आर्चर इंग्ल्यान्ड टोलीमा
लन्डन — इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकप उपाधि रक्षा अभियानका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई आफ्नो टोलीमा समावेश गरेको छ । सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका उनले विभिन्न चोटका कारण नियमित खेल्न सकिरहेका छैनन् ।
दाहिने कुहिनामा लागेको चोटका कारण उनले पछिल्लो एक वर्षमा कुनै प्रतिस्पर्धात्मक खेल खेलेका छैनन् ।
जोस बटलरको कप्तानीमा रहने इंग्ल्यान्डको १५ सदस्यीय टोलीमा आर्चरलाई पनि राखिएको छ । ५ वर्षअघि ‘डेब्यु’ गरेयता उनले इंग्ल्यान्डबाट केवल १५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तर आर्चरलाई अझै पनि ‘गेम चेन्जर’ को रूपमा हेरिएको छ ।
बार्बाडोसमै हुर्किएका कारण क्यारेबियन कन्डिसनको जानकार हुने हुनाले पनि आर्चरलाई टिममा राखिएको हुनसक्ने जनाइएको छ । टेस्ट कप्तान बेन स्टोक्स पूर्ण फिट नभएका कारण आफैंले इंग्ल्यान्ड टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रकाशित : वैशाख १९, २०८१ ०७:०१