कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अयोध्या राममन्दिरका मुख्य आचार्य नेपाली

जनवरी २२ मा हुने मन्दिरको उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठाको तयारीमा झापाका दुर्गाप्रसाद गौतम अधिक सक्रिय
राजेश मिश्र

अयोध्या, उत्तर प्रदेश — राममन्दिर उद्घाटनको दिन नजिकिएसँगै भारतभरि चर्चा चुलिएको छ । स्थानीय सञ्चार माध्यमहरूमा पनि राममन्दिरसँग जोडिएका समाचारले प्राथमिकता पाएका छन् । जनकपुरको जानकी मन्दिरबाट कोसेली अयोध्या ल्याइएको छ । जनवरी २२ मा हुने मन्दिर उद्घाटनको पूर्वतयारीले सरकारी संयन्त्र, मन्दिर व्यवस्थापन पक्ष, निर्माण समितिलगायत सबैको व्यस्तता बढाएको छ । 

अयोध्या राममन्दिरका मुख्य आचार्य नेपाली

त्यसमा एक नेपाली पात्र पनि मन्दिर उद्घाटनको तयारीमा निकै व्यस्त छन् । उनी हुन्, झापा मेचीनगरका दुर्गाप्रसाद गौतम । राममन्दिरका मुख्य आचार्य हुन् उनी । मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा हुने र त्यससँग जोडिएका सम्पूर्ण विधि–विधानको तयारीमा उनको व्यस्तता बढेको हो । ३५ वर्षीय गौतम २०२० अप्रिल १८ देखि मन्दिरको मुख्य आचार्यका रूपमा कार्यरत छन् । मन्दिरको मूल पुजारी भने सत्येन्द्र दास हुन् । उनले दैनिक पूजाआजा र आरती गर्ने गर्छन् ।

तर, मन्दिरमा हुने कुनै पनि ठूला अनुष्ठान, पूजापाठ, महत्त्वपूर्ण व्यक्तिहरूको आगमनमा हुने पूजाआजाको नेतृत्व भने गौतमले गर्दै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० अगस्ट ५ मा मन्दिर निर्माणका लागि भूमिपूजन र शिलान्यास गरेका थिए । त्यसको विधिविधान र पूजापाठमा गौतमको सक्रिय सहभागिता थियो । भूमि पूजापछि पनि मन्दिर निर्माणका क्रममा धेरै पूजापाठहरू हुँदै आएका छन् । मन्दिरमा ढोका राख्दा होस् वा नवशिलाको प्रयोगपूर्वको प्रायः सबैजसो पूजा गौतमले गराउँदै आएका छन् ।

‘२०२० को १८ अप्रिलदेखि मन्दिरमा भइरहेका हरेक यज्ञ, हवन र अनुष्ठानहरूको म साक्षी छु,’ गौतमले भने, ‘मेरा लागि धेरै गर्वको विषय हो, नेपालबाट आएर यहाँ प्रभु रामको सेवा गर्ने मौका पाएको छु ।’ मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा र त्यससँग जोडिएका पूजा, हवन र यज्ञको तयारीमा आफू प्रत्यक्ष रूपले जोडिन पाउँदा खुसी मिलेको उनले बताए ।

मेचीनगर–१ का खड्गप्रसाद गौतमका जेठा छोरा दुर्गाप्रसाद सन् २००६ देखि अयोध्यामा छन् । उनले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन् । उनले हाल त्यहीं विद्यावारिधि पनि गरिरहेका छन् । अयोध्यास्थित श्रीराम वेद विद्यालयमा विज्ञापन निस्केपछि उनी त्यसमा प्रतिस्पर्धा गरेर अयोध्याको यात्रा थालेका थिए । वेद विद्यालयमा आचार्य रहेका उनलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले मन्दिरको जिम्मेवारीमा पनि जोडेको हो ।

राम जन्मभूमि र बाबरी मस्जिद रहेको विवादित भूमिबारे भारतको सर्वोच्च अदालतले २०२० नोभेम्बर ९ मा राम जन्मभूमिको पक्षमा फैसला गरेको थियो । त्यही फैसलाले राम जन्मभूमिमा काम गर्न ट्रस्ट गठनको आदेश पनि दिएको थियो । आदेशपछि गठित ट्रस्टले राममन्दिर निर्माण कार्य र सम्पूर्ण संरक्षणको जिम्मेवारी पाएको छ । ट्रस्टले मन्दिरमा संस्कृत र वेदका ज्ञातालाई राख्नुपर्ने आवश्यकता महसुस गरेर त्यही विद्यालयमा अध्यापनसमेत गराइरहेका झापाका गौतमलाई मन्दिरको मुख्य आचार्यको जिम्मेवारीमा ल्याएको हो ।

‘ट्रस्टले मलाई विश्वास गरेर जिम्मेवारी दिएदेखि हरेक दिन म मन्दिर पुगेको छु । आफ्नो ज्ञानले भ्याएसम्म आवश्यक सबै अनुष्ठान गराउँदै आएको छु,’ गौतमले भने, ‘अहिले पनि विश्वभरका सम्पूर्ण हिन्दुले प्रतीक्षा गरिरहेको राममन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाको तयारीमा लागेको छु ।’

प्रधानमन्त्री मोदी, मुख्यमन्त्री योगी आदित्यनाथ, मन्त्रीहरूदेखि विपक्षी दलका नेता अखिलेश यादव अयोध्या आएका बेला उनलाई पूजापाठ गराउन गौतम सक्रिय देखिन्छन् । अहिले राममन्दिरमा भइरहेको रामचरित्र मानस र चारवटै वेदको मन्त्रोचारण तथा होमादी पनि उनकै नेतृत्वमा भइरहेको छ । मूर्ति निर्माणका लागि गत वर्ष कालीगण्डकीबाट ल्याइएको शिलाको पूजा पनि उनैले गरेका थिए । मूर्ति निर्माणमा नेपालबाट ल्याइएको शिलाको प्रयोग भएन नि ? त्यसको जवाफमा उनी भन्छन्, ‘प्रभुको कृपा । उनी जे चाहन्छन्, त्यही हुन्छ ।’

जनवरी २२ मा हुन लागेको मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाको तिथि र समयको तय भने काशीका ख्यातिप्राप्त विद्वान् गणेश्वर शास्त्रीले गरेका हुन् । प्राण प्रतिष्ठाको पूजाको नेतृत्व काशीकै लक्ष्मीकान्त दीक्षितको नेतृत्वमा हुँदै छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले दुर्गाप्रसाद गौतमलाई औपचारिक रूपमा पत्र लेखेरै प्राण प्रतिष्ठाको विधि विधान र पूजामा संलग्नताका लागि आग्रह गरेको बताए । काशीका दुवै जना विद्वान् शास्त्री र दीक्षितको चाहनाअनुसार आफूले पत्राचार गरेको ट्रस्टका महासचिवको दाबी छ ।

प्रकाशित : पुस २५, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×