१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३६०

प्राङ्‌गारिक मल उत्पादन गर्दै सहकारी

माधव अर्याल

पाल्पा — रिब्दीकोट गाउँपालिकाको सहयोगमा एक सहकारीले प्राङ्गारिक मल उत्पादनको तयारी गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको प्रतिवेदनपछि प्राङ्गारिक मल उत्पादन गर्न लागेको हो ।

प्राङ्‌गारिक मल उत्पादन गर्दै सहकारी

रिव्दीकोट गाउँपालिका–५, नयाँटोलमा मल कारखाना संरचनाको काम अघि बढेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

रिब्दीकोटस्थित जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था कुसुमखोलाको व्यवस्थापन तथा गाउँपालिकाको आर्थिक सहयोगमा मल कारखानाको पूर्वाधार निर्माणको काम सुरु भएको हो । मल कारखाना स्थापनाका लागि पहिलो चरणमा ४५ लाख खर्च हुनेछ । सहकारीले तीन रोपनी जग्गा लिजमा लिएको छ ।

एक रोपनीमा कारखाना र बाँकी जग्गामा पशुपालन र कृषि गरिनेछ । गाउँपालिकाले यसवर्ष सहकारीलाई १५ लाख अनुदान दिएको छ । बाँकी रकम सहकारीले व्यवस्थापन गर्नेछ । अपुग रकम अर्को वर्ष केही अनुदान दिइने अध्यक्ष कार्कीले बताए । माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेले पाल्पाको रिब्दीकोट, रामपुर लगायतका स्थानमा गरेको परीक्षणले पनि माटोमा अम्लीय र केही स्थानमा क्षारीयपन देखिएको थियो ।

पछिल्लो समयमा कृषिबालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रदै गएको प्राङ्गारिक मल उत्पादनका विज्ञ यमबहादुर दर्लामीले बताए । माटोको उर्वराशक्ति नै घट्दा उत्पादनमा समेत असर पुगेको उनले बताए । रासायनिक मलको अधिक प्रयोगले पहाडी जिल्लाका कतिपय ठाउँमा झार समेत उम्रन छाडेको अगुवा किसानको गुनासो छ ।

रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी, कुसुमखोला, ठिमुरे, खस्यौली लगायतमा व्यवसायिक तरकारी र फलफूल खेती हुन्छ । तर केही वर्षयता रिब्दीकोटको माटोको गुणस्तर निकै बिग्रेको कृषि शाखा प्रमुख रञ्जिव कुंवरले बताए ।

‘गतवर्ष माटो परीक्षण गर्दा रासायनिक मलको मात्रा नमिलाई राख्दाको परिणाम गुणस्तर बिग्रदै गएको देखिएको थियो,’ उनले भने, ‘त्यसैले अब प्राङगारिक मलको प्रयोग बढाउनुपर्ने हुन्छ भन्ने लाग्यो ।’ उत्पादन घट्दै गएपछि गाउँका कतिपय खेतबारीमा खेती लगाउनै छाडेका छन् ।

उब्जाउ कम हुने भएपछि उत्पादन घटेको छ । कतिपय स्थानमा खेती नै नहुने समस्या बढेको छ । कारण खोज्दै माटो परीक्षण गर्दा उर्वराशक्ति ह्रास भेटिएको छ । कृषि विज्ञका अनुसार पहाडी क्षेत्रमा खेतीयोग्य माटोको पिएच मान ८ हुनुपर्नेमा अधिकांश स्थानमा ४.५ मात्रै देखिएको छ ।

माटोको उर्वराशक्ति घटेको किसानको गुनासाका आधारमा गाउँपालिकाले प्राय सबै वडाको माटो परीक्षण गरेको थियो । माटोको परीक्षण र उपचार थाहा नपाएर निराश थिए ।

यहाँका कतिपय पालिकाहरुमा माटो परीक्षण शिविर नै चलाएपछि बल्ल किसानले कस्तो माटोमा कुन बाली लगाउने भन्ने थाहा पाएका छन् । माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने, गाड्यौला मल तथा घरमै तयार हुनसक्ने प्राङगरिक मल उत्पादन गर्न विज्ञको सुझाव छ ।

‘यसैलाई मध्यनजर गरेर प्राङगरिक मलको कारखाना संचालन गर्ने निर्णय गरियो,’ गाउँपालिका अध्यक्ष कार्कीले भने, ‘पालिकाभरी सबै किसिमको कृषि उत्पादन बढाउन, बाँझा भएका जमिनहरूलाई हराभरा बनाउन मल कारखाना सहयोगी बन्नेछ भन्ने लाग्छ ।’ विज्ञका अनुसार रासायनिक मलको अधिक प्रयोगले मानिसको स्वास्थ्य अवस्थासमेत बिग्रँदै गएको छ ।

माटोको पिएच ६ दशमलव ५ भन्दा कम भए अम्लीय, ७ दशमलव ५ सम्म भए मध्यम र सोभन्दा माथि भए क्षारीय हुन्छ । किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून रहेको भेटिएको कृषि शाखाले जनाएको छ । अधिकांश स्थानमा माटोको गुणस्तर बिग्रदै गएको देखिएको कृषि विज्ञ दर्लामीले बताए ।

‘म बनाउँछु मेरो रिव्दीकोट’ अभियान अन्तर्गत पालिकाभित्र मल कारखाना निर्माण गर्न लागेको अध्यक्ष कार्कीेले बताए । सहकारीसंगको साझेदारी साथै निजी क्षेत्रलाई समेत यसमा सहभागी बनाउने योजना रहेको उनले बताए । असार मसान्तभित्र काराखाना सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम अघि बढेको छ । अर्को आर्थिक वर्षदेखि नै मल बिक्री गर्ने अभियानका साथ काम अघि बढेको उपाध्यक्ष कान्ता अधिकारीले बताइन् ।

‘पछिल्ला वर्षमा रासायनिक मल मात्रा मिलाएर बजारमा नपाइने भएकाले खेतीबाली उब्जनीमै समस्या भएको छ,’ उनले भनिन्, ‘अर्कोतर्फ भनेको समयमा रासायनिक र जैविक दुबै मल किसानले भनेको समयमा नपाउने समस्या छ ।’ व्यावसायिक कृषि गर्नेहरुका लागि मलको अभाव छ ।

रिव्दीकोटको पहिचान कृषि भएपनि उत्पादन घट्दै जानु माटो बिग्रेर हो भन्ने निष्कर्षका साथ मल कारखाना स्थापना गर्ने योजना अघि बढेको प्रमुख प्रशासकीय अधिकृत मणी प्रसाद खनालले बताए । अकबरे खुर्सानी, सुन्तला, अदुवा, बेसार, तरकारी उत्पादन हुने उनले बताए । यहाँ अकबरे खुर्सानी ५ करोड, सुन्तला ७ करोड, तरकारी २ करोड बढीको वार्षिक उत्पादन हुन्छ । प्राङ्गारिक मल कारखानाबाट यस क्षेत्रमा उत्पादन वृद्धि हुने र स्थानीयले रोजगारी पाउने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए ।

सहकारीका अध्यक्ष नारायण बहादुर लामटाङ्गे मगरका अनुसार अहिले ३ रोपनी क्षेत्रफल जग्गा लिजमा लिएर कारखाना सञ्चालनमा हुनेछ । यसलाई दिगो रुपमा सञ्चालनका लागि ५१ प्रतिशत सहकारी र ४९ प्रतिशत जनताको लगानी गर्ने योजना रहेको उनले बताए । मल कारखानामा गाईभैसीको गोबर, स्थानीय झारपात, खसेका पात पतिङगर, हरिया घाँस तथा स्याउला लगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरिने सहकारीका सचिव कृष्ण कुँवरले बताए ।

गाउँपालिकामा झण्डै ७ सय परिवार व्यवसायिक कृषिमा आबद्ध छन् । सामान्य जीवन निर्वाहका रुपमा खेतिपाती गर्दै आएका छन । प्राङगरिक मल कारखानापछि थप एक हजार परिवारलाई व्यवसायिक रुपमा कृषि गर्ने बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समयमा गाउँघरमा बसाइँसराईका कारण पछिल्लो समय गोठे मलको अभाव छ । सरकारको २०७८ को प्राङ्गारिक तथा जीवाणु मल निर्देशिकाको मापदण्ड अनुसार कारखानाबाट मल उत्पादन गरिनेछ ।

प्रकाशित : वैशाख ६, २०८१ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?