१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

एकीकृत समाजवादीका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस 

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । यसअघि नेकपा एमालेले उनको नाममा समर्थन गर्न नसकिने अडान लिएको भए पनि अन्ततः एमालेले समर्थन गरेपछि सोडारीले दाबी पेस गरेका हुन् ।

एकीकृत समाजवादीका सोडारीद्वारा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस 

सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूहका सांसद) र स्वतन्त्र सांसदले समर्थन गरेका छन् । पहिलो पटकको आह्वानमा नागरिक उन्मुक्तिकै दुुई जना सांसदको दाबी पेस भएपछि प्रदेश प्रमुखले लक्ष्मण किशोर चौधरी र कैलाश चौधरी दुुवै जनालाई अस्वीकार गर्दै मंगलबार पुनः दाबी पेस गर्न आह्वान गरेका थिए ।

बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्न दिइएको अन्तिम दिन हो । एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भए पनि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि बुुधबारदेखि अन्योल भएको थियो । एमालेले आफ्नो अडान कायम राखेमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर भए पनि दाबी पेस गर्ने तयारी पनि सँगसँगै थालेको थियो । त्यसका लागि कांग्रेस पनि एकीकृत समाजवादीलाई समर्थन गर्न तयार भएको थियो । यसअघि एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध 'विद्रोह' गरेपछि हलचल पैदा भएको थियो ।

एकीकृत समाजवादीले कांग्रेस, राप्रपासँग सहकार्य गरेर नागरिक उन्मुक्तिका रेशम पक्षधर सांसद लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेपछि केन्द्रीय सत्ता गठबन्धनमै तरंग पैदा भएको थियो । एकीकृत समाजवादीको कदमले केन्द्रीय सत्ता गठबन्धनमै असर पर्ने नेखिएपछि गठबन्धनका शीर्ष नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्न तयार भएका थिए ।

उक्त समझदारीपछि मंगलबार एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि हलचल थामथुम भएको थियो ।

प्रकाशित : वैशाख ६, २०८१ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?