२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उद्योग-निर्माण ऋणात्मक र व्यापार नबढ्दा खुम्चियो आर्थिक वृद्धिदर

विद्युत्, ग्यास, आवास तथा भोजन, यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर राम्रो तर जीडीपीमा २५ प्रतिशत योगदान रहेका उद्योग, निर्माण, व्यापार क्षेत्रको विस्तार नहुँदा चापमा आर्थिक वृद्धि 
यज्ञ बञ्जाडे

काठमाडौँ — उद्योग र निर्माण क्षेत्रमा ऋणात्मक वृद्धि हुनुका साथै थोक तथा खुद्रा व्यापार क्षेत्रको विस्तार सीमान्त हुँदा चालु आर्थिक वर्ष पनि नेपालको आर्थिक वृद्धिदर लक्ष्यभन्दा निकै कम हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनले आर्थिक वर्ष ०८०/८१ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर ३.५४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

उद्योग-निर्माण ऋणात्मक र व्यापार नबढ्दा खुम्चियो आर्थिक वृद्धिदर

यो दातृ निकाय विश्व बैंक, एसियाली विकास बैंकलगायतले प्रक्षेपण गरेभन्दा केही बढी र सरकारको वार्षिक लक्ष्यभन्दा कम हो ।

सन् २०२४ का लागि विश्व बैंकले ३.३ र एडीबीले ३.६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिसकेका छन् । चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । गत आर्थिक वर्ष आधारभूत मूल्यमा २.३१ प्रतिशत आर्थिक वृद्धिदर रहेको संशोधित कार्यालयको अनुमान छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो ।

उपभोक्ता मूल्यमा भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने देखिएको छ । उपभोक्ताको मूल्यमा गत आर्थिक वर्ष ०७९/८० मा आर्थिक वृद्धिदर १.९५ प्रतिशत हुने कार्यालयको संशोधित अनुमान छ । आधारभूत मूल्यमा कर र अनुदान समावेश गरेपछि उपभोक्ता मूल्य आउँछ । यसकारण आधारभूत मूल्यको तुलनामा उपभोक्ता मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर बढी हुने गर्छ । तर गत वर्ष लक्ष्यको तुलनामा राजस्व संकलन झन्डै १८ प्रतिशतले घटेकाले आधारभूत मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा गणना गरिएको भन्दा बढी देखिएको थियो । तर यस वर्षदेखि भने पुरानै अवस्था देखिन्छ ।

निर्माण र उत्पादनमूलक क्षेत्रको वृद्धिदर ऋणात्मक हुँदा सरकारको लक्ष्यभन्दा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने देखिएको राष्ट्रिय तंथ्याक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता हेमराज रेग्मीले बताए । ‘पर्यटक आवागमनमा भएको वृद्धिका कारण आवास तथा भोजन सेवाको वृद्धिदर निकै राम्रो छ । विद्युत् आपूर्ति राम्रो भएको र यातायात तथा भण्डारणमा पनि सुधार देखिएको छ,’ उनले भने, ‘यी क्षेत्रको वृद्धिदर दोहोरो अंकको भए पनि निर्माण र उत्पादनमूलक क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र थोक तथा खुद्रा व्यापार क्षेत्र स्थिर रहँदा लक्ष्यअनुसार आर्थिक वृद्धि हुन सकेन ।’ ऋणात्मक रहेको दुई र स्थिर रहेको एक क्षेत्रबाट मात्र जीडीपीमा करिब २५ प्रतिशत योगदान रहन्छ । ती क्षेत्रमा समस्या हुँदा आर्थिक वृद्धिदर चार प्रतिशतभन्दा कम हुने अनुमान भएको रेग्मीले बताए ।

चालु आर्थिक वर्ष ०८०/८१ मा कृषि क्षेत्रको ३.०५ र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने कार्यालयको प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २.७६ र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने संशोधित अनुमान छ । धानलगायत बर्खे बालीको उत्पादनमा भएको वृद्धि दलहन, तरकारी तथा नगदे बालीमा भएको वृद्धि तथा पशुपन्छीजन्य उत्पादन (दूध, अन्डा, माछा तथा मासु) मा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने प्रारम्भिक अनुमान छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नरहेको तथा आन्तरिक अर्थतन्त्र शिथिल रहेका बेला राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वृद्धिदरको तथ्यांक यथार्थपरक रहेको अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘यद्यपि हाम्रो जस्तो मुलुकमा ५ प्रतिशतभन्दा कमको आर्थिक वृद्धि प्रभावकारी हुँदैन । यो देखाउनका लागि मात्र हो,’ उनले भने, ‘पर्यटन सेवा, होटल तथा आवास, विद्युत् आपूर्तिलगायत क्षेत्रको विस्तार राम्रो हुँदा यत्तिको वृद्धिदर देखिएको छ । तर अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्र– निर्माण, म्यानुफ्याक्चरिङको वृद्धि ऋणात्मक छ भने व्यापारको स्थिर छ ।’


कार्यालयका अनुसार यस वर्ष विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर १७.४४ प्रतिशत हुने देखिएको छ । केही विद्युत् परियोजनाको उत्पादन थप भएसँगै चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि उल्लेख्य रूपमा वृद्धि हुने कार्यालयको अनुमान छ । आर्थिक वर्ष ०७९/८० मा यस क्षेत्रको वृद्धिदर १९.८९ प्रतिशत रहने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा यातायात तथा भण्डारण क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने अनुमान छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि सुधार हुने कार्यालयले अनुमान गरेको हो । गत आर्थिक वर्ष ०७९/८० मा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत रहने संशोधित अनुमान छ ।

आवास तथा भोजन सेवा क्षेत्रको वृद्धिदर २१.८४ प्रतिशत हुने अनुमान पनि कार्यालयको छ । ‘विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो ।’

यस वर्ष भने निर्माण क्षेत्रको वृद्धि वृद्धिदर २.०७ प्रतिशतले ऋणात्मक हुने देखिएको छ । ‘निर्माण सामग्रीको आयातमा आएको कमी, निर्माण सामग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो,’ प्रतिवेदनले भनेको छ, ‘गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर १.१० प्रतिशतले ऋणात्मक रहने संशोधित अनुमान छ ।’

चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने देखिन्छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकाले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने कार्यालयले प्रस्ट्याएको छ । ‘अनुमान पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो,’ प्रतिवेदनमा भनिएको छ । थोक तथा खुद्रा व्यापार खासगरी गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धि स्थिर (०.१६ प्रतिशत) देखिएको छ । ‘चालु आर्थिक वर्षमा व्यापारजन्य वस्तुको आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले यस क्षेत्रको मूल्य अभिवृद्धि नगण्य रूपमा मात्र वृद्धि हुने अनुमान गरिएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५७ खर्ब ४ अर्ब पुग्ने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष ०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ९४ हजार ८ सय २९ रुपैयाँ बराबर हो । गत वर्ष यस्तो आय प्रतिव्यक्ति १ हजार ३ सय ९९ अमेरिकी डलर थियो ।

गत आर्थिक वर्ष ०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ४ सय ५ अमेरिकी डलर रहने संशोधित अनुमान छ । यस वर्ष कुल जीडीपीको अन्तिम उपभोग खर्च ९२.३८ प्रतिशत हुने कार्यालयको अनुमान छ । गत आर्थिक वर्ष ९२.५९ प्रतिशत खर्च भएको संशोधित अनुमान छ । यसैगरी चालु आर्थिक वर्षमा जीडीपीको ३६.१५ प्रतिशत कुल राष्ट्रिय बचत हुने देखिएको छ । गत आर्थिक वर्ष जीडीपीको ३३.७९ प्रतिशत कुल राष्ट्रिय बचत हुने संशोधित अनुमान छ ।

यस्तो छ अनुमान

  • आर्थिक वृद्धि ३.५४ प्रतिशत
  • प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर
  • जीडीपी ५७ खर्ब ५ अर्ब
  • उपभोग खर्च जीडीपीको ९२.३८ प्रतिशत
  • निर्यात जीडीपीको ७.९४ प्रतिशत
  • आयात जीडीपीको ३३.७० प्रतिशत
  • रेमिट्यान्स जीडीपीको २२.९६ प्रतिशत

प्रकाशित : वैशाख १९, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?