१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

उत्तरपुस्तिका हराएको बारे उच्चस्तरीय छानबिन समिति

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले परीक्षा नियन्त्रण कार्यालयबाटै उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न बिहीबार उच्चस्तरीय समिति गठन गरेको छ ।

उत्तरपुस्तिका हराएको बारे उच्चस्तरीय छानबिन समिति

पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विज्ञप्तिमा समितिले उत्तरपुस्तिका के-कसरी हराएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्ने उल्लेख छ ।

प्रतिवेदन प्राप्त भएपछि कार्यकारी परिषद्ले उत्तरपुस्तिका हराएको विषयमा आवश्यक निर्णय लिने जनाइएको छ । कार्यकारी परिषद् त्रिविका उपकुलपति अध्यक्ष र रेक्टर, रजिष्ट्रार रहने कार्यकारी समिति हो ।

गत वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नम्बर ४२२) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नम्बर ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो । नतिजा सार्वजनिक गर्ने बेला उत्तरपुस्तिका नभेटिएपछि परीक्षा समितिले छुट्टै छानबिन समिति गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाइसकेको भए पनि कार्यकारी परिषद्ले पुनः उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

त्रिविले उत्तरपुस्तिका हराएका विद्यार्थीको परीक्षा चैत २१ गते सञ्चालन गर्ने समेत जनाएको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले क्याम्पसहरुलाई निर्देशन दिइसकेको छ । निर्देशनको आधारमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, शहीद स्मृति बहुमुखी क्याम्पस र दाङको देउखुरी बहुमुखी क्याम्पसले पुनः परीक्षा सञ्चालन हुने सूचना जारी गरेका छन् ।

चैत २१ गते बिहान ७ देखि १० बजेसम्म परीक्षा सञ्चालन हुने ती क्याम्पसका प्रमुखहरुले जारी गरेको सूचनामा उल्लेख छ । ती विषयका दुई सयभन्दा बढी उत्तरपुस्तिका परीक्षण भइसकेपछि मार्क लेजरमा इन्ट्री हुनुअघि हराएको हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष पनि व्यवस्थापन संकायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा लिएको थियो ।

उत्तरपुस्तिका हराएपछि नेपाल विद्यार्थी संघ र अनेरास्ववियुले विज्ञप्ति जारी गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । विद्यार्थी संगठनको मागपछि कार्यकारी परिषद्ले नै छानबिन समिति बनाएको हो । नेविसंघले बिहीबार उपकुलपति कार्यालयअघि प्रदर्शनसमेत गरेको थियो । प्रश्नपत्र निर्माणमा त्रुटि, पाठ्यक्रमभन्दा असम्बन्धित प्रश्नपत्र, अघिल्ला वर्षका प्रश्नपत्र हुबहु, उत्तरपुस्तिका साटफेर, नतिजा प्रकाशन र प्रमाणपत्रमा ढिलाई गरेर त्रिविले विद्यार्थीलाई हैरानी दिएको नेविसंघले जनाएको छ । यस्ता क्रियाकलपा नरोकिए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । अनेरास्ववियुले पनि दोषीलाई कारबाही गरी यस्तो घटना दोहोरिन नदिन ध्यानाकर्षण गराएको छ ।


प्रकाशित : चैत्र १५, २०८० २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?