२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

५ सय ६३ बिघाको अतिक्रमित 'पुरैना ताल' पुरानै अवस्थामा फर्काइँदै 

पुरैना ताल ०६४ सालमा मोहना नदीको बाढी पसेपछि पुरिएको थियो । त्यसपछि उक्त क्षेत्र अतिक्रमणमा परेको थियो ।
अर्जुन शाह

धनगढी — जिल्ला प्रशासन कार्यालय कैलालीले भजनी नगरपालिका-७ लालबोझीमा रहेको पुरैना ताललाई अतिक्रमणमूक्त गर्दै पहिलाकै स्वरुपमा फर्काउने कार्य सुरु गरेको छ । अतिक्रमण हटाउन आठ वटा एक्स्काभेटर र जेसिभी प्रयोग गरिएको छ । 

५ सय ६३ बिघाको अतिक्रमित 'पुरैना ताल' पुरानै अवस्थामा फर्काइँदै 

पाँच सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताल ०६४ सालमा मोहना नदीको बाढी पसेपछि पुरिएको थियो । अहिले ताल क्षेत्रको नक्सांकन र सीमांकन गरिएको छ । भजनी-७ का वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार बाढी पसेर ताल पुरिएपछि स्थानीय बासिन्दाले अतिक्रमण गरेर खेतीपाती लगाउँदै आएका थिए ।

ताल अतिक्रमण भएको झण्डै १६ वर्षपछि अहिले जिल्ला प्रशासन कार्यालय कैलालीको अगुवाईमा तालको अतिक्रमण हटाएर पहिलाकै स्वरुपमा फर्काउने प्रयास सुरु भएको छ ।

‘ताल क्षेत्रको सीमाकंन र नक्सांकन गरेर वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो माटोकै पर्खाल बनाउने काम भइरहेको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्रकुमार मिश्रले भने ‘यति ठूलो ताललाई पहिलाकै स्वरुपमा फर्काउन सकियो भने यस क्षेत्रको जैविक विविधता र पर्यटन विकासका लागि ठूलो योगदान पुग्ने विश्वास गरेका छौं ।’ सरकारले सरकारी, सार्वजनिक जग्गा अतिक्रमण हटाउन गरेको परिपत्रअनुसार पुरैना तालको अतिक्रमण हटाई संरक्षण गर्न लागिएको प्रजिअ मिश्रले बताए ।

तालको अतिक्रमण हटाउन ६० जना सशस्त्र प्रहरी, ४० नेपाल प्रहरी, सशस्त्र वन रक्षक २२ जना र एक सय बढी डिभिजन वन कार्यालय अन्तर्गतका अन्य कर्मचारी परिचालन गरिएको छ । ‘सुरुमा ताल क्षेत्र अतिक्रमण गरेर खेतीपाती गर्दै आएका स्थानीयले बाधा विरोध पनि गर्न खोजे,’ प्रजिअ मिश्रले भने ‘सम्झाएपछि उनीहरु पनि सहमत भए ।’

डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने उक्त ताल क्षेत्रको पुनःस्थापना गर्न डिभिजन प्रमुख राम विचारी ठाकुरको नेतृत्वमा वन कर्मचारीहरुको समूह परिचालित भएको थियो ।

‘मोहनाको बाढी फेरि पनि नपस्ला भन्न त सकिन्न । दिर्घकालीन सुरक्षाका लागि मोहनाको त्यस क्षेत्रमा तटबन्ध आवश्यक छ,’ ठाकुरले भने ‘पानी निकास हुन सक्ने दक्षिणी ठाउँमा २० फिट चौडा र १० फिट अग्लो डिल बनाएका छौं ।’ अहिले गहिरो तालभन्दा पनि सिमसार बनाउन खोजेको उनले बताए । सिमसारमा बाढीले पनि क्षति कम गर्ने उनको भनाई छ ।

भजन नगरपालिकाकाका प्रमुख केवल चौधरी हाल उक्त ताल वन क्षेत्रभित्र पर्ने भएकाले केही कानुनी जटिलता भएपनि सबैको साझा प्रयासबाट उक्त तालको संरक्षण तथा लाभ लिन सकिने वातावरण वनाउन प्रयास गरिने बताउँछन् ।

स्थानीय बासिन्दा र पर्यापर्यटनका जानकारहरुका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्व छ । पुरैना भनेको थारु भाषामा कमलको फूल हो । स्थानीय थारु समूदायमा आफ्नो पूजाआजामा त्यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो ।

विगतमा पुरैना तालको पर्यापयटकीय महत्त्व पनि निकै धेरै थियो । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख ठाकुरकाअनुसार यो ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरु बास बस्ने ठाउँ हो । साइबेरिया, रुसबाट आएका चरा बच्चा कोरलेर फर्किने गर्थे । ताल विनास भएपछि बासस्थान खल्बलियो । पुरैना ताल विनास भएका कारण घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरुको संख्या घटिरहेको छ । ‘अब प्राकृतिक रुपमा पुनःस्थापना (पारस्थितिकीय प्रणालीको पुनःस्थापना) गर्नु जरुरी छ,’ ठाकुरले भने । उनका अनुसार यो ताल क्षेत्र सीमापारी भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्ने ‘कोरिडोर’ का रुपमा रहेको छ । यस्तै यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्वपूर्ण रहेको उनले बताए ।

'पुरैना क्षेत्रको पर्यापर्यटन पुनर्जिवित गर्न सकिएको अवस्था स्थानीयको जिविकामा योगदान, स्थानीय संस्कृतिको प्रवर्द्धन हुने, ताल क्षेत्रमा माछा घोंगी जलचर पुनःस्थापना हुनेछन्,’ प्रजिअ मिश्रले भने ‘ताल क्षेत्र आसपास होमस्टे सञ्चालन गर्न सकियोस् । पर्यटन विकासका माध्यमबाट आयआर्जन बढोस् भन्ने योजनाका साथ काम गर्न सरोकारवालाहरुसँग छलफल गरिरहेका छौं ।’

कैलालीको सबैभन्दा ठूलोमध्येको एक भजनी नगरपालिकास्थित पुरैना तालको अतिक्रमण हटाएर पुनःस्थापना गरिँदै । तस्बिर : अर्जुन शाह/ कान्तिपुर


प्रकाशित : वैशाख १८, २०८१ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?