कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गीतसंगीतमा 'गुन्द्री सेसन’

लुम्बिनी — रूपन्देहीको बुटवल–१० का प्रसन्न श्रेष्ठ साताअघिको एक साँझ सांगीतिक माहोलमा रमाए । गीतसंगीतप्रति रुचि भएका उनले पहिलो पटक त्यस्तो कार्यक्रममा भाग लिएकाले आनन्द महसुस गरेको बताए । ‘खुला आकाशमुनि पलेंटी कसेर बस्दा र गीत सुन्दा फरक अनुभूति भयो । आनन्दको त कुरै नगरौं,’ उनले भने, ‘यस्तो कार्यक्रमले संगीतप्रेमीलाई बेग्लै वातावरणमा रमाउने अवसर प्रदान गर्‍यो ।’

गीतसंगीतमा 'गुन्द्री सेसन’

बुटवल रक्सले सुरु गरेको ‘गुन्द्री सेसन’ ले यस्तो माहोल जुराएको हो । गुन्द्रीमा पलेंटी कसेर बसेर गीतको आनन्द लिनुको मजा प्राकृतिक हुने गरेको छ । ‘क्लबमा, क्याफेमा हुक्काको धूवाँमा गुम्सिएको भान हुन्थ्यो,’ उनले भने, ‘वरिपरि रूखबिरुवा, बत्तीको झिलिमिली र नेपालीको पुरानो बस्ने स्थान खुला आँगनमा गुन्द्रीमा बसेर आँखाअगाडि कलाकारले गाएको हेर्न र सुन्न पाउनु राम्रो सुरुवात पनि हो ।’

सेसनमा गीत गाउन आइपुगेका गायक अंकित शाक्यले यस्ता कार्यक्रममा प्रस्तुति दिँदा दर्शक र श्रोतालाई नजिकबाट नियाल्न पाएको बताए । १३ वर्षअगाडि आफूले गाएको भ्यालेन्टाइन बोलको गीत यतिका वर्षपछि पुनः गुनगुनाउँदासमेत दर्शकले गाएर साथ दिएको उनले सुनाए । ‘मेरो गीत र म अझै याद रहेछु भन्ने विषयले छाती फुल्यो,’ उनले भने, ‘म भारतमा पढेर आएँ, अहिले नयाँ गीत रेकर्ड गर्ने तयारीमा थिएँ, लाइभ रेकर्डसहित सुनाउन पाउँदा खुसी लाग्यो ।’ यो अन्तरालमा आफूले ‘इन्डोर’ कार्यक्रममा गाइरहे पनि यो माहोलमा गाउन पहिलो पटक पाएको बताए ।

बुटवल रक्सले सुरु गरेको यो कार्यक्रमले बुटवलमा संगीतको नयाँ वातावरण सिर्जना गरेको एड्भेन्चर नेपालका निर्देशक तथा इभेन्ट होस्ट सुमन श्रेष्ठले बताए । यसले घरघरमा रहेका कलाकारलाई एउटा मञ्च प्रदान गरेको उनले बताए । ‘गाउन–बजाउन छोडेका कलाकारले पुनः आवाज सुनाउने, बाजा बजाउने गरेर रमाइलो बनाए,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई पनि संगीत सिर्जना गर्न र प्रस्फुटन गर्न बेग्लै मौका दिन्छ ।’

यसअघि भोकल, ड्रमलगायतका वर्कसप चलाएको संस्थाले अहिले गुन्द्री सेसन सुरु गरेर नयाँपन दिएको बुटवल रक्सका अध्यक्ष वसन्त श्रेष्ठले बताए । सन् २०१८ मा खुलेको संस्थामा तीन सयभन्दा बढी स्थानीय संगीतकर्मी आबद्ध छन् । कार्यक्रममा गायकले आफूले अहिलेसम्म नगाएका गीत प्रस्तुत गर्ने, श्रोताले सुनिरहेका र सुन्न चाहिरहने गीत गुनगुनाउने गरेको श्रेष्ठले बताए । ‘हामीले नयाँ गीतको लाइभ रेकर्डिङ गरिरहेका हुन्छौं,’ उनले भने, ‘उक्त गीतलाई स्टुडियोमा पुनः मिक्सिङ गरेर अडियो र भिडियो नै युट्युबमा सार्वजनिक गर्ने गर्छौं ।’

यसले कलाकारलाई निःशुल्क आफ्ना गीत रेकर्ड गराउने र श्रोता, दर्शकमाझ चिनिने मौकासमेत प्रदान गरेको उनले बताए । उनका अनुसार यस सेसनमा जिल्लाका पुराना कलाकार, संगीतकर्मी, ब्यान्डले प्रस्तुति दिएका छन् भने अन्यत्रका कलाकारले समेत चासो देखाइ आउने र मौका पाएसम्म प्रस्तुति सुनाउने गरेका छन् । कार्यक्रमको ११ वटा क्यामराले भिडियो खिचेर प्रत्यक्ष प्रसारण गर्ने गरिएको सांगीतिक माहोलमा बुटवल र आसपासका सर्वसाधारण झुमिरहेको उनले बताए ।

बुटवल संगीतको हब भएकाले यहाँ हुने विभिन्न सांगीतिक कार्यक्रममा हरेक राष्ट्रिय कलाकार आउन चाहने वातावरण पहिलेदेखि नै रहेकाले यो साख जोगाइराख्न स्थानीय कलाकारकै जागरुकता र एकताका लागि गुन्द्री सेसन मजेदार बनिरहेको श्रेष्ठले बताए । सेसनको पहिलो र दोस्रो दिनमा ४ सय मानिसको उपस्थिति रहेको उनले बताए । यहाँका क्याफे तथा रेस्टुराँमा खुला ठाउँ खोजेर पूर्ण व्यवस्थापन गरी कार्यक्रम गर्ने गरेको उनले बताए । गुन्द्री सेसन अब हरेक महिना गर्ने उनको भनाइ छ ।

प्रकाशित : चैत्र १४, २०८० ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?