कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४११

खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु

काठमाडौँ — खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।

खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु

सोमबार रातिदेखि मंगलबार अबेरसम्म यूएईमा ठूलो पानी परेको हो । खालीज टाइम्सका अनुसार यूएईमा ७५ वर्षयताकै ठूलो पानी परेको हो । यूएई मौसम विभागका अनुसार २४ घण्टाभन्दा कम समयमा अल ऐनमा २५४ मिलिमिटरसम्म पानी परेको थियो ।

यूएईमा सन् १९४९ देखि मौसमसम्बन्धी तथ्यांक संकलन गर्न लागिएको हो । समाचार संस्था एपीका अनुसार यूएईमा बाढीका कारण एक जनाको मृत्यु भएको छ । रस अल खैमाहमा बाढीले गाडी बगाउँदा ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

तस्बिर : एएफपी/रासस

यूएईसहित बहराइन कतार र साउदी अरबमा पनि पानी परेको छ । यसअघि मौसमविद्हरूले बहराइनमा बाढी आउन सक्ने चेतावनी दिएका थिए । यूएईमा ठूलो पानी परेसँगै छिमेकी मुलुक ओमानमा बाढी आएको थियो ।

ओमानमा बाढीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ओमानमा बाढीले विद्यालयको गाडी बगाउँदा ९ जना विद्यार्थी र चालकको मृत्यु भएको छ । उद्धारकर्ताहरूले हराइरहेका २ जनाको खोजी गरिरहेको जनाएका छन् । ओमान र यूएईमा वर्षाका कारण विद्यालयहरू बन्द गरिएका छन् ।

गत वर्ष मात्र ओमान र यूएईले जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) आयोजना गरेका थिए । सम्मेलनमा जलवायु परिवर्तनका कारण विश्वका केही भूभागमा भीषण वर्षा र बाढी आउन सक्ने जोखिमबारे चर्चा भएको थियो ।

प्रकाशित : वैशाख ५, २०८१ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?