना दर हेरेर आवश्यक निर्णय गरिने बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वर्षेनी घट्दो छ । यति मात्रै होइन विद्यार्थी अनुपातमा शिक्षक पनि छैनन् । कतै शिक्षक बढी छन् भने कतै शिक्षक अभाव पनि छ । पछिल्लो समय स्थानीय तहले विद्यालय समायोजनदेखि दरबन्दी मिलानको सुरुवात गरेका छन् । यसतर्फ सबै पालिकाले ध्यान दिन सके विद्यालय शिक्षालाई व्यवस्थित पार्न सकिन्छ ।

कतिपय विद्यालयले सुधारका लागि अंग्रेजी माध्यममा पठनपाठनदेखि विभिन्न विद्यार्थी बोक्ने बसलगायत विभिन्न आकर्षक काम ग्रिरहेका छन् । ती विद्यालयमा विद्यार्थी पनि आकर्षित भएका छन् । अन्य विद्यालयले पनि तिनको सिको गर्न सके सामुदायिक विद्यालयमा घटदो विद्यार्थी आकर्षणलाई बढाउन सकिन्छ ।

प्रकाशित : वैशाख १५, २०८१ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?