१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

'द रेड सुटकेस'को टिजरमा सुटकेस गुडाउँदै प्रवीण

काठमाडौँ — भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भई दुई अवार्ड जितेको फिल्म 'द रेड सुटकेस'को टिजर सार्वजनिक भएको छ । निर्माण टिम आइसफलको युट्युबमार्फत सार्वजनिक टिजरमा एक व्यक्ति रातो सुटकेस गुडाएर हिँडिरहेको दृश्य देख्न सकिन्छ ।

'द रेड सुटकेस'को टिजरमा सुटकेस गुडाउँदै प्रवीण

उनी को हुन् ? कता जाँदैछन् ? खासै प्रस्ट हुँदैन । अँध्यारोमा उक्त व्यक्ति सुटकेस लिएर हिँडिरहन्छन् । पृष्ठभूमिमा शिशुको आवाज सुनिन्छ ।

आगामी ३० चैतदेखि प्रदर्शनमा आउने यो फिल्मलाई फिडेल देवकोटाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको निर्माण टिमको दाबी छ । सौगात मल्ल, विपिन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको फिल्ममा अभिनेता प्रवीण खतिवडा रोचक भूमिकामा रहेको पनि निर्माण टिमले बताए । टिजरमा देखिएका पात्र पनि प्रवीणकै रहेको बताइएको छ ।

निर्देशक देवकोटा फिल्मका अन्य प्रचार सामाग्रीमा अन्य कलाकार फिचर्ड हुने बताउँछन् । 'राम्रो कथामा असल कलाकार सुनमा सुगन्ध हुन् । फिल्ममा देशका उम्दा कलाकारको अभिनय छ । तर टिजरमा हामीले कथा र यसलाई कसरी भनिएको छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौं । यस पछाडिका दृश्य सामग्रीमा बाँकी कलाकार पनि खुल्दै जानुहुनेछ,'उनले भने ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । संसारकै पुरानोमध्ये जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन भएको यो फिल्मले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो ।

स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकका रूपमा निर्देशक फिडेल देवकोटालाई उत्कृष्ट पहिलो फिचर फिल्मतर्फ अवार्ड प्रदान गरेको थियो । यो फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि 'उत्कृष्ट डेब्यु फिचर फिल्म'को अवार्ड जितेको थियो ।

प्रकाशित : चैत्र १३, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?