१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

रुसलाई हतियार दिएको भन्दै उत्तर कोरियाको आलोचना

रासस/एएफपी

सोल — अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले रुसमा हतियार पठाएको भन्दै उत्तर कोरियाको आलोचना गरेका छन् । आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँग बिहीबार बैठकपछि उनले युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न उत्तर कोरियाले हतियार पठाएको आरोप लगाएका हुन् । 

रुसलाई हतियार दिएको भन्दै उत्तर कोरियाको आलोचना

अमेरिका, दक्षिण कोरिया र जापानले हालैका सातामा युक्रेनमा रुसको सैन्य अभियानलाई अगाडि बढाउन सहयोग गरेकामा प्योङयाङको आलोचना गर्दै आएका छन् । उत्तर कोरियाले रुसमा १० लाख तोप पठाएको सोलले बताएको छ । जापानमा जी–७ का विदेशमन्त्रीहरूको बैठकपछि ब्लिंकन अहिले सोलमा छन् । उनले बिहीबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका छन् । ‘युक्रेनविरुद्धको युद्धमा प्रयोगका लागि उत्तर कोरियाले रुसलाई सैन्य उपकरण र युद्ध सामग्री उपलब्ध गराएकामा कडा निन्दा गरिएको छ,’ राष्ट्रपति युनसँग विदेशमन्त्री ब्लिंकनको भेटपछि अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘गाजामा सर्वसाधारणलाई मानवीय सहयोग प्रदान गर्ने दक्षिण कोरियाको प्रतिबद्धताका लागि ब्लिंकनले राष्ट्रपति युनलाई धन्यवाद दिएका छन् ।’

इजराइल–हमास युद्धमाथि छलफल गर्न मध्यपूर्वको भ्रमणपछि ब्लिंकनले दक्षिण कोरियाको भ्रमण गरेका हुन् । यसअघि बिहीबार ब्लिंकनले दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चो ताए–योङसँग भेटवार्ता गरेका थिए । अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनलाई सहयोग उपलब्ध गराउने दक्षिण कोरियाको प्रतिबद्धताप्रति उनले धन्यवाद व्यक्त गरे ।

हाल रुस र उत्तर कोरिया दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धमा छन् । विशेषगरी सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्तापछि दुई मुलुकबीचको बढ्दो सैन्य सहयोग युक्रेन र उसका सहयोगीका लागि चिन्ताका विषय बनेको छ । अन्तरिक्षमा सैन्य जासुसी उपग्रह स्थापना गर्न सकियोस् भन्ने उद्देश्यले रुसी अन्तरिक्ष प्रविधिको बदलामा प्योङयाङले रुसलाई हतियार उपलब्ध गराइरहेको दक्षिण कोरियाले बताएको छ ।

‘प्योङयाङबाट रुसले जुन हतियार र युद्ध सामग्री प्राप्त गरिरहेको छ, त्यसको बदलामा उसले प्योङयाङलाई के प्रदान गरिरहेको छ भन्ने कुराले हामी अत्यन्त चिन्तित छौं,’ टोक्योमा ब्लिंकनले भनेका थिए । तर, रुसले गत महिना उत्तर कोरियाले हतियार पठाइरहेको भन्ने ‘कुनै प्रमाण’ नभएको बताएको थियो ।

प्रकाशित : कार्तिक २४, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?