२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मोटरसाइकल पुरस्कारका लागि मिलन र रुपेश भिड्दै

काठमाडौँ — काभ्रेका मिलन लामा र ललितपुर–११ का रुपेश जैसवालले नवौं वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताको फाइनल खेल्ने भएका छन् ।

मोटरसाइकल पुरस्कारका लागि मिलन र रुपेश भिड्दै

सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा कडा दबाबका बीच उनीहरू उपाधिसामु पुगेका हुन् । मिलनले सेमिफाइनलको पहिलो ९० मिनेट क्लासिकल खेल प्रतिद्वन्द्वी क्षितिज भण्डारीसँग सेतो गोटीबाट सुरु गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा सानो गल्तीका कारण उनले गुमाए । दोस्रो खेल कालो गोटीबाट सुरु गरेका मिलनले जित्नैपर्ने दबाबबीच चलाखीपूर्ण चालमा जित रचेर बराबरी गरे । त्यसपछि ब्लिज खेलमा मिलनले पहिला हार आत्मसाथ गरे पनि दोस्रो खेल जितेर पुनः बराबरी स्कोर बनाएका थिए । अन्तिम खेल तथा निर्णायक खेलमा क्षितिजको हरेक चाललाई सटिक प्रतिचाल चाल्दै मिलनले बराबरीमा रोकेर फाइनल तय गरे ।

यामाहा मोटरसाइकल पुरस्कार जित्ने दाउमा रहेका रुपेशले युवा खेलाडी पुरुषोत्तम सिलवालसँग ब्लिज खेलको दुवैमा बराबरी खेले । नेपाल च्याम्पियन उनले अर्मागेडन सेतो गोटीबाट जित्नैपर्ने खेलमा बराबरी गरे पुग्ने पुरुषोत्तमलाई पराजित गरेका हुन् । यससँगै उनले मिलनविरुद्ध खेल्ने पक्का गरेका हुन् ।

उता सुपर लिगतर्फ आयोजक क्लबका सजिन महर्जन र भक्तपुरका निकेन कुसाथा ६.५ अंकसहित संयुक्त पहिलो स्थानमा उभिएका छन् । सजिनले आशिष फुँयाल र निकेनले सुदीप तामाङविरुद्ध जित पाएका थिए ।

काठमाडौंका नवीन तण्डुकार, ललितपुरका कमल श्रेष्ठ र अनरेटेड शैलेन्द्र न्यौपानेको ६–६ अंक छ । हेटौंडाका कृष्ण थापादेखि झापाका राजन सुवेदीसहित १४ जना साढे ५ अंक लिएर विधागत पुरस्कारका लागि दाबेदार बनेका छन् ।

राष्ट्रिय रेटिङ्ग क्लासिकल प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार बुधबार बिहान फाइनल खेल हुनेछ ।

प्रकाशित : वैशाख १८, २०८१ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?